रामपुर (पाल्पा), चैत ३०

रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था रामपुर पाल्पाको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । रामपुर नगरपालिका वडा नं. ४, ५, ६ र ७ मा खानेपानी उपलब्ध गराउँदै आएको संस्थाले बुधबार साधारण सभा गरेको हो । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सञ्चालक समिति अध्यक्ष राजुप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको हो ।

साधारण सभाको उट्घाटन गर्दै प्रमुख अतिथी आचार्यले रामपुर नगरभित्र रामपुर खानेपानी जस्ता समाजिक संस्थाले एकताको मध्यम बाट प्राप्त उपलब्धीले सकारात्मक सन्देश दिएको बताउनुभयो । उहाँले समुदायस्तरबाट भएका प्रयासले सफलता हात पारेको भन्दै गण्डकी बेशी क्षेत्रको ध्यान खिच्ने गरी विकासका योजना अघि बढाउने तर्फ जोड दिनुपर्ने बताउनुभयो । समन्वय र सहकार्य बाट मात्र संघियताले सार्थक रुप प्राप्त गर्ने भएकाले अन्तरपालिका संगको समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो । आचार्यले संघिय सरकार मार्फत लिफ्ट सिंचाई, रामपुर फाँट सिचाईको योजना र खानेपानीको योजनालाई बृहत बनाउने प्रक्रिया अघि बढेको बताउनुभयो ।

लुम्बिनी प्रदेशका पूर्व सांसद युवराज खनालले रामपुरको विकासको लागि खानेपानी योजनाको ठूलो भुमिका रहेको भन्दै अब सरसफाईको लागि टोलविकास संस्थालाई सक्रिय बनाउनु आवश्यक रहेको बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले खानेपानी सहज र सुलभ बनाउन नगरपालिकाले पहल गर्ने बताउनुभयो । राजनैतिक दलहरुको तर्फबाट कांग्रेस रामपुरका सभापति नेत्रप्रसाद भट्टराईले धारणा राख्दै खानेपानीको दिर्घकालिन व्यवस्था गर्न नगरका दलको साथ र सहयोग रहने बताउनुभयो । संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अर्घखाँचीका इन्जिनियर योगेन्द्र यादवले शुद्ध खानेपानीका लागि प्रविधिक सहयोगका लागि तप्पर रहेको बताउनुभयो । रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले खानेपानीको आपूर्ति बढाउनु, खोलानाला तथा अन्य विकल्प सोच्ने समय आएको बताउनुभयो । उहाँले डिप बोरिङ्गले पार्न सक्ने प्रभावलाई ख्याल गर्नु पर्ने सुझाव दिनुभयो । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका संस्थापक अध्यक्ष कमलराज भट्टराईले कामहरु अझै बाँकी रहेको र अब क्षमता वृद्धिमा ध्यान दिनु पर्ने बताउनुभयो । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका पूर्व उपाध्यक्ष हुमनाथ न्यौपानेले पनि स्रोतको दिगोपनका लागि ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उपभोक्ता विष्णु प्रसाद बस्याल र कमला रेग्मीले आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सञ्चालक समिति अध्यक्ष राजु प्रसाद श्रेष्ठले रामपुर खानेपानी नगरकै गौरवको आयोजना भएकोले खानेपानी योजनाको क्षमता वृद्धि गर्न थप योजनाको लागि २५ करोडको डिपिआर तयार गरि प्रक्रिया अघि बढाएको बताउनुभयो । उहाँले खानेपानीको अधिकांश पाईप सडकमा पर्दा चुनौती देखिएको जानकारी दिनुभयो । ३ हजार २ सय घरधुरीको लागि सञ्चालन भएको संस्थामा अहिले ३ हजार ८ सय ४६ उपभोक्ता सदस्य रहेको छ । अब ७ हजार धारा विस्तार गर्ने लक्ष्य सहित थप योजना माग गरिएको जानकारी दिनुभयो । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कोषाध्यक्ष विष्णुमाया ढकालले आर्थिक वर्ष २०७८÷०७९ को ५ करोड ९७ लाख ४ हजार ८१ रुपैयाँ ३१ पैसा बराबरको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष हजिल दिन मियाँको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई सदस्य कमल सेनले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव शालिकराम सिग्देलले गर्नु भएको हो । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले हाल पाँच स्थानबाट भूमिगत पानी तानेर आपूर्ति गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय