latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शनिबार , साउन २, २०८३

३ हजार ६ सयभन्दा बढी धारा जडान, करिब १४ हजार नागरिक लाभान्वित

पाल्पा, २७ जेठ — भौगोलिक रूपमा विकट, उकालो र सुख्खा भूभागका कारण वर्षौंदेखि खानेपानीको चरम अभाव झेल्दै आएका पाल्पाको माथागढी गाउँपालिकाका डाँडाबस्तीमा अहिले घर–घरमै खानेपानी पुगेपछि स्थानीयवासीको दैनिकी सहज बनेको छ। एक गाग्रो पानीका लागि घण्टौँ कुवा, पँधेरा र मुहान धाउनुपर्ने बाध्यता अन्त्य हुँदै गएपछि स्थानीयमा खुसी छाएको छ।

आठवटै वडाका उच्च भूभागमा प्राकृतिक रूपमा पानी पुर्‍याउन कठिन भए पनि गाउँपालिकाले लिफ्ट खानेपानी योजनालाई प्राथमिकतामा राखेर कार्यान्वयन गरेपछि सयौँ परिवार सुरक्षित खानेपानीको पहुँचमा पुगेका छन्। यसले केवल खानेपानीको समस्या समाधान मात्र गरेको छैन, स्थानीयको जीवनस्तर, स्वास्थ्य र सरसफाइमा समेत उल्लेखनीय सुधार ल्याएको छ।

माथागढी–४ देवगिरकी विष्णु जिसी विगत सम्झिँदै भन्छिन्, “पहिले बिहानको धेरै समय पानीकै जोहोमा बित्थ्यो। घरको काम छाडेर कुवा र पँधेरामा धाउनुपर्थ्यो। अहिले घरकै आँगनमा धारा पुगेपछि वर्षौँदेखिको सपना पूरा भएको महसुस भएको छ।”

स्थानीय रामबहादुर जिसीका अनुसार खानेपानीको सहज पहुँच भएपछि घरायसी कामको ठूलो बोझ घटेको छ। पानी ल्याउन खर्चिने समय अहिले कृषि तथा अन्य उत्पादनमूलक कार्यमा उपयोग गर्न सकिएको उनले बताए।

अर्की स्थानीय सरिता गाहा पनि खानेपानीको पहुँचले गाउँको जीवनशैली नै परिवर्तन गरेको बताउँछिन्। “पहिले पानीकै चिन्ताले अन्य काम प्रभावित हुन्थ्यो। अहिले सरसफाइमा सुधार आएको छ, समयको बचत भएको छ र महिला तथा बालबालिकाले सबैभन्दा बढी राहत पाएका छन्,” उनले भनिन्।

गाउँपालिकाले वडा नं. १ देखि ८ सम्म दर्जनौँ खानेपानी आयोजना सञ्चालनमा ल्याएको छ। केही आयोजना सम्पन्न भइसकेका छन् भने केही निर्माणको अन्तिम चरणमा छन्। गाउँपालिका अध्यक्ष यमबहादुर चिदीका अनुसार यी योजनामार्फत पालिकाभित्रका सयौँ परिवारलाई सुरक्षित, स्वच्छ र नियमित खानेपानी सेवा उपलब्ध गराइएको छ।

वडा नं. १ को बदवारी खानेपानी आयोजनाबाट करिब १०० घरधुरी लाभान्वित भएका छन् भने बाहखोक–अर्पिडाँडा–दोहोरा खानेपानी आयोजनाले २४० घरधुरीमा सेवा पुर्‍याएको छ। धारादी–रुमालडाँडा लिफ्ट खानेपानी आयोजनाबाट ४० घरधुरी र बुढिकोट लिफ्ट खानेपानी आयोजनाबाट ८० घरधुरी लाभान्वित भएका छन्। निर्माणाधीन जाउपोखरा खानेपानी आयोजना सम्पन्न भएपछि थप ४५ घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको छ।

त्यसैगरी वडा नं. ३ को ओलेस खानेपानी आयोजनाले ५५ घरधुरी र सरापकोट खानेपानी आयोजनाले ३१ घरधुरीलाई सेवा पुर्‍याइरहेको छ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ४ का वडाध्यक्ष शंकर दर्लामीका अनुसार झडेवा क्षेत्रका अधिकांश उकालो बस्तीमा लिफ्ट प्रविधिमार्फत खानेपानी पुर्‍याइएको छ। अझै पहुँच नपुगेका बस्तीमा पनि योजना विस्तार भइरहेको उनले जानकारी दिए।

गाउँपालिकाका सब–इन्जिनियर दीपक ध्यारका अनुसार वडा नं. ५ मा बडरडी, कप्टी–मौलाथर, पिसेलुङ र माथागढी खानेपानी आयोजनाहरू निर्माणाधीन छन्। यस्तै वडा नं. ६ मा अलैचे, ढुङ्ग्रेखोला, पुरनपानी र टोक्लोक्डी खानेपानी आयोजनाको निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको छ। वडा नं. ८ को बहादुरपुरमा बेतेनी लिफ्ट खानेपानी आयोजना पनि निर्माणाधीन अवस्थामा रहेको उनले बताए।

गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया लुङ्चेका अनुसार निर्माणाधीन सबै आयोजना सम्पन्न भएपछि गाउँपालिकाका करिब ९५ प्रतिशत नागरिक सुरक्षित खानेपानीको पहुँचमा पुग्नेछन्।

स्थानीय तह स्थापना भएयता माथागढी गाउँपालिकामा ३ हजार ६ सयभन्दा बढी धारा जडान भइसकेका छन्। ती धारामार्फत १३ हजार ९ सय ३८ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। गाउँपालिकाले खानेपानीलाई आधारभूत नागरिक अधिकारका रूपमा स्थापित गर्दै दुर्गम बस्तीमा समेत सुरक्षित खानेपानी पुर्‍याउने अभियानलाई निरन्तरता दिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय