पाल्पा — माथागढी गाउँपालिकाले आगामी वि.सं. २०८५ सालको मंसिरभित्र गाउँपालिकालाई बालमैत्री स्थानीय शासन कार्यान्वयन भएको पालिकाका रूपमा घोषणा गर्ने लक्ष्यसहित आवश्यक तयारीलाई तीव्रता दिएको जनाएको छ।
नेपाल सरकारले सन् २०३० (वि.सं. २०८७) सम्म सबै स्थानीय तहलाई बालमैत्री बनाउने राष्ट्रिय लक्ष्य तय गरेसँगै माथागढी गाउँपालिकाले चालु आर्थिक वर्षभित्र आवश्यक आधारभूत काम सम्पन्न गर्ने उद्देश्यका साथ अभियान सञ्चालन गरिरहेको जनाएको हो।



बालमैत्री स्थानीय शासन बालबालिकाको बचावट, संरक्षण, विकास र अर्थपूर्ण सहभागिता भन्ने चार प्रमुख आधारस्तम्भमा आधारित अवधारणा हो। यसअन्तर्गत रहेका ५१ वटा राष्ट्रिय सूचक पूरा गरेपछि मात्र कुनै स्थानीय तहलाई बालमैत्री घोषणा गर्न सकिन्छ। जन्मदर्ताको शतप्रतिशत सुनिश्चितता, पूर्ण खोप, बालस्वास्थ्य सुधार, कुपोषण न्यूनीकरण, विद्यालय भर्ना तथा नियमित उपस्थितिको सुनिश्चितता, बालश्रम र बालविवाहको अन्त्यजस्ता सूचकहरू यस अभियानका प्रमुख आधार मानिएका छन्।
गाउँपालिकाले हाल वास्तविक तथ्यांक संकलन, वस्तुस्थिति प्रतिबिम्बित गर्ने स्थितिपत्र तयारी तथा पालिका र वडा तहमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। अभियानलाई संस्थागत रूपमा प्रभावकारी बनाउन पालिका स्तरीय बालमैत्री स्थानीय शासन समिति गठन गरिएको छ भने वडा तथा टोल तहमा बाल समूह र बाल सञ्जाल गठन गरी बालबालिकाको सहभागिता अभिवृद्धि गर्ने कार्यसमेत भइरहेको छ।
गाउँपालिकाका शिक्षा संयोजक प्रकाश पाठकका अनुसार बालमैत्री घोषणा गर्न आवश्यक सबै आधारभूत तयारी चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ। उहाँले बालबालिकाको सहभागिता सुनिश्चित गर्ने, आवश्यक तथ्यांक व्यवस्थापन गर्ने तथा संस्थागत संरचना निर्माण गर्ने काम समानान्तर रूपमा भइरहेको बताउनुभयो।
उहाँका अनुसार माथागढीमा बालमैत्री अभियान कार्यान्वयनका क्रममा बालविवाह प्रमुख सामाजिक चुनौतीका रूपमा देखिएकाले यसको न्यूनीकरणलाई केन्द्रमा राखेर विभिन्न जनचेतनामूलक तथा रचनात्मक कार्यक्रम सञ्चालन गरिँदै आएको छ।
गाउँपालिकाका सूचना अधिकारी नित्यानन्द खनालले बालमैत्री अभियानलाई प्रशासनिक तथा प्राविधिक रूपमा व्यवस्थित बनाउन विशेष प्राथमिकता दिइएको बताउनुभयो। उहाँका अनुसार अभियान सफल बनाउन आवश्यक जनशक्ति परिचालन, अन्तरनिकाय समन्वय तथा नियमित अनुगमनलाई प्रभावकारी बनाइएको छ।
“यो केवल घोषणा गर्ने अभियान होइन, स्थानीय शासन प्रणालीलाई बालमैत्री र उत्तरदायी बनाउने रूपान्तरणको प्रक्रिया हो,” उहाँले भन्नुभयो।
गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बालमैत्री स्थानीय शासन सिंगो गाउँपालिकाको दिगो, समावेशी र न्यायपूर्ण विकाससँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताउनुभयो। उहाँका अनुसार बालमैत्री शासन लागू भएपछि योजना तथा बजेट निर्माण प्रक्रिया थप उत्तरदायी बन्ने, बालबालिकामाथि हुने हिंसा, शोषण तथा बालश्रममा कमी आउने र गुणस्तरीय शिक्षामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।
अध्यक्ष चिदीले बालबालिका भविष्यका मात्र नभई वर्तमानका पनि महत्वपूर्ण साझेदार भएकाले उनीहरूको अधिकार, सुरक्षा र सहभागिता सुनिश्चित गर्नु स्थानीय सरकारको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्नुभयो। भौतिक पूर्वाधार निर्माणले मात्र समृद्धि हासिल नहुने भन्दै उहाँले सुरक्षित, सक्षम र अवसरयुक्त बालमैत्री समाज निर्माणमार्फत नै वास्तविक विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
गाउँपालिकाले निर्धारित सबै सूचकहरू पूरा गर्दै वि.सं. २०८५ सालभित्र माथागढीलाई बालमैत्री गाउँपालिका घोषणा गर्ने लक्ष्य हासिल गर्न स्थानीय सरकार, सरोकारवाला निकाय तथा समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै अभियानलाई निरन्तरता दिएको जनाएको छ।











