
पाल्पा, असार २५
सदरमुकाम तानसेनबाट ४० किलोमिटर टाढा पूर्वखोला गाउँपालिका केन्द्रबाट झण्डै ७ किलोमिटर कच्ची सडकको यात्रापछि पूर्वखोला गाउँपालिका–१, ढाक्रेवासमा बालकहरूलाई फलामे सिक्रीले बाँधेर राखिएको छ ।



स्थानीय डिलबहादुर सारूका १६ वर्षीय छोरा नारायण सारूलाई जान्ने सुन्ने भएदेखि नै यसै गरी गाइगोठमा बाँधेर राखिएकाे छ । डिलबहादुर र मिनाका चार जना सन्तान छन् । जसमा दुई जना छोरामा अपाङ्गता छ भने दुई ओटा छोरीमा कुनै समस्या छैन । जेठी छोरीले स्थानीय अकला आधारभुत विद्यालयमा कक्षा २ मा पढ्दै आउनु भएको छ भने कान्छी छोरी तीन वर्षकी हुनुभयो ।
नारायण र माधव दुबै बोल्न सक्नुहुन्न । आफू घरमा भएको बेला कहिलेकाहीँ त्यसै छोडे पनि काममा कहीँकतै गएको बेला बाँधेरै राख्ने गरिएको डिल बहादुरले बताउनु भयो । दुबै बालकहरू दौडिने, उफ्रिने र भाग्ने गर्छन् । अवस्था हेरी दुई मध्ये एक जनालाई यसरी बाँधेर राख्ने गरिएको उहाँले बताउनु भयो । ‘घरमा कोही नहुँदा त्यसै छोड्नै हुन्न, भागेर टाढा टाढासम्म पुग्छन्, पानीमा भिजिरन्छन्, त्यसैले बाँधेरै राख्नुपर्छ’, उहाँले भन्नुभयो ।
दुबै बालकको रातो अपाङ्गता परिचयपत्र बनेको छ । मासिक भत्ता आउँछ । त्यसैबाट उनीहरूलाई खुवाउन सकिएको डिलबहादुरले बताउनु भयो । ‘धेरै जना आएर उचित उपचार गर्ने हो भने निको हुन्छ भन्छन् तर आर्थिक अभावमा उपचार गराउन लैजान सकिएको छैन’, उहाँले भन्नुभयो ।
पूर्वखोला गाउँपालिकाले उनीहरूको उपचारका लागि एक वर्ष अघि केही सहयोग पनि गरेको थियो । स्थानीय तहको सहयोगमा लुम्बिनी मेडिकल कलेज, तानसेनमा चार दिन राखेर उपचार गरिएपनि केही सुधार नभएपछि उनीहरूलाई फर्काएर ल्याइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताउनु भयो । यो समस्या थाहा भएलगत्तै गाउँपालिकाले अपाङ्गता परिचय बनाई मासिक भत्ता उपलब्ध गराउँदै आएको उहाँले बताउनु भयो ।
रिब्दीकोट गाउँपालिका–१, ख्याहा जोगिथुम घर भई हाल तानसेन नगरपालिका–१४, अर्गलीमा भाडाको घरमा बस्दै आउनुभएका १२ वर्षीय शिव कुमाल उपचार अभावमा फलामे सिक्रीमा बाँधिएर दैनिकी गुजार्दै हुनुहुन्छ । छोरा जान्ने सुन्ने भएदेखि नै यसै गरी बाँधेर राख्न थालिएको आमा पार्वती कुमालले बताउनु भयो ।
तीन/चार वर्षको हुँदादेखि नै त्यत्तिकै छोड्दा भागेर टाढा टाढा जाने र दुःख दिने गरेकोले यसरी बाँधेर राख्न थालिएको उहाँले बताउनु भयो । शिवले बोल्न सक्नुहुन्न । आमाले बोलाउँदा सुन्ने र भन्न खोजेको कुरा भने बुझ्ने गरेको पार्वतीले बताउनु भयो ।
पार्वतीका दुई भाई छोरा हुन् । शिव कान्छो छोरा । ‘ठूलो छोरामा कुनै समस्या छैन । विद्यालय जाने गर्नुहुन्छ । पति रोजगारीका लागि भारत हुनुहुन्छ । पतिको कमाइबाट खान बस्न ठिक्क छ । आर्थिक अभावकै कारण बुबाको राम्रोसँग उपचार गर्न सकिएन’, पार्वतीले भन्नुभयो । आफू घरमा छँदा खुल्लै राख्ने र निगरानी गरे पनि आफू दिनभर काममा जाँदा वा अन्यत्र बास बस्ने गरी जाँदा पनि यसै गरी बाँधेर राख्ने गरिएको उहाँले बताउनु भयो ।
उपचारको नाममा तीन वर्षअघि केही दिन बुटवल लगेर उपचार गराए पनि आर्थिक अभावका कारण धेरै समय उपचार गराउन नसकेको र फेरी फर्काएर ल्याएपछि उस्तै दैनिकी सुरू भएको पार्वतीले बताउनु भयो । शिवले कखरा समेत सिक्ने बुझ्नै मौका पाउनुभएन । आफ्नै सहोदर दाई र छिमेकी समान उमेर समूहका बालबालिका विद्यालय जाँदा शिव भने सिक्रीमै बाँधिएर बस्न बाध्य हुनुहुन्छ ।
सिक्रीले बाँधिएका बालक शिवलाई तत्कालिन प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले आफ्नो कार्यकक्षमै लगेर उहाँको चालचलन बानीव्यहोरा अवलोकन गर्दै भरपर्दो उपचारको लागि सरकारी तवरबाटै पहल गर्ने बताउनुभएको थियो । बालकको घरमै पुगेर उहाँको अवस्थाबारे जानकारी लिनुभएका पाल्पा सिविआरका कार्यक्रम प्रमुख कृष्ण गहतराजले बालकको अवस्था बारे जानकारी लिँदा ७० प्रतिशत ठिक हुने बताउनुभएको थियो ।
उहाँको पहलमा रिब्दीकोट गाउँपालिका, महिला तथा बालबालिका कार्यालय, पाल्पा सिविआरलगायतका सङ्घसंस्थाहरूले बालककै घरमा पुगेर उहाँको थप उपचारका लागि ०७५ असार १७ गते युनाइटेड मिसन अस्पताल लगेका थिए ।
महिला तथा बालबालिका कार्यालयले शिवलाई असार १७ गते नै ‘ख’ वर्गको निलो अपाङ्गता कार्डलाई परिवर्तन गरी ‘क’ वर्गको रातो अपाङ्गता कार्ड दिएको थियो । शिवले ६ सय रुपियाँ पाउँदै आउनुभएकोमा अब मासिक रूपमा २ हजार रुपियाँ पाउने हुनुभएका हो । इन्सेक अनलाइनबाट साभार