
रैनादेबी छहरा गाउँपालिका पाल्पाकाे १६ औं गाउँसभा सुरू भएको छ । रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले आर्थिक, सामाजिक रुपान्तरणका लागि स्थायित्व, सुशासन, विकास र सामाजिक न्याय सहित “समृद्ध नेपाल सुखी नेपाली” को आकाङ्क्षा पूरा गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताएका थिए ।
अध्यक्ष भट्टराइले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्देशन गरेको सम्पूर्ण व्यवस्थापकिय अधिकारहरुको परिधिमा रहि कार्य सञ्चालन गर्न प्रतिबद्धता व्यक्त गरे । सिमित स्रोत र साधनबाट असिमित आवश्यकताहरु प्राथमिकताका आधारमा पुरा गर्दै रैनादेवी छहरा गाउँपालिकालाई समृद्ध एवं समुन्नत बनाउने जिम्मेवारीमा प्रतिबद्ध रहेको बताए । नेपालको संविधानद्वारा परिलक्षित समाजबाद उन्मुख भौतिक, आर्थिक, सामाजिक विकास का अतिरिक्त वातावरण संरक्षण, प्राकृतिक स्रोत र साधनको समुचित सदुपयोगका र गुणस्तरीय जीवन र दिगो विकासका लक्ष्यहरु हासिल गर्ने विषयलाई विशेष रुपमा प्राथमिकताका साथ कार्यक्रमहरुमा समेटिने बताए ।



गाउँसभाकाे शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले गाउँसभामा कृषि क्षेत्र हानिकारक बन्यजन्तुबाट जोखिम न्यूनीकरणको लागि पूर्वाधार निर्माण कार्यक्रम संचालन कार्यविधि २०८१ र कुटानीपीसानी मिल तथा मिनिटिलर वितरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ आर्थिक विकास समितिका संयोजक एवं रैनादेबी छहरा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रदिप पाैडेलले प्रस्तुत गरेका थिए ।
गाउँसभाबाट रैनादेवी छहरा गाउँपालिकाको शिक्षकको सरूवा तथा काज व्यवस्थापन सम्बन्धी कार्यविधी – २०८१ सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष हुतमान सिङ कार्कीले गाउँ सभामा प्रस्तुत गरेका थिए । प्रस्तुत गरेका विधेयकहरुबारे छलफल पछि गाउँसभा अध्यक्ष भट्टराईले गाउँसभामा प्रस्तुत गरेको विधेयकहरु गाउँ सभाका सदस्यहरुले ताली बजाएर पारीत गरेका थिए ।
आर्थिक, समाजिक, पर्यटन र पूर्वाधारः समृद्ध रैनादेवी छहराको मूल आधार” भन्ने सपना पुरा गर्न निर्वाचनमा मतदाताहरु समक्ष गरेको प्रतिबद्धताहरु पुरा गर्नको लागि आगामी आर्थिक वर्ष ०८१/८२ को वार्षिक नीति तथा कार्यक्रमहरु मार्फत प्राथमिकताका आधारमा समेट्दै जाने बताए । गाउँपालिकाले शिक्षाकाे क्षेत्रमा प्राविधिक शिक्षाका लागि छात्रवृत्ति,विद्यालय स्वास्थ्य सम्बन्धि कार्यक्रम सुदृढीकरणको लागि एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत विद्यालय नर्स कार्यक्रमलाई व्यवस्थित तथा विस्तार गर्दै लाग्ने बताए । विद्यालयका कर्मचारी तथा बाल विकास सहजकर्ताहरूका लागि क्षमता विकाससँगै विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थीहरूको चौतर्फी विकासको लागि हरेक शुक्रबार बुक फ्रि-डे को अवलम्बन गरिने बताए । स्वास्थ्यकाे क्षेत्रमा नागरिकको घरदैलो मै सेवा भन्ने नाराका साथ एकीकृत रूपमा निशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने, ८० वर्ष माथिका बुवाआमालाई “स्वास्थ्य बा-आमा कार्यक्रम” मार्फत घरघर मै गई स्वास्थ्य सेवा दिईने, “पाँच-अ कार्यक्रम” अर्थात अपाङ्ग, अशक्त, असहाय, अतिविपन्न र आर्थिक अवस्था कमजोर भएका र महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गरिने,महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको मनोबल उच्च राख्दै क्षमता अभिवृद्धि तथा कार्यसम्पादनमा प्रोत्साहन गरिनुका साथै सम्मानजनक विदाईको लागि महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका कोषको स्थापना गरिने, सुत्केरी आमा पोशिलो खाना कार्यक्रम सञ्चालन गरिने बताए ।
सभामा गाउँपालिका उपाध्यक्ष युवराज थापाले आफू पद बहाली भएदेखि नै गाउँपालिकाका महिला बालबालिकाको अधिकार र सुरक्षाको लागि सक्रिय भुमिका खेल्दै आएको बताए । न्याय समितिको संयोजक भएकोले गाउँपालिकामा दर्ता भएका मुद्दाहरु गाउँपालिकामामै मिलापत्र गराउन सफल भएको बताए । रैनादेबी छहरा गाउँपालिका बासीलाई आफ्नो टोलमा हुने गरेका झै झगडा वडामै समाधान गर्न प्रत्येक वडा वडामा मेलमिलाप केन्द्र खोलेको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले बाटाघाटा,प्रशासनिक भवन, स्वास्थ्य शिक्षा, कृषि हरेक क्षेत्रमा गाउँपालिकाले अग्रता लिएको बताए । गाउँपालिकामा प्रशासनिक भवन, सभा हल, स्वास्थ्यचौकी, बाटा घाटाहरु, गाउँ गाउँमा नाली सम्पन्न भैसकेको छ । विद्यालयको भौतिक पुर्वधार विकास, शिक्षक अनुदानको व्यबस्था गरिएको छ ।