सुशीला रेग्मी

रामपुर (पाल्पा), ५ वैशाख

पाल्पाको रामपुर नगरपालिका वडानम्बर १ र ३ मा पर्ने निस्दीखोलाको मसानेघाटमा निर्माण भएको पक्की पुलको उद्घाटन गरिएको छ । मसानेघाटमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालको अध्यक्षतामा एक कार्यक्रम गरी पुल उद्घाटन गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरिले पुलको उद्घाटन गर्नुहुदै यस पुलले नागरिकको जीवनस्तरमा ठूलो योगदान दिने हुदा गाउँमा खाद्यान्न, कृषिजन्य सामग्री र व्यापारिक सामग्रीहरु ओसारपसार गर्न, सहज रुपमा यात्रा गर्न ठुलो सघाउ पुग्ने बताउनुभएको छ ।

प्रदेश सरकारले केही महत्वपूर्ण योजना सुरु गरेको जानकारी दिनुहुदै रामपुरको बसपार्क र यससंग जोडिएका सडक र ढलको लागि हालसालै २४ करोड बराबरको वजेट विनियोजन गरिएको बताउनुहुदै मुख्यमन्त्री गिरीले रामपुर कपुरकोट सडक यहीँबाट जाने भएको हुदा यो क्षेत्रको विकास निर्माणमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभएको छ । प्रदेश सरकारको महत्वपूर्ण गौरवको योजनाको रुपमा रामपुर कपुरकोट सडक राखिएको बताउनुहुदै यसलाई तीव्रता दिन यस सडक संग पर्ने विभिन्न जिल्लास्थित कार्यालय प्रमुखलाई आवश्यक वजेट उपलब्ध गराउने भनेर निर्देशन समेत दिएको मुख्यमन्त्री गिरीले बताउनुभयो । रामपुरको महत्वपूर्ण सिंचाई योजना ठाउँ ठाउँमा जिर्ण बनेको सिंचाइको मुख्य योजना नहरको विकास गर्दै सिंचाइको लागी थप बजेट व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले प्रदेशले आफ्नो क्षेत्रका नागरिकका माग अनुसारका गौरवका योजनालाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

कृषिलाई प्राथमिकता दिएर नयाँ तरिकाबाट आधुनिक प्रविधिको प्रयोग गरी खेती गरी आत्मनिर्भर बन्नुपर्ने बताउनुहुदै उब्जाउशिल जमिनलाई सिंचितको व्यवस्था मिलाउन आफुले पहल गर्ने बताउनुभएको छ । सडक, पुल, खानेपानी, सिंचाई लगायतका आयोजनालाई सम्पन्न गर्दै प्रदेशका नागरिकको जीवनस्तर माथि उकास्न कृषि, पर्यटन र उद्योगमा धेरै क्रान्तीकारी परिवर्तन गर्नका लागि ठोस योजनाका साथ अगाडी बढ्ने प्रतिबद्धता जनाउनुहुदै मुख्यमन्त्री गिरीले जनताको जीवनस्तर माथि उकास्न प्रदेश सरकारले महत्वपूर्ण भूमिका जनतामाझ स्पष्ट पार्ने उहाँले बताउनुभयो । कार्यक्रममा पाल्पा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यले आफ्नो कार्य क्षेत्रका विकास निर्माणको कामलाई छिटो सम्पन्न गर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले यस पुलले विकासलाई जोडेको हुदा पुल निर्माण पश्चात विभिन्न सामग्री ओसारपसार तथा यात्रा गर्न सहज भएको बताउनुभएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका मुख्य सचिव राजेन्द्र थापा, भौतिक पूर्वाधार मन्त्रालयका सचिव अमृत श्रेष्ठ, सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ता, निर्माण व्यवसायी शिव श्रेष्ठ लगायतले बोल्नुहुदै समयमा नै पुल निर्माणको काम सकिएको बताउनुभएको छ । लुम्बिनी प्रदेश सभाका निवर्तमान प्रदेश सभा सदस्य युवराज खनालले स्वागत गर्नुभएको कार्यक्रमको संचालन रामपुर नगरपालिका ३ का वडाध्यक्ष दामोदर पाठकले गर्नुभएको हो । इलाइट कन्ट्रक्सन प्रालीले २०७६ फागुन ११ गते सम्झौता गरी निर्माणको जिम्मेवारी लिएर काम गरेको हो । रु सात करोड ७३ लाख ६ हजार ७ सय ७१ को लागतमा निर्माण सम्पन्न भएको पुलको लम्बाई ६४ दशमलव १० मिटर र चौडाई ११ मिटर छ । रु आठ करोड १२ लाख २५ हजार ६ सय ४३ को लागतमा ठेक्का आह्वान भएको थियो । पुल २०७९ भदौ २६ गते सम्पन्न भई हाल संचालनमा छ ।

यस पुलबाट रामपुर नगरपालिका वडा नं १, २, ३ र निस्दी गाउँपालिका विभिन्न वडाका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । पुल उद्घाटनका अवसरमा पुलमा जोडिएको जग्गा व्यवस्थापनमा सहयोग गर्नुहुने जग्गादाता काशीराम खनाल र हेमबहादुर कार्की, मुख्यमन्त्री गिरी, सांसद, अतिथिहरुलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय