बिहिबार , जेठ २१, २०८३

तानसेन नगरपालिका ६ नम्बर वडा कार्यालयले वडामा प्रक्रियागत जटिलतालाइ सहजीकरण गर्दै नागरिकता दिन सफल भएकाे छ । विविध कारणले नागरिकता पाउन नसकेकाहरूको लागि वडा कार्यालयको तर्फबाट अभियान नै सञ्चालन गरी नागरिकताको लागि सिफारिस प्रदान गरिएकाे हाे ।

जिल्ला प्रशासन कार्यालयबाट नागरिकता जारी गर्न ६ नं. वडाका वडाध्यक्ष सागरमान महर्जनले सहजिकरण गर्दै नागरिकचा बनाएदिएका हुन् ।  वडा कार्यालयले, नागरिकताको पहुँचबाट टाढा रहेका, नागरिकताको महत्वसमेत थाहा नपाउनेहरू, नागरिकता बनाउनुपर्छ वा बनाउनु पर्दैन भन्ने समेत थाहा नपाउनेहरू र कतिपय अवस्थामा विविध कारणले नागरिकता प्राप्त गर्न नसकेका ७ जनालाई यस वर्षमा नागरिकता प्रदान गरी अन्य सामाजिक सुरक्षा लगायतका कार्यक्रमहरुमा अनुबन्धित गरेको वडा अध्यक्ष सागरमान महर्जनले बताए ।

यसै क्रममा तानसेन नगरपालिका ६ नम्बर अन्तर्गत पर्ने लामडाँडा निवासी कमला कामीको करिब ५० वर्षको उमेरमा आज नागरिकता वितरण गरिएको छ । तीन वर्षअघि नै उहाँको श्रीमानको मृत्यु भइसकेकोले कमलाले तीन वर्षअघि नै सामाजिक सुरक्षा भत्ता अन्तर्गत विधवा भत्ता प्राप्त गर्नुपर्नेमा नागरिकता नहुँदा उक्त सामाजिक सुरक्षा कार्यक्रमबाट उहाँ वञ्चित रहनुभएको र अहिले नागरिकता बनिसकेपछि मात्र उहाँ सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध हुनुभएको वडा सचिव विशाल ओलीले बताए ।

नागरिकता प्राप्त गरिसकेपछि खुसी हुँदै कमला कामीले, वडा अध्यक्ष, जिल्ला प्रशासन, वडा परिवार, प्रहरी कार्यालय, वडा सदस्यहरू र सर्जमिन साक्षी बसी सहयोग गर्ने सवै स्थानीयहरूलाई धन्यवाद व्यक्त गरे । उक्त नागरिकता वितरण सँगसँगै वडा कार्यालयले निजको घरमा नै गई त्रिपाल लगायतका विपतका सामग्रीहरु र सरसफाईका सामग्रीहरु पनि वितरण गरेको थियो । कमला कामीको घरको आर्थिक अवस्थालाई मध्यनजर गर्दै वडा कार्यालयवाट सक्दो सहयोग गर्ने पनि वडा अध्यक्ष सागरमान महर्जन बताउँछन् ।

वडाले आगामी वर्षमा समेत प्रक्रियागत जटिलता बोकेका र सोहि कारण नागरिकता लगाएत अन्य  महत्वका कागजातहरू बन्न नसकेकाहरूलाई लक्षित गरी अभियान संचालन गर्ने वडा सदस्यहरू सस्मिता गहतराज, रेखा विष्ट, गोमा गैरे र दिर्घ सिं थापा मगरले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय