
पाल्पा, रामपुर नगरपालिका भित्रका महिलाहरुलाई खादा बनाउने तालिम प्रदान गरिएको छ । उप–प्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम अन्तर्गत महिलाहरुलाई तालिम प्रदान गरिएको हो । तालिम गत जेठ १६ गते देखि बुधबार सम्म सञ्चालन भएको थियो । तालिम समापनको अवसरमा सहभागी महिलाहरुलाई प्रमाण पत्र वितरण गर्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले महिलालाई व्यावसायिक र आत्मनिर्भर बनाउन नगरपालिकाले सिपमुलक तालिम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले महिलाहरुलाई प्राप्त सिपको सदुपयोग गर्दै उद्यमशिल बन्न आग्रह गर्नुभयो ।नगरपालिकाले प्रदान गर्ने तालिमको सही सदुपयोग होस् भन्ने उद्देश्यले सहभागीलाई तालिम व्यवहारमा लागु गर्ने प्रतिवद्धता जनाएमा मात्र सहभागी गराएर तालिम प्रदान गर्दै आएको बताउनुभयो ।
यस अघि सञ्चालन भएका तालिम पश्चात विभिन्न वडामा महिलाहरुले उद्यम व्यवसाय सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उद्यमीहरुलाई व्याज अनुदानको कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै तालिम लिएर उद्यम सुरु गर्ने महिलाहरुलाई आवश्यक उपकरणहरु अनुदानमा प्रदान संगै नगरपालिकाले बजारको सुनिश्चितता गर्ने बताउनुभयो ।रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाले महिलाहरुलाई उद्यम बनेर अघि बढ्न आग्रह गर्नुभयो । तालिम पश्चात उद्योग तथा व्यवसाय सञ्चालन गर्दै आउनु भएका महिलाहरुलाई आवश्यकता अनुसार उपकरणमा पनि अनुदान प्रदान गर्दै आएको बताउनुभयो । साथै उहाँले उद्यमी महिलाहरुले उत्पादन गरेका सामान उपप्रमुख कोसेली घर बाट विक्री वितरण गर्ने वातावरण निर्माण गरिएको जानकारी दिनुभयो । रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले तालिम लिनु मात्र नभै प्राप्त तालिम कस्ले कति सदुपयोग गरे भन्ने कुरा महत्वपूर्ण रहने बताउनुभयो । कार्यक्रममा प्रशिक्षक बन्दना रानाले सिकेका सीप व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो । सहभागीको तर्फ बाट माया श्रेष्ठ र फुल माया परियारले आफ्नो अनुभव सहित तालिमलाई व्यवहारमा लागु गर्ने प्रतिवद्धता जनाउनुभयो ।रामपुर नगरपालिकामा सञ्चालन भएको तालिममा २२ जना महिलाहरुको सहभागीता रहेको थियो ।



तालिममा प्रशिक्षक बन्दना राना र निर्मला सारुले खादा बनाउने सिप प्रदान गर्नु भएको थियो । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको समापन कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो । नगर प्रवक्ता कपिल बहादुर खाँणको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाका प्रमुख पुजा परियारले गर्नु भएको थियो ।