तानसेन । माडी भ्यू मिडियामा प्रकाशित समाचारको विषयवस्तुलाई लिएर माडी भ्यू मिडियाका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका कोषाध्यक्ष पत्रकार विजय बौडेललाई ज्यान मार्ने धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघ पाल्पा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।



महासंघका अनुसार गएराति करिब ११ बजे अज्ञात व्यक्तिले फोनमार्फत अपशब्द प्रयोग गर्दै पत्रकार बौडेललाई ज्यान मार्ने धम्की दिएका थिए।
घटनापछि महासंघ पाल्पा शाखाले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यको कडा शब्दमा निन्दा तथा भर्त्सना गरेको छ। विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा सञ्चारमाध्यमले सार्वजनिक सरोकारका विषयमा समाचार सम्प्रेषण गर्नु संवैधानिक तथा पेशागत दायित्व भएको उल्लेख गरिएको छ। प्रकाशित समाचार वा भिडियोप्रति कुनै असहमति वा गुनासो भए कानुनी तथा संस्थागत प्रक्रियामार्फत समाधान खोज्न सकिने अवस्थामा पत्रकारलाई व्यक्तिगत रूपमा धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तथा अस्वीकार्य कार्य भएको महासंघको ठहर छ।
महासंघले यस्तो हर्कतलाई प्रेसविरोधी र गैरजिम्मेवार कदमका रूपमा लिँदै दोषीमाथि तत्काल कारबाही गर्न माग गरेको छ।
पत्रकार बौडेलले घटनाबारे सम्बन्धित व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित उजुरी दिइसकेका छन्। तर हालसम्म धम्की दिने व्यक्ति पक्राउ नपरेको भन्दै महासंघले गम्भीर चासो व्यक्त गरेको छ।
महासंघले विज्ञप्तिमार्फत धम्की दिने व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न, प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न तथा भविष्यमा यस्ता घटना नदोहोर्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ। साथै पत्रकार बौडेलको जीउधनको सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित निकायसँग जोडदार माग समेत गरेको छ।







