
पाल्पा, रामपुर नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणा गर्न तयारीलाई तिव्रता दिएको छ ।नगरपालिकाले आगामी २०८३ साल मंसिर ५ गते बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि अहिले वडारवडामा विभिन्न कार्यक्रम भईरहेको छ ।
वडामा समिति गठन,बाल क्लव गठन,घरधुरी सर्वेक्षण,बालबलिकाको पारिवारिक ,आर्थिक र शैक्षिक अवस्था पहिचानका कार्यक्रमहरु भएको छ । बालमैत्री स्थानीय शासनका ५१ वटा सुचकका आधारमा वडा वडामा कार्यक्रम भएको हो । नगरका १० वटै वडामा बालमैत्री स्थानीय शासन वडा समिति गठन गरेको छ भने वडा नं।२ लाई घोषणाको अन्तिम चरणमा पुगेको रामपुर नगरपालिकाले जनाएको छ । वडा नं।२ लाई बालमैत्री स्थानीय शासन घोषणाका लागि गत आर्थिक वर्षबाट वडामा विभिन्न कार्यक्रम गरेको हो । वडा नं।२ मा बालमैत्री स्थानीय शासन लागु गर्नका लागि आवश्यक सुचक पुरा गर्न विभिन्न कार्यक्रम सम्पन्न गरी वडालाई बालमैत्री स्थानीय शासन घोषणाको अन्तिम चरणमा रहेको छ भने अन्य वडामा पनि सुरु गरिएको छ। बालमैत्री स्थानीय शासन घोषणा कार्यक्रम अन्तर्गत गणकहरुलाई बालमैत्री घरधुरी सर्वेक्षण सम्बन्धी अभिमूखिकरण प्रदान गरेको छ ।बालबालिकाको अवस्था पहिचानका लागि रामपुर नगरपालिका भित्रका वडामा खटिने गणकहरुलाई अभिमूखिकरण प्रदान गरेको हो । बालमैत्री स्थानीय शासन घोषणाको पहिलो र महत्वपूर्ण आधार बालबालिकाको अवस्था बुझ्ने घरधुरी सर्वेक्षण भएकोले अभिमुखिकरण प्रदान गरिएको रामपुर नगरपालिकाका कार्यबहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले बताउनुभयो । साथै उहाँले गणकहरुलाई सही तथ्याङ्क संकलन गर्न आग्रह गर्नुभयो । उहाँले रामपुर नगरपालिकालाई समृद्ध र प्रभावकारी कार्यान्वयन सहितको बालमैत्री स्थानीय शासन सहितको नगरपालिका बनाउन सबै लाग्नु पर्ने बताउनुभयो ।साथै समुचित विकास र समृद्धिका लागि बालमैत्री स्थानीय शासनका सुचक पुरा गरेर बालमैत्री स्थानीय शासन घोषणा गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।



नगरपालिकाका नगर प्रवक्ता एवं वडा न. १ का अध्यक्ष कपिल बहादुर खाँणले नगरपालिकाको दिगो विकास र समृद्ध नगर निर्माणका लागि बालबालिका केन्द्रित बालमैत्री कार्यक्रम लागु गर्न आवश्यक रहेको भन्दै बालमैत्री स्थानीय शासन घोषणाले यो लक्ष्य प्राप्त गर्ने बताउनुभयो । उहाँले सही तथ्याङ्कले मात्र सही नतिजा दिने भन्दै हरेक गाँउ टोलमा रहेका बालबालिकाको वास्तविक अवस्थाको तथ्याङ्क संकलन गर्न गणकहरुलाई अभिमुखिकरण प्रदान गरिएको बताउनुभयो । नगरका सबै वडामा बालमैत्री स्थानीय शासन वडा समिति गठन गरेर अहिले गणकहरुका लागि अभिमुखिकरण प्रदान गरेको र अब क्रमश अन्य विभिन्न कार्यक्रम पनि तिव्रताका साथ सञ्चालन गरिने बालमैत्री स्थानीय शासनका फोकल पर्सन सञ्जु परियारले जानकारी दिनुभयो ।