पाल्पा — बर्तुङ बहुउद्देश्यीय सहकारी संस्थाले आठौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सभामा सहकारीको आर्थिक पारदर्शिता, सुशासन, बचत गर्ने बानी र सदस्यबीचको विश्वासलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिइएको छ।
कार्यक्रमका प्रमुख अतिथि दिलबहादुर ढुङ्गानाले विभिन्न माध्यमबाट आम्दानी गर्न सहज भए पनि बचत गर्न कठिन हुने गरेको बताउनुभयो। उहाँले सहकारी संस्थामा पारदर्शिता, सुशासन र विश्वास कायम हुन सके मात्र सहकारी अभियानप्रति सदस्यहरूको भरोसा बढ्ने धारणा राख्नुभयो।



कार्यक्रमका विशिष्ट अतिथि तानसेन नगरपालिका–३ का वडाध्यक्ष बाबुरत्न शाक्यले सहकारीले स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मुक्ति न्यौपाने, सहकारीका संस्थापक सचिव भविन्द्र गौतम र निलसागर आश्रमका अध्यक्ष प्रकाश गंगोलले सहकारीको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे धारणा राख्नुभएको थियो।
संस्थाका अध्यक्ष विधान श्रेष्ठले सहकारी अभियान आर्थिक समृद्धि, सामाजिक रूपान्तरण र सामूहिक विकासको महत्वपूर्ण आधार भएको बताउनुभयो। समुदायमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै उत्पादन, रोजगारी र आत्मनिर्भरताको वातावरण निर्माणमा सहकारीले योगदान पुर्याउँदै आएको उहाँको भनाइ थियो।
अध्यक्ष श्रेष्ठले संस्थाले कृषि, सुपथ पसल तथा अचार उद्योगलगायतका क्षेत्रमा काम गर्दै आए पनि अपेक्षाअनुसार मुनाफा हासिल गर्न नसकेपछि सुपथ पसल र अचार उद्योग सञ्चालनबाट पछि हट्नुपरेको जानकारी दिनुभयो।
कार्यक्रममा सूर्य थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाका सचिव निलकण्ठ देवकोटाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।










