latest
माथागढी गाउँपालिकाः दुर्गम बस्तीमा ‘एक घर–एक धारा’ अभियान  ||    समुदायसँग जोडियो सिकाइ, ‘सक्षम सिकाइ कार्यक्रम’ले बदल्दै माथागढीको शैक्षिक अभ्यास  ||    माथागढीका कृषकलाई प्रविधिमैत्री कृषि अभ्यास  ||    राजस्व संकलनमा सुधार, दिगो विकासका लागि स्रोत विस्तारको खोजी  ||    वैदेशिक रोजगारी त्यागेर बंगुरपालनमा सफलता, माथागढीका सम्मर कुमाल दम्पतीको वार्षिक २० लाखको कारोबार  ||    उत्पादनका आधारमा अनुदान, यान्त्रीकरण र व्यावसायिक खेतीले फेरिँदै माथागढीको कृषि  ||    लिफ्ट खानेपानी योजनाले फेरियो माथागढीका डाँडाबस्तीको दैनिकी  ||    माथागढीको नौ वर्षमा सडक, पुल र सिंचाइ पूर्वाधारले फेरियो गाउँको मुहार  ||   
सोमबार , असार १५, २०८३

खानेपानीको समस्या समाधानमा सक्रिय माथागढी गाउँपालिका, दुर्गम बस्तीमा ‘एक घर–एक धारा’ अभियान प्रभावकारी

पाल्पा, असार १५

स्वच्छ र सुरक्षित खानेपानी प्रत्येक नागरिकको आधारभूत अधिकार हो। यही अधिकारलाई व्यवहारमा सुनिश्चित गर्ने उद्देश्यले पाल्पाको माथागढी गाउँपालिकाले गाउँपालिका भित्रका विभिन्न बस्तीमा खानेपानीको पहुँच विस्तारलाई प्राथमिकताका साथ अघि बढाएको छ। विशेषगरी भौगोलिक रूपमा विकट तथा खानेपानी अभाव झेल्दै आएका बस्तीलाई लक्षित गरी सञ्चालन गरिएका खानेपानी आयोजनाले स्थानीयवासीको दैनिक जीवन सहज बनाउँदै गएको छ।

यसै अभियानअन्तर्गत माथागढी गाउँपालिका–७ को दुर्गम बस्ती रहवासमा निर्माण सम्पन्न भएको बादुर खोला सोलार लिफ्टिङ्ग खानेपानी आयोजना स्थानीयका लागि ठूलो राहत बनेको छ। वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएका स्थानीय अहिले आफ्नै घरआँगनमा धारा पुगेपछि सहज रूपमा स्वच्छ खानेपानी उपभोग गर्न थालेका छन्।

आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिकाले विनियोजन गरेको ६ लाख रुपैयाँ बजेट तथा स्थानीय उपभोक्ताको उल्लेखनीय श्रमदानबाट आयोजना सम्पन्न भएको हो। गाउँपालिकाका अनुसार आयोजना निर्माणसँगै ‘एक घर–एक धारा’ अभियानले मूर्त रूप लिएको छ। यसअघि स्थानीयवासीले दैनिक उपभोगका लागि टाढाको मुहानबाट घण्टौं लगाएर पानी बोकेर ल्याउनुपर्ने बाध्यता थियो। विशेषगरी महिला, ज्येष्ठ नागरिक तथा बालबालिकाले सबैभन्दा बढी सास्ती खेप्नुपरेको अवस्थामा अहिले त्यो समस्या हटेको छ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर सारुका अनुसार बादुर खोला सोलार लिफ्टिङ्ग खानेपानी आयोजनामार्फत गाउँका ३० घरधुरी तथा एक चर्चमा नियमित रूपमा खानेपानीको पहुँच पुगेको छ। उहाँले स्थानीयको सक्रिय सहभागिता, श्रमदान र गाउँपालिकाको आर्थिक सहयोगका कारण आयोजना सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो।

गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले ‘एक घर–एक धारा’ अभियानलाई गाउँपालिकाको प्राथमिक कार्यक्रमका रूपमा अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार भौगोलिक रूपमा दुर्गम बस्ती भए पनि विकासका अवसरबाट कुनै पनि नागरिक वञ्चित नहोस् भन्ने उद्देश्यले आवश्यकताका आधारमा बजेट विनियोजन गर्दै खानेपानीसहित आधारभूत पूर्वाधार विकासलाई निरन्तरता दिइएको छ।

“हाम्रो लक्ष्य गाउँपालिकाभित्रका सबै नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउनु हो। भौगोलिक कठिनाइलाई विकासको बाधा बन्न नदिई समस्याको प्रकृति र आवश्यकता हेरेर बजेट विनियोजन गर्ने नीति अपनाएका छौं,” अध्यक्ष चिदीले भन्नुभयो।

उहाँका अनुसार सुरक्षित खानेपानीको उपलब्धताले स्वास्थ्य सुधार, सरसफाइ प्रवर्द्धन, समयको बचत तथा जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याउने भएकाले गाउँपालिकाले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ।

माथागढी गाउँपालिकाले वडा नं. १ देखि ८ सम्म विभिन्न स्थानमा खानेपानी आयोजना सञ्चालन गरिरहेको छ। हाल दर्जनौँ खानेपानी योजनामध्ये केही सफलतापूर्वक सम्पन्न भइसकेका छन् भने केही आयोजना निर्माणको अन्तिम चरणमा रहेका छन्। आवश्यकता अनुसार नयाँ मुहान संरक्षण, लिफ्टिङ्ग प्रणाली, पाइपलाइन विस्तार तथा धारा जडानका कार्यक्रमसमेत निरन्तर सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ।

स्थानीय सरकार गठनपछि गाउँपालिकाले आधारभूत सेवामा नागरिकको पहुँच विस्तार गर्ने नीति अनुरूप सडक, स्वास्थ्य, शिक्षा, कृषि र खानेपानी क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै आएको छ। त्यसैको परिणामस्वरूप पहिले खानेपानीको चरम अभाव झेल्दै आएका धेरै बस्तीमा अहिले नियमित रूपमा स्वच्छ खानेपानी पुग्न थालेको छ।

दुर्गम बस्तीमा सम्पन्न भएका यस्ता खानेपानी आयोजनाले केवल पानीको सुविधा मात्र उपलब्ध गराएका छैनन्, स्थानीयको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याएका छन्। दैनिक पानी बोक्न खर्च हुने समय बचत हुनुका साथै सरसफाइमा सुधार, स्वास्थ्य जोखिम न्यूनीकरण र समग्र जीवनस्तरमा सकारात्मक प्रभाव परेको स्थानीयवासीको अनुभव छ।

खानेपानीको दिगो व्यवस्थापन, समान पहुँच र ‘एक घर–एक धारा’ अभियानलाई निरन्तर विस्तार गर्दै माथागढी गाउँपालिकाले आधारभूत सेवामा सबै नागरिकको समान अधिकार सुनिश्चित गर्ने लक्ष्यका साथ आगामी दिनमा पनि यस्ता योजनालाई थप प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय