latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

बुटवल । ‘हाइ प्रोफाइल’को चुनावी मैदान बनेको छ, लुम्बिनी प्रदेश । पूर्वप्रधानमन्त्री, व्यवसायी, डाक्टर, पाइलट तथा नवयुवाहरू प्रतिस्पर्धामा छन्, प्रतिनिधिसभामा छिर्ने आकांक्षासहित ।

अझ केही प्रभावशाली नेताहरूले त टिकटै पाएनन् । लुम्बिनी प्रदेशमा २६ निर्वाचन क्षेत्र छ, जहाँ ५ सय ९९ जना उमेदवार खडा भएका छन् ।

क्षेत्र फेर्दै प्रचण्ड रुकुम पूर्वमा
‘सशस्त्र संघर्ष’का आधार इलाकामा पुगेका छन्, फेर्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । त्यसो त, स्थायी निर्वाचन क्षेत्र बनाउनेमा उनको रुचि पनि देखिँदैन । ‘हेभिवेट’ नेता प्रचण्डसँग प्रतिस्पर्धा गर्न नवयुवाहरू मैदानमा उत्रेका छन् । प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक हुन् ।

उनीसँग नेपाली कांग्रेसबाट कसुमदेवी थापा मगर, एमालेका लीलामणि गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीका लखनकुमार थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्दीप पुन चुनावी मैदानमा छन् ।

उपप्रधानमन्त्री पौडेल रुपन्देही–२ मा निरन्तर
३१ वर्षदेखि एकै क्षेत्र बनाएका छन्, नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल ।  रुपन्देही–२ बाट सांसद बन्दै पटक–पटक मन्त्री बनिसकेका छन् । उनी यो क्षेत्रबाट २०५६ सालयता निरन्तर निर्वाचन लड्ने अनुभवी नेताका रूपमा चिनिन्छन् ।

पौडेलले २०६४ सालयताका चार निर्वाचन लगातार जितेका छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पनि पराजित गरेसँगै उनको चर्चा निकै बढेको थियो ।  पाका नेता पौडेलसँग चुनावी मैदानमा भिड्ने चाहिँ अधिकांश नयाँ अनुहारका छन् । नयाँ मात्रै होइन, जेनजी आन्दोलनपछि नवयुवाहरू चुनावी मैदानमा ओर्लिएका छन् ।

उनलाई कडा टक्कर दिन सक्नेमा नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौड्याल देखिन्छन् ।

साथै नेपाली कम्युनिस्ट पार्टीबाट सुभाष पाण्डे (विश्वदीप), रास्वपाबाट अधिवक्ता सुलभ खरेल, नेकपा माओवादीबाट वीरेन्द्र विश्वकर्मा, राप्रपाबाट कार्भिका थापा, नेपाली जनता दलबाट राजु पौडेल मैदानमा छन् । जो युवा छन् ।

विविध अभियानसँगै चर्चा कमाएका डा. निकोलस भुसाल पनि यही क्षेत्रमा स्वतन्त्र उमेदवार बनेका छन् । यतिमात्रै होइन, ८१ वर्षीय बेलबहादुर कार्की पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।

चुनावी भिडन्तमा महासचिव पोखरेल र सहमहामन्त्री आचार्य 
प्रदेशको राजधानी जिल्ला दाङमा पनि अनुभवी र नयाँ पुस्ताका नेताहरूबीच रोचक भिडन्त हुँदैछ । नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ–२ बाट उमेदवार छन् ।

पोखरेलसँग रास्वपा पार्टीका सहमहामन्त्री विपिन आचार्य, कांग्रेसबाट किरणकिशोर घिमिरेसहित २३ जना भिँड्दैछन् । पोखरेल अघिल्लो निर्वाचनमा पराजित भएका थिए, यही क्षेत्रबाट ।

दाङ– १ मा पटक–पटक सांसद भएका नेपाली कम्युनिस्ट पार्टीबाट मेटमणि चौधरी, नेपाली कांग्रेसका योगेन्द्र चौधरी, नेकपा एमालेका रेवतीरमण शर्मा र नेकपाबाट विद्रोह गरेका लुम्बिनीका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीसँग रास्वपाका देवराज पाठक, राप्रपाका विनय जिसी मैदानमा छन् ।

उद्योगी उमेदवार
विनोद चौधरी नवलपरासी पश्चिम– २ मा नेपाली कांग्रेस उमेदवार हुन् । फोर्ब्सको सूचीमा सूचीकृत नेपालका एकमात्र अर्बपति हुन् चौधरी ।

उनलाई टक्कर दिन राप्रपा उपाध्यक्ष तथा पूर्वसांसद ध्रुवबहादुर प्रधान खडा भएका छन् ।

यस्तै कांग्रेस छाड्दै रास्वपा प्रवेश गरी विक्रम खनाल चुनावमा उत्रिएका छन् । ०७९ मा पनि चौधरीलाई खनालले असहयोग गरेका थिए ।

खाँण, भुसालबेगरको रुपन्देही– ३
रुपन्देही–३ एउटा यस्तो क्षेत्र थियो, जहाँ नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाका प्रभावशाली नेताहरू उमेदवार बन्थे ।  नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण, तत्कालीन नेकपा एमालेका घनश्याम भुसाल र राप्रपाका स्व. दीपक बोहराबीच पटक–पटक प्रतिस्पर्धा हुने गरेको थियो ।

अघिल्लो चोटिका विजेता दीपक बोहराको गत चैतमा निधन भएको थियो । भुसाल एमालेमा छैनन् । खाँणले कांग्रेसबाट टिकट पाएनन् । यो क्षेत्रमा रास्वपाबाट चिकित्सक डा. लेखजङ्ग थापा पनि चुनावी मैदानमा उत्रिएका छन् ।
बाबुको बिरासत थाम्न भन्दै दीपक बोहराका छोरा मैदानमा उत्रिएका छन् ।

दीपक बोहराको निधनपछि छोरा गौरव बुद्ध एयरका सिनियर पाइलटबाट राजीनामा दिँदै राजनीतिमा होमिएका हुन् ।

यस्तै नेपाली कांग्रेसबाट युवा सुशील गुरुङ उमेदवार हुँदै गर्दा कुनै बेला काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन शाहले ‘रोल मोडल’ मान्ने तिलोत्तमाका पूर्वमेयर बासुदेव घिमिरे मैदानमा छन् ।

गुल्मीका दुवै क्षेत्रमा रोचक प्रतिस्पर्धा
गुल्मीको निर्वाचन झनै रोचक हुने देखिन्छ । गुल्मी– १ मा एमालेका नेता तथा निवर्तमान सांसद प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी चुनावी मैदानमा उत्रेका छन् ।  सँगै अघिल्लो निर्वाचनमा डडेल्धुरा पुगी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्दै चर्चित बनेका सागर ढकाल मैदानमा छन् ।

ढकालले रास्वपाबाट मनोनयन दर्ता गरेका हुन् । त्यही क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीमा वैचारिक नेताको छवि बनाएका सुदर्शन बराल मैदानमा छन् ।  त्यसो त, यहाँ ज्ञवाली, भण्डारी र बरालले सामूहिक तस्बिर खिचाउँदै स्वस्थ प्रतिस्पर्धाको सन्देश दिएका थिए ।

गुल्मी–२ बाट एमाले उपाध्यक्ष गोकर्ण विष्ट चुनावी मैदानमा छन् । विष्ट गुल्मीबाट लगातार निर्वाचित नेता हुन् । पूर्वअर्थमन्त्री तथा अनुभवी नेता वर्षमान पुन ‘अनन्त’ नेपाली कम्युनिस्ट पार्टीबाट रोल्पामा उमेदवार छन् । पुन तेस्रो पटक रोल्पाबाट उमेदवार बनेका हुन् ।

यसअघि उनी ०७४ र ०७९ को निर्वाचनमा रोल्पाबाट निर्वाचित भएका थिए । पुनसँग प्रतिस्पर्धा गर्न नेपाली कांग्रेसले अर्थविद् डा. सुदनकुमार ओलीलाई अगाडि सारेको छ भने नेकपा एमालेबाट गोकुलप्रसाद घर्ती मैदानमा छन् ।

उता, पाल्पा–२ बाट चुनावी राजनीतिका अनुभवी सोमप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीबाट उमेदवार बनेका छन् । अघिल्लो पटक निर्वाचन जितेका ठाकुर गैरैले अन्तिममा टिकट पाउँदै चुनावमा होमिएका छन् । उता लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिँदै बाँके–१ बाट कृष्णा केसी (नमुना) ले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट प्रतिनिधिसभाको उमेदवारी दिएकी छन् ।

२०७९ मा तत्कालीन नेकपा माओवादीबाट प्रदेशसभामा निर्वाचित कृष्णाले एक्कासि पार्टी परित्याग गरी जनार्दन शर्माको अगुवाइमा बनेको प्रलोपाबाट उमेदवार बनेकी हुन् ।  माओवादी सशस्त्र युद्धदेखि सक्रिय केसी प्रदेशसभा २०७४ र २०७९ गरी दुई पटक निर्वाचित भएकी थिइन् । उनी प्रदेश सरकारमा मन्त्रीसमेत भइसकेकी हुन् ।

यस्तै बाँके–३ बाट नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुन उमेदवार बनेका छन् ।

कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ बाट पत्रकार चिन्ता परियार चुनावी मैदानमा उत्रेका छन् । पत्रकारिता पृष्ठभूमिबाट लुम्बिनीमा उमेदवार भएका परियार पहिलो हुन् । उनी स्वतन्त्रबाट मैदानमा ओर्लिएका छन् ।

यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत भइसकेका अर्थविद् डा. गोविन्दराज पोखरेल प्युठानबाट उमेदवार छन् । अघिल्लो चुनावमा राम्रै पकड जमाएका एमाले नेता सूर्य थापा फेरि दोहोरिने दाउमा छन् ।

नेपाली कम्युनिस्ट पार्टीबाट कृष्णध्वज खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुसान्त वैदिक, राष्ट्रिय जनमोर्चाबाट तिलक जीसी, नेकपा (माओवादी केन्द्र) बाट सीता विक (सम्झना) चुनावी मैदानमा छन् ।

लुम्बिनी प्रदेशमा ५ सय ९९ उमेदवार छन्, ५६ जना महिला छन् । निर्वाचन कार्यालय लुम्बिनी, दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार, सबैभन्दा धेरै उमेदवार रुपन्देहीमा १५७ जना र सबैभन्दा कम रुकुम पूर्व र रोल्पामा १२–१२ जना उमेदवार छन् । पुजा पन्थी, बाह्रखरीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय