पाल्पा व्यापार संघको आठौं साधारणसभा शनिबार तानसेनमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले साधारणसभाको उद्घाटन गर्दै जिल्लाको विकासका लागि एकीकृत व्यवसायिक योजना अनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले व्यवसायीक उत्पादनलाई विश्व बजारमा पुर्याउन डिजिटल माध्यमको प्रयोग गर्नु सुझाव दिए । मन्त्री सारुले प्रदेश सरकारले उत्पादनका आधारमा अनुदानको कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको बताउदै तीनै तहका सरकारसंग समन्वय गरेर अघि बढ्न व्यापरिक संघसंस्थाले भूमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनमा उद्योग, व्यापारको अवस्था कमजोर भयो, आर्थिक कारोबार कम भयो भन्ने निसाशावादी सोचप्रति सरकार चिन्तीत रहेको बताए । तानसेनको विकास कृषि र पर्यटनबाट मात्र सम्भव रहेको एकिन गरेर आवधिक योजना निर्माण गरिएको जानकारी गराउदै तानसेनमा पर्यटकको संख्यामा तुलनात्मक रुपमा वृद्धि रहेको तर आतिथ्यताको स्तर वृद्धिको खाँचो रहेको बताए। संघका अध्यक्ष विष्णु बहादुर कार्कीले आर्थिक विकास, व्यवसायिक हक–हितको संरक्षण तथा निजी क्षेत्रको प्रवद्र्धनका लागि क्रियाशील भएर काम गदर्दै आएको जानकारी दिए । अध्यक्ष कार्कीले हाल संघमा आठ सय बढी सदस्यहरु आबद्ध रहेको बताउदै उनीहरुको व्यवसायिक हितमा निरन्तर खटेको दावी गरे ।
देवदह व्यापार संघका निर्वतमान अध्यक्ष कोषबहादुर गुरुङले पाल्पा व्यापार संघले जिल्लाको व्यवसायीहरुको हकहित र आर्थिक विकासमा गरेको योगदान महत्वपूर्ण रहेको बताउँदै सरकारको तीन खम्बे अर्थ नीति अन्तरगतको एउटा बलियो खम्बा निजी क्षेत्र रहेकोले सोही अनुसार सरकारले पनि सहयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाली कांग्रसका उपसभापति झपेन्द्र गहिरे, नेकपा एमालेका उपाध्यक्ष बिमल काफ्ले, नेपाली कम्युनिष्ट पार्टीका नेता यादवबहादुर रायमाझी, रास्वपाका उपसभापति सुमन गैरे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, संघका संस्थापक अध्यक्ष चिरन्जीवी पोखरेल, निर्वतमान अध्यक्ष बामदेव बस्याल, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, युनाइटेड मिसन अस्पतालका निर्देशक डा.रचेल कारखलगायतले शुभकामना व्यक्त गर्दै निजी क्षेत्रलाई चलायमान गराउन स्थानीय सरकार गम्भीर बन्नुपर्ने बताएका थिए ।
साधारणसभा संघका वरिष्ठ उपाध्यक्ष कमल ढकालको स्वागत, महासचिव तुलबहादुर अधिकारीको संचालन तथा अध्यक्ष कार्कीको अध्यक्षतामा चलेको थियो।












