पाल्पाको सत्यवतीमा ५ दिनसम्म चलेकाे चिच्च्याएर बर माग्ने धार्मिक मेला सकिएकाे छ। तिनाउ गाउँपालिका–४, सत्यवतीमा अनौठो चिच्याएर वर माग्ने मेलामा सत्यवती तालको परिक्रमा गरी भक्तजनले सत्यवती बज्यैसँग चिच्याउँदै वर माग्ने गरिन्छ ।
देशका विभिन्न जिल्लासँगै भारतबाट समेत आएका दर्शनार्थीहरूले मेलालाई अझै रौनक बनाएका थिए ।कात्तिके पूर्णिमाको अवसरमा हरेक वर्ष यो मेला आयोजना गरिँदै आएको हो। यसपालि कात्तिके पूर्णिमा कात्तिक महिनामै परेकाले “महाजोग” परेको भन्दै ५ दिनसम्म मेला सञ्चालन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिएका छन्।
किंवदन्ती अनुसार, परापूर्वकालमा सत्यवती बज्यै घना जंगलको बीचमा तपस्या गरेर शक्ति प्राप्त गरेकी थिइन्। तर बज्यै कान नसुन्ने भएकाले भक्तजनले चिच्याएर वर माग्ने परम्परा चलनमा आएको हो।भक्तजनको विश्वास छ-सत्य मनले चिच्याएर मागिएको वर सत्यवती बज्यैले पूरा गरिदिन्छिन्।
मेलाको विशेषता भनेकै तालको किनारमा बाँस, निगालो वा सालको लिंगो गाड्ने, मध्यरातमा चिच्याएर वर माग्ने र बिहान सोही लिंगो पहिचान गरी पूजा गर्ने चलन हो।



सत्यवती मन्दिरको किनारमा ताल रहेकाले भक्तजनहरूले तालको वरिपरि घुम्दै चिच्च्याएर वरदान माग्ने गर्दछन्। सत्यवती मन्दिर नजिकै तालमा कार्तिक शुल्क चतुरदर्शीको दिन सत्यवती बजैलाई सम्झेर बासको लिङ्गो गाडी चिच्च्याएर वरदान माग्ने र अर्को दिन बिहान उज्यालो नहुँदै पूर्णिमाको दिन गाडेको लिङ्गो उठाएर घरमा ल्याउने प्रचलन रहँदै आएको छ। तर केही वर्षदेखि हरिबाेधनी एकादशीदेखि पूर्णिमासम्म दिनरात मेला लाग्दै आएको छ। सत्यवती बज्यै धार्मिक मेलामा ३ लाखभन्दा भक्तजनहरू आएर चिच्च्याएर बर मागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर गाँहाले बताए।
भक्तजनले मागेका कुराहरू सत्यवती बजैले पुरा गरिदिने जनविश्वासको आधारमा राँगा, कुखुरा, हास, बोकाको बली दिने, त्यतिकै जंगलमा छाडिदिने प्रचलन रहँदै आएको छ। सत्यवती मन्दिरमा चिच्च्याएर वरदान माग्न पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, कास्की, चितवन, दाङ, पर्वत बागलुङ, म्याग्दीका साथै भारतको गोरखपुर, लखनउ लगायतका क्षेत्रबाट भक्तजन आउने गरेका छन्। पूर्णिमाको रात १२ बजेसम्म चल्ने यो मेला धार्मिक आस्था र अनौठो संस्कृतिको संगमका रूपमा देशकै चर्चित मेलामध्ये एक मानिन्छ। सत्यवती बजैसँग चिच्च्याएर मागेको वरदान पुरा हुने भन्दै टाढाबाट भक्तजनहरू मन्दिरमा पुग्ने गरेका छन्। सत्यवती बजैसँग रातिमा मात्र चिच्च्याएर बरदान माग्ने प्रचलनलाई पछिल्लो समय दिउँसो पनि माग्ने गरिएको छ।








