
गोपाल प्रसाद वश्याल
तानसेन, असार २५
पश्चिम नेपालको शैक्षिक हबका रूपमा रहेको पाल्पाको शैक्षिक पुनर्जागरणका लागि संघ, प्रदेश र स्थानीय तीनवटै तहका सरकारहरू तथा सरोकारवालाहरू सबैको ध्यान जानुपर्नेमा आज तानसेनमा आयोजित एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।



जिल्लाको सदरमुकाम तानसेनस्थित त्रिभुवन विश्वविद्यालयभन्दा जेठो त्रिभुवन बहुमुखी क्याम्पसको ७१ औं वार्षिकोत्सव समारोहका सन्दर्भमा आयोजित सभाका अधिकांश वक्ताहरूले राज्यका तर्फबाट शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने, क्याम्पसको भौतिक सम्पत्तिको सही सदुपयोग गर्नुपर्ने, विद्यार्थी नियमितता बढाई सिकाइ एवम् नतिजा बढाउनुपर्ने, बजारको आवश्यकताअनुसारका कार्यक्रम सञ्चालन गर्नुपर्ने, प्राध्यापकहरूको क्षमता विकास र विद्यार्थी कल्याणका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताए । क्याम्पसको बृहत्तर योजना निर्माण गरी विभिन्न तहका सरकार एवम् दातासँग प्रस्तावना पठाउनुपर्ने सुझाव पनि वक्ताहरूले दिएका छन् । वक्ताहरूले पाल्पाको समग्र विकास हुन सकेमा त्रिभुवन क्याम्पसका लागि पनि सहयोगी हुने धारणा राखेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य ठाकुर गैरै, लुम्बिनी प्रदेश सभा अध्यक्ष तुलाराम घर्तीमगर, राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरे, तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तोयनाथ सुवेदी, नेपाली काँग्रेसका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा माओवादी केन्द्रका अध्यक्ष राजेन्द्र बि क, राप्रपा अध्यक्ष डुल बहादुर कुँवर, नेकपा एकिकृत समाजवादीका सचिव जगन्नाथ नेपाल, राजमो अध्यक्ष विशाल दर्लामी, प्राध्यापक संघका सभापति खिमबहादुर राना, कर्मचारी संघका अध्यक्ष डुकुल ढकाल, उद्योग बाणिज्य संघ पाल्पाका अध्यक्ष शैलेन्द्र भट्टराई, ब्यापार संघ पाल्पाका अध्यक्ष विष्णु कार्की, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना र स्ववियु सभापति मिलन घर्तीमगर लगायतले मन्तब्य राख्नुभएको थियो । आजै क्याम्पसका पूर्व प्रशासक स्व. गणेश गुभाजुको स्मृतिमा उहाँका श्रीमति एवम् छोराछोरीबाट गणेश स्मृति छात्रबृत्ति स्थापना गरी रू १ लाख ११ हजार १११ रूपैयाँको चेक हस्तान्तरण गरिएको छ ।
क्याम्पस प्रमुख डा. टंक पन्थले २५२८ विद्यार्थी रहेको त्रिभुवन क्याम्पसको भौतिक सुविधा, प्राध्यापक तथा कर्मचारीको उचित ब्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालय स्वायत्त रहेको बुझाइ रहे तापनि कतिपय शैक्षिक कार्यक्रमहरू क्याम्पसको निजी ब्यवस्थापनमा सञ्चालन गर्नुपर्ने बाध्यता रहेकाले सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
क्याम्पस प्रमुख डा. पन्थको अध्यक्षतामा चलेको सभामा प्राध्यापकहरूलाई सम्मान, विद्यार्थीहरूलाई विभिन्न छात्रबृत्ति, वार्षिकोत्सवका अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगिताका विजयीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । सहायक क्याम्पस प्रमुख श्रीचन्द्र शाक्यको स्वागत र अर्का सहायक क्याम्पस प्रमुख चन्द्र बहादुर थापाले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख सन्तोष खनालले गर्नुभएको थियो ।