latest
पुष्कर शाहसहित २०० साइकलयात्री पाल्पा आउँदै, मंसिर ५ देखि हेरिटेज राइड  ||    विशेषज्ञ चिकित्सकदेखि एनामली स्क्यानसम्म: २४ घण्टे सेवा लाइफकेयर सञ्चालन  ||    बर्तुङ बहुउद्देश्यीय सहकारीको आठौँ वार्षिक साधारणसभा सम्पन्न  ||    २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||   
मंगलबार , मंग्सिर २, २०८३

पाल्पाको पर्यटन प्रवर्द्धन गर्न २०० साइकलयात्रीसहित ‘हेरिटेज राइड–२०८३’ हुँदै

पूर्वी पाल्पाका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्य, विश्व साइकलयात्री पुष्कर शाह पनि सहभागी हुने।

पाल्पा । पाल्पाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘हेरिटेज राइड (सम्पदा यात्रा)–२०८३’ आयोजना हुने भएको छ। पाल्पा जिल्ला साइक्लिङ संघको आयोजनामा आगामी मंसिर ५ र ६ गते सञ्चालन हुने दुईदिने साइकल यात्रामा देशका विभिन्न जिल्लाबाट करिब २०० जना साइकलयात्री सहभागी हुने भएका छन्।

आयोजकका अनुसार यात्रामा ११ जना महिलासहित १६ देखि ६१ वर्ष उमेर समूहका साइकलयात्री सहभागी हुनेछन्। काठमाडौं, रूपन्देही, झापा, लमजुङ, स्याङ्जा र कास्कीलगायत जिल्लाबाट सहभागी आउनेछन्। विश्व साइकलयात्री तथा सगरमाथा आरोही पुष्कर शाहको समेत यात्रामा सहभागिता रहनेछ।

हेरिटेज राइडको यो तेस्रो संस्करण हो। यसअघि पहिलो संस्करणमा तानसेन र पश्चिम पाल्पाका विभिन्न ऐतिहासिक तथा धार्मिक स्थलको भ्रमण गरिएको थियो। दोस्रो संस्करणमा ‘सम्पदादेखि सम्पदासम्म’ भन्ने नारासहित रानीमहल दरबारदेखि तानसेन दरबारसम्म प्रतियोगितात्मक साइकल यात्रा आयोजना गरिएको थियो।

यस वर्ष भने पूर्वी पाल्पाका पर्यटकीय तथा ऐतिहासिक गन्तव्यलाई केन्द्रमा राखेर यात्रा सञ्चालन गरिने पाल्पा जिल्ला साइक्लिङ संघका सचिव विज्ञान बज्राचार्यले जानकारी दिनुभयो।

मंसिर ५ गते बिहान ६ः३० बजे तानसेनको टुँडिखेलबाट सुरु हुने यात्रा नारायणटोल, असनटोल, तानसेन दरबार, भगवती मन्दिर, आर्यभञ्ज्याङ, चिदीपानी, हुमिन, पूर्वखोला र मित्याल हुँदै निस्दी गाउँपालिकास्थित काउलेडाँडा सामुदायिक होमस्टे पुग्नेछ। यात्राको दोस्रो दिन काउलेडाँडाबाट कीर्तिपुर हुँदै रामपुर पुगेर दिउँसो ४ बजे समापन गरिने कार्यक्रम रहेको छ।

पाल्पामा पर्यटनको प्रचुर सम्भावना भए पनि पर्याप्त प्रचारप्रसारको अभावमा धेरै ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदा ओझेलमा परेको आयोजकको भनाइ छ। विशेषगरी बगनासकाली, रम्भा, पूर्वखोला, निस्दी र रामपुर क्षेत्रका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु यस वर्षको यात्राको मुख्य उद्देश्य रहेको संघका अध्यक्ष रूपेश महर्जनले बताउनुभयो।

उहाँका अनुसार साइकल यात्राले पर्यटन प्रवर्द्धनसँगै स्वस्थ तथा वातावरणमैत्री जीवनशैलीलाई प्रोत्साहन गर्नेछ। साथै, स्थानीय समुदायको आर्थिक गतिविधि बढाउन र पर्यटन व्यवसायलाई चलायमान बनाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। यात्राका क्रममा बाटोमा पर्ने धार्मिक, ऐतिहासिक, पुरातात्त्विक तथा प्राकृतिक सम्पदाको अवलोकनसमेत गरिनेछ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनाले हेरिटेज राइड पाल्पाको पर्यटनलाई नयाँ पहिचान र गन्तव्यसँग जोड्ने प्रभावकारी माध्यम बन्न सक्ने बताउनुभयो। उहाँले पर्यटन प्रवर्द्धन केवल प्रचारप्रसारमा सीमित नभई स्थानीय सम्पदा, संस्कृति, इतिहास र मौलिक पहिचानलाई पर्यटकसँग जोड्ने अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

साइकल यात्रामार्फत पाल्पाका ओझेलमा परेका गाउँबस्ती तथा पर्यटकीय स्थलको पहिचान गराउन, स्थानीय उत्पादन, कला र संस्कृतिको प्रवर्द्धन गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो। यस्ता अभियानले पर्यटनसँगै स्थानीय रोजगारी र आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै उहाँले हेरिटेज राइडलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय