तानसेनमा २४ घण्टे स्वास्थ्य सेवासहित लाइफकेयर पोलिक्लिनिक सञ्चालनमा, विशेषज्ञ उपचार र आधुनिक परीक्षणको सुविधा एकै ठाउँमा
पाल्पा । स्वास्थ्य मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो । तर सामान्य स्वास्थ्य समस्या होस् वा आकस्मिक अवस्था, समयमै सहज र गुणस्तरीय उपचार पाउनु अझै पनि धेरैका लागि चुनौतीपूर्ण छ । विशेषगरी रातिको समयमा आकस्मिक स्वास्थ्य समस्या देखिँदा उपचारका लागि भौंतारिनुपर्ने अवस्थालाई मध्यनजर गर्दै पाल्पाको तानसेनमा २४ घण्टे स्वास्थ्य सेवासहित लाइफकेयर पोलिक्लिनिक प्रा.लि. सञ्चालनमा आएको छ ।



तानसेन नगरपालिका–४, सिलखानटोलस्थित सिटिजन बैंक अगाडि स्थापना गरिएको पोलिक्लिनिकको उद्घाटन पाल्पा क्षेत्र नं. २ का संघीय सांसद माधव थापाले गर्नुभएको हो ।
पोलिक्लिनिकले २४ सै घण्टा आकस्मिक सेवा, बहिरङ्ग (ओपीडी), प्रयोगशाला परीक्षण, डिजिटल एक्स–रे, ईसीजी, भिडियो एक्स–रे, सामान्य शल्यक्रिया तथा सर्वसुलभ फार्मेसी सेवा उपलब्ध गराउने जनाएको छ । बिरामीलाई उपचार तथा स्वास्थ्य परीक्षणका लागि विभिन्न स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम गर्दै एउटै छानामुनि विविध स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित आधुनिक उपकरण र दक्ष स्वास्थ्य जनशक्तिको व्यवस्था गरिएको सञ्चालकले बताएका छन् ।
यहाँ दैनिक विशेषज्ञ चिकित्सकबाट जनरल फिजिसियन, हाडजोर्नी, नशा तथा मेरुदण्ड, बाथरोग, स्त्री तथा प्रसूति, नवजात शिशु तथा बालरोग, मुटुरोग, दन्त तथा मुखरोग, मनोरोग, छाला तथा यौनरोग र नाक, कान, घाँटीसम्बन्धी उपचार सेवा उपलब्ध हुनेछ ।
त्यस्तै मुटुको इको, पेटको इन्डोस्कोपी तथा गर्भवती महिलाका लागि रेडियोलोजिस्टमार्फत ३डी/४डी एनामली स्क्यानजस्ता विशेष परीक्षणको सुविधासमेत उपलब्ध गराइने पोलिक्लिनिकले जनाएको छ ।
पोलिक्लिनिकका चिकित्सक डा. चुरामणि रेग्मीले स्वास्थ्य सेवालाई सहज, सुलभ र समयमै नागरिकको पहुँचमा पुर्याउनु संस्थाको मुख्य उद्देश्य रहेको बताउनुभयो । सामान्य स्वास्थ्य परीक्षणदेखि विशेषज्ञ चिकित्सकको परामर्श, आधुनिक प्रयोगशाला परीक्षण र आवश्यक उपचार एउटै स्थानबाट उपलब्ध गराउने प्रयास गरिएको उहाँको भनाइ छ ।
रोग लागेपछि मात्र उपचार खोज्ने प्रवृत्तिभन्दा समयमै स्वास्थ्य परीक्षण गर्ने बानी विकास गर्नुपर्नेमा जोड दिँदै डा. रेग्मीले नियमित स्वास्थ्य परीक्षण र सामान्य स्वास्थ्य सचेतनाले धेरै जटिल रोगबाट बच्न सकिने बताउनुभयो । उहाँले आफ्नो तथा परिवारको स्वास्थ्यप्रति बेलैमा सचेत रहनसमेत सबैलाई आग्रह गर्नुभयो ।
उद्घाटन समारोहमा संघीय सांसद माधव थापाले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सरकारको गम्भीर चासोको विषय भएको बताउनुभयो । स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनाले उनीहरूलाई आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना गर्ने र त्यसको प्रत्यक्ष असर आम नागरिकको स्वास्थ्य सेवामा पर्ने उहाँको भनाइ थियो ।
स्वास्थ्य सेवा निर्बाध रूपमा सञ्चालन हुन स्वास्थ्यकर्मीले सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने उल्लेख गर्दै उहाँले चिकित्सकमाथि हुने आक्रमण रोक्न सरकारले कानुनी व्यवस्था गरेको जानकारी दिनुभयो । स्वास्थ्यकर्मी सुरक्षित भए मात्रै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण बन्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य वीरबहादुर राना, तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न वडाका अध्यक्ष, समाजसेवी तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।
पोलिक्लिनिकका चिकित्सक डा. पुरन श्रेष्ठले तानसेनमा २४ घण्टे स्वास्थ्य सेवासहित विशेषज्ञ उपचार र आधुनिक परीक्षणको सुविधा विस्तार हुनु स्थानीय स्वास्थ्य सेवाका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । विशेषगरी आकस्मिक स्वास्थ्य समस्या भएका बिरामी र विशेषज्ञ चिकित्सकको सेवा लिन चाहने नागरिकलाई यसले सहजता प्रदान गर्ने उहाँको विश्वास छ ।
२४ घण्टे आकस्मिक सेवा, विशेषज्ञ चिकित्सकको परामर्श र आधुनिक स्वास्थ्य परीक्षणको सुविधा एउटै छानामुनि उपलब्ध गराउने लक्ष्यसहित सञ्चालनमा आएको लाइफकेयर पोलिक्लिनिकले तानसेनसहित आसपासका क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवामा थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।










