विष्णु प्रसाद घिमिरे । पाल्पा ।
सामाजिक श्रोत विकास केन्द्र नेपाल पाल्पाको ३१ औं साधारणसभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार संस्थाको सभाहलमा आयोजित कार्यक्रममा आ.व. २०७९।८० को सामाजिक परीक्षण तथा वार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती बसन्तले सस्थाले नागरिक समाजको भुमिका निर्वाह गरेको बताउनुभयो । ‘समाज रुपान्तरण गर्ने अभियानमा हामी सबै जुटेका छौं । यो अभियानलाई सरकार संगै गैरसरकारी क्षेत्रहरुले पनि साथ दिएका छन् ।’ सभामुख घर्तीले भन्नुभयो, समाज रुपान्तरणको महान अभियानमा सामाजिक श्रोत विकास केन्द्र नेपालको ठूलो योगदान छ । सभामुख घर्तीले देश संघियतामा गएसंगै समाजमा राम्रो र नराम्रो दुवैखालका परिवर्तनहरु देखिएको उल्लेख गर्दै शिक्षा जस्तो महत्वपूर्ण विषयलाई समाज रुपान्तरणको संवाहक बनाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले अलिहेको शिक्षा सैदान्तिकमा केन्द्रित रहेको बताउदै आजको आवश्यकता व्यवहारिक शिक्षा भएको उल्लेख गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले सामाजिक श्रोत विकास केन्द्र नेपालले लामो समयदेखी शिक्षा, खानेपानी जस्ता महत्वपूर्ण विषयमा काम गरेको बताउदै नेपाली समाजको रुपान्तरणमा गैरसरकारी क्षेत्रको भुमिकालाई भुल्न नहुने बताउनुभयो । उहाँले अवको बाटो आर्थिक रुपान्तरण भएकोले सरकारी र गैरसरकारी क्षेत्रहरु मिलेर आर्थिक रुपान्तरणमा लाग्न अनुरोध गर्नुभयो । गैरसरकारी क्षेत्र र स्थानीय सरकारसंगको समन्वयमा कतै दरार देखिएको स्मरण गर्दै, खनालले आफुले समन्वयकारी भुमिका खेल्ने बताउनुभयो ।


कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक चोपलाल गिरीले गत आर्थिक वर्षमा सस्थाले एक्सन एड नेपाल, हेफर प्रोजेक्ट नेपाल र स्थानीयतहहरु संगको सहकार्यमा सातवटा परियोजनाहरु संचालन भएको जानकारी दिनुभयो । सस्थाले एक्सन एड नेपाल संगको सहकार्यमा स्थानीय अधिकार कार्यक्रम, विद्यालय भवन निर्माण परियोजना, कोभिड रेस्पोन्स परियोजना र युवा स्वयसेवक परिचालन परियोजना संचालन गरेको थियो । त्यसैगरी हेफर प्रोजेक्ट नेपालसंगको सहकार्यमा भिटा कार्यक्रम, रुरुक्षेत्र गाउँपालिका र कालीगण्डकी गाउँपालिकासंगको सहकार्यमा कृषि तथा पशु उद्यमशिलता विकास परियोजना संचालन गरेको थियो । संस्थाले गएको आर्थिक वर्षमा ५ करोड ७७ लाख २० हजार १ सय ३८ रुपैया वरावरको परियोजनाहरु संचालन गरेको थियो । कार्यकारी निर्देशक गिरीले २०५० सालदेखी सस्थाले अनवरत रुपमा समाज रुपान्तरणको कार्य गरेको बताउनुभयो ।
कार्यक्रममा पिताम्बर बस्याल, शिव बस्याल, प्रकाश थापा, दिपक विश्वकर्मा, सृजना गैरेले गएको आर्थिक वर्षमा संचालन भएका सातवटै परियोजनाहरुको आम्दानी, खर्च तथा संचालन भएका क्रियाकलापहरुको वारेमा प्रस्तुती गर्नुभएको थियो ।
पत्रकार विष्णु घिमिरेले सामाजिक परीक्षणको प्रतिवेदन प्रस्तुत गर्दै सस्थाले गएको आर्थिक वर्षमा सामाजिक परिचालनको माध्यमबाट लक्षित समुदायको सचेतना र आम्दानी बृद्धीमा महत्वपूर्ण भुमिका खेलेको उल्लेख गर्नुभयो । लक्षित वर्गले आम्दानी बृद्धी, बचत र सामाजिक पुँजी बढाएका छन् । वालविवाह अन्त्यको लागि ३ वटा टोलहरु घोषणा उन्मुख छन् । खानेपानीको पँहुचबाट महिलाहरुको कार्यवोझ घटाउन सहयोग, सार्वजनिक शिक्षाको गुणस्तर बृद्धीका लागि १९ बुँदे पाल्पा घोषणापत्र, युवाहरुको नेतृत्व विकासमा महत्वपूर्ण भुमिका खेलेको प्रतिवेदनमा औल्याइएको छ ।
कार्यक्रममा सस्थाका पूर्व अध्यक्ष मिना जि.सी., युवा अभियन्ता मिन राना, सिता खराल, गिता गिता गैरेले सस्थाले युवाहरुको क्षमता विकास, शिक्षामा सुधार, खानेपानीमा सहज पँहुच लगायतका कार्यहरु गरेको उल्लेख गर्दै, कतिपय परियोजना सकिएका क्षेत्रहरुमा समेत स्वतस्फूर्त रुपमा सामाजिक परिचालनका कार्यहरु भएको बताउनुभयो । कार्यक्रम संस्थाका सचिव कर्ण बहादुर कुमालको संचालन र सस्थाका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय