
बगनासकाली सहकारीमा आवद्ध अधिकांश सदस्यहरुको अहिले मुख्य पेशा कृषि र पशुपालन रहेको छ । केही वर्ष अगाडी सम्म बचत र ऋणको मात्र कारोवार गर्दै आएका यहाँका सदस्यहरु अहिले भने आत्मनिर्भर र व्यवसायिक बन्दै जान थालेका छन् । चार वर्ष अगाडी मात्रै संचालनमा आएको सहकारीले सदस्यहरुलाई आत्मनिर्भर र व्यवसायिक बनाउने विभिन्न कार्यक्रमहरु संचालन गर्न थालेपछी सहकारीमा आवद्ध भएकाहरु कृषि र पशुपालन मार्फत स्वरोजगार बनेका हुन् । यसै सन्र्दभमा पत्रकार विष्णु घिमिरेले सहकारीका अध्यक्ष कृष्ण भुसालसंग सहकारीको सफलताका विषयमा कुराकानी गर्नुभएको छ । प्रस्तुत छ, संक्षिप्त कुराकानी ।
प्रश्न ः विभिन्न सहकारीहरुलाई एकिकरण गरी एउटै सहकारी बनाउनुपर्छ भन्ने सोंच कसरी आयो ?



यो क्षेत्रमा धेरैवटा सहकारी संस्थाहरु छरिएर रहेका थिए । सानो सानो समूहमा टोल टोलमा सहकारी थिए, अधिकांशले बचत र ऋणको मात्रै कारोवार गर्दै थिए । त्यतीवेला हामीलाई के सोच आयो भने ती सबै छरिएर रहेका सहकारी संस्थाहरुलाई एकिकृत गर्न सकियो भने ठूलो सहकारी बनाउन सकिन्छ, धेरै कामहरु गर्न सकिन्छ भन्ने अवधारणा आयो । तत्कालिन अवस्थामा स्व. डिल्लीराम गैरे, गणेश बस्याल, मोतिलाल बस्याल, भगवती घिमिरे, कमलराज तिमिल्सिेना लगायतका धेरै साथीहरुले निकै पहल गर्नुभयो । र हामीले धेरै वटा सहकारीहरु संग पटक पटक छलफल गरयौ र अन्ततः तीनवटा सहकारीलाई एकै ठाउँमा ल्याउन सफल भयौं । २०७६ साल असोजमा एकिकृत गरी बगनासकाली बहुउदेश्यिय सहकारी गठन गरयौं ।
प्रश्न ः तपाईहरुले सदस्यहरुलाई आत्मनिर्भर र उद्यमशिल बनाउन के कस्ता कार्यक्रमहरु संचालन गर्नुभयो ?
हामीले तीनवटा सहकारीलाई एउटै बनाएपछि हामीसंग कारोवार रकम, कर्मचारी, भौतिक अवस्था राम्रो भयो । त्यसपछी हामीले के सोच्यौ भने, अव हामीले बचत र ऋणको मात्रै कारोवार गर्ने होइन, विदेश गएका श्रीमानले घर पठाएको पैंसाले मात्रै बचत गरेर हुदैन, बचत गर्नका लागि कमाउनुपर्छ भन्ने सोच आयो । कसरी कमाउने त भन्दा कृषि र पशुपालनको माध्यमबाट सकिन्छ भन्ने लाग्यो । र हामीले यो क्षेत्रमा विगत लामो समयदेखी संचालन हुदै बन्द हुदै गरेको दुधको उत्पादन र वजारिकणलाई व्यवस्थित गर्ने योजना बनायौं । विभिन्न सरकारी तथा गैरसरकारी सस्थाहरु संग सहयोग माग्यौ र भैसीपालनको पकेट कार्यक्रम सुरु गरयौं । हामीले यहाँ भैसीपालनको लागि भैसी खरिदमा सहयोग, विभिन्न उपकरणहरु पानी राख्ने ड्रम देखी, दुध वेच्ने क्यान सम्म सदस्यहरुलाई सहयोग गरयौं । गोठ सुधार, निर्माण, चापकटर जस्ता धेरै क्षेत्रमा सहयोग गरी डेरी स्थापना भयो । अहिले हामीले सहकारीमै डेरी र तानसेनमा विक्री कक्ष राखेर वजारिकरण गरेका छौं ।
त्यस्तै अन्य क्षेत्रहरुमा पनि काम गरेका छौं । अकबरे खुर्सानी र कुरिलो खेती कार्यक्रम, अदुवा प्रर्वद्धन लगायतका कृषिजन्य उत्पादन र वजारिकणमा काम गरेका छौं । अहिले हाम्रा सदस्यहरुले यस्ता कृषि उपज उत्पादनबाट वर्षमा करोड वढीको रकम कमाउनुभएको छ । उक्त रकम बचत समेत गर्नुभएको छ । सहकारीमा एक हजार पाँचसय वढी शेयर सदस्य आवद्ध छन् । वार्षिक ७ करोड हाराहारीको कारोवार भएको छ । सहकारीले नियमित, ऐच्छिक, कारोवार, दम्पती, जेष्ठ, वाल, सस्थागत, आवधिक, पर्व र युवा वचत गरी १० प्रकारका वचतहरु संकलन गर्दै आएको छ । यहाँ ९ सय वालवालिकाहरुले बाल बचत गर्ने गरेका छन् । आपतकालिन देखी दैवीप्रकोप ऋणसम्मको लगानी हुने गरेका छन् ।
प्रश्न ः यो सहकारी गठनको चार वर्ष मात्रै भएको छ, यो छोटो अवधीमै विभिद कार्यक्रमहरु संचालन गर्न सफल पनि हुनुभएको छ, आगामी योजना कस्ता छन् ?
पहिलो त हामीलाई के थाहा छ भने बचत गर्नका लागि कमाउनै पर्छ । कमाउनका लागि विदेश वा अन्य क्षेत्रबाट मात्रै कमाएर सहकारीमा बचत गर्ने वानीलाई सुधार गरी यहीबाट कमाउने र यही बचत गर्ने अवधारणा नै हाम्रो छ । हामीले सदस्यहरुलाई कमाउन सिकाउछौं । कृषि र पशुपालनमा लाग्न सहयोग गर्छौ, हामीले उहाँहरुको उत्पादनलाई वजारसम्म पुरयाउन सहयोग गर्छौ । अहिले हामीसंग सहकारीकै ढुवानी साधन पनि छ, जसले यहाँका सदस्यहरुको उत्पादनलाई वजारमा विक्री गर्न र वजारबाट दाना, विउ लगायतका सामाग्रीहरु ढुवानीमा सहयोग गरेको छ । आगामी दिनहरुमा पनि हामी अझै व्यवसायिक कार्यक्रमहरु संचालन गछौं । विस्तारै नेपालमै काम गर्नुपर्छ, यहीबाट नै आम्दानी लिन सम्भव छ भन्नेगरी कामहरु गर्ने हामीसंग योजना छन् ।
हामीले सदस्यहरुलाई विभिन्न प्राविधिक शिक्षालयहरुको समन्वयमा प्राविधिक तालिमहरु, जेटिए, अचार बनाउने लगायतका कार्यक्रमहरु संचालन गरेका छौं । यसले हाम्रो क्षेत्रमा प्राविधिकहरु उत्पादन गर्न सहयोग पनि गरेको छ । आगामी दिनमा अझै प्राविधिक ज्ञानहरु सिकाएर वढी उत्पादन र वढी नाफाको नीति अनुसार नै हामीले काम गर्दै जानेछौं ।
प्रश्न ः तपाईको नेतृत्वको कार्यकाल पनि सकिदैछ, पुनः अध्यक्ष बन्नुपर्छ भन्ने पनि सुनिएको छ, के छ तपाईको चाहना ?
उतीवेला सहकारी गठनको लागि पहल गर्नेमध्येमा म पनि एउटा थिए । त्यसैलै होला सदस्यहरुले मलाई नै अध्यक्ष बनाउन पहल गर्नुभयो । यो चार वर्षको अवधीमा हाम्रो टीमले निकै मेहनत गरेर काम गरेको छ । म मात्रै होइन हाम्रो सबै सदस्यहरुले उत्तिकै काम गर्नुभएको छ । मैले आफ्नो जिवनकालमा कतारमा ५ वर्ष विताएर फर्के, त्यहाँ मैले निकै मेहनत र संघर्ष गरेको थिए । त्यस्तै अर्को मेहनत र संघर्ष यहि सहकारीमा गरेको छु । अ अध्यक्ष भए पनि कहिलेकाँही दुध विक्री नहुदा वाइकमा राखेर आफै घरघर पुगेर बेचेको छु । सदस्यहरुको कुरिलो र खुर्सानीलाई वजारमा घुमेर विक्री गरेको छु । मैले जे गरे, सदस्यहरुको उत्पादनलाई खेर जान दिनुहुन्न भनेर काम गरे । सायद त्यसैले होला अहिले पुन अध्यक्षमा मलाई कतिपयले बस्न भन्नुभएको छ । मैले उहाँहरुको प्रस्तावलाई स्वीकार गर्नुपर्छ भन्ने लागेको छ । सबैको सहयोग र सद्भाव रह्यो भने पुनः एकपटक जिम्मेवारी लिन तयार छु ।
हवस्त यो समय र संवादका लागि यहाँलाई धन्यवाद ।
धन्यवाद तपाईलाई पनि सहकारीको अहिलेसम्मको अवस्था र भावी कार्यक्रमको वारेमा हाम्रो कुरा राख्न हामीलाई समय दिनुभएकोमा ।