
विष्णु घिमिरे । पाल्पा ।
बगनासकाली सहकारीमा आवद्ध अधिकांश सदस्यहरुको अहिले मुख्य पेशा कृषि र पशुपालन रहेको छ । केही वर्ष अगाडी सम्म बचत र ऋणको मात्र कारोवार गर्दै आएका यहाँका सदस्यहरु अहिले भने आत्मनिर्भर र व्यवसायिक बन्दै जान थालेका छन् । चार वर्ष अगाडी मात्रै संचालनमा आएको सहकारीले सदस्यहरुलाई आत्मनिर्भर र व्यवसायिक बनाउने विभिन्न कार्यक्रमहरु संचालन गर्न थालेपछी सहकारीमा आवद्ध भएकाहरु कृषि र पशुपालन मार्फत स्वरोजगार बनेका हुन् ।
दुध विक्रीका लागि डेरीको अभाव वेहोरेका यहाँका कृषकहरुले डेरी व्यवस्थापन र भैसीपालनको सहयोग पाएपछी भैसीपालनमा आर्कषित भएका छन् । सहकारी सस्थाले भैसीपालनको लागि पकेट क्षेत्र बनाई काम गरेको थियो । कृषकहरुलाई भैसी खरिद देखी दुधको वजारीकरणसम्मको काम सहकारीले नै गरिदिएपछी यहाँ भैसीपालन व्यवसाय फस्टाउदै गएको हो । यहाँ अहिले सय वढी भैसी पालक कृषकहरुले व्यवसायिक भैसी पालन गरी दुध विक्री गर्दै आएका छन् । उनीहरु दैनिक ३ देखी १५ लिटर सम्म दुध विक्री गर्दछन् । यो ठाउँ पहिलादेखीनै दुध उत्पादनको लागि उर्भर थियो सहकारीका अध्यक्ष कृष्ण भूसाल भन्नुहुन्छ, यहाँ डेरी व्यवस्थापन नहुँदा कृषकहरुले दुधको वजार पाएका थिएनन् । सहकारीले आफ्नै कार्यालयमा डेरी र तानसेनमा विक्री कक्ष राखेर दुधको वजारीकरण गर्दै आएको छ । अत्याधुनिक प्रविधि मार्फत दुधको फयाट, ल्याक्टोको मापन गरी मूल्य निर्धारण गरिएको अध्यक्ष भुसालले बताउनुभयो ।
२०७६ साल असोजमा ३ वटा सहकारीहरुलाई एकिकृत गरी बगनासकाली बहुउदेश्यिय सहकारी स्थापना भएको थियो । तीन वटै सहकारीका सदस्यहरुको भेलाले कृष्ण भुसालको अध्यक्षतामा नयाँ सहकारीको गठन गरेको थियो । स्थापनाको चार वर्षको छोटो अवधीमै सहकारीले कृषि तथा पशुजन्य उत्पादन र वजारीकरणलाई प्राथमिकता दिएर काम गरेकै कारण यहाँका कृषकहरु स्वरोजगार उन्मुख बनेका हुन् ।



भैसी खरिद, थरी सुधार, गोठ निर्माण र सुधारमा ५० प्रतिशत अनुदान दिएपछी कृषकहरु भैसीपालनमा आर्कषित भएका थिए । सहकारीले कृषि सामाग्रीहरु, पानी टयाङ्की, चाँप कटर, मिल्क क्यानहरु जस्ता सामाग्रीहरु समेत सहयोग गरी भैसीपालन व्यवसायलाई टेवा पुरयाउदै आएको छ । शुद्ध दुधको नामबाट सहकारीले परिचय बनाएको छ । यहाँ दैनिक ४ सय देखी ५ सय पचास लिटरसम्म दुध संकलन र विक्री हुँदै आएको छ । दुधको साथै शुद्ध घिउ र कुराउनी जस्ता परिकारहरु बनाएर सेवा दिदै आएको सहकारीले शुद्धतालाई पहिलो प्राथमिकतामा राखेको छ ।
सहकारीमा एक हजार पाँचसय वढी शेयर सदस्य आवद्ध छन् । वार्षिक ७ करोड हाराहारीको कारोवार गर्दै आएको सहकारीले नियमित, ऐच्छिक, कारोवार, दम्पती, जेष्ठ, वाल, सस्थागत, आवधिक, पर्व र युवा वचत गरी १० प्रकारका वचतहरु संकलन गर्दै आएको छ । यहाँ ९ सय वालवालिकाहरुले बाल बचत गर्ने गरेका छन् । आपतकालिन देखी दैवीप्रकोप ऋणसम्मको लगानी हुने गरेका छन् ।
सहकारीले सदस्यहरुलाई आत्मनिर्भर गराउन डेरी प्रर्वद्धनको साथै कृषि क्षेत्रमा नगदे तथा अन्य वालीहरुको उत्पादन र वजारीकरणमा सहयोग गर्दै आएको छ ।
अदुवा व्लक कार्यक्रम संचालन गरी गुणस्तरीय अदुवाको वीउ, हाते ट्याक्टर, डिजिटल तराजु, औषधी लगायतका कृषि सामाग्रीहरु २ सय किसानहरुलाई सुपथ र सहज उपलब्ध गराएको छ । सहकारीका सचिव कमलराज तिमिल्सेनाका अनुसार यहाँका सदस्यहरुलाई अदुवा उत्पादन र वजारिकरणमा सहयोग गरी आत्मनिर्भर बनाउन वीउ खरिदमा सहयोग गरेको हो । त्यसैगरी खेतवारी जोत्न हाते टयाक्टर, डिजिटल तराजु लगायतका प्रविधिहरुको पँहुचमा बृद्धी गरी उत्पादन बढाउन सहकारीले सहयोग गरेको तिमिल्सेनाले जानकारी दिनुभयो ।
कुरिलो सबैको चाख र रोजाईमा पर्ने कृषि उत्पादन भएको छ । अत्यान्त महंगोमा सहजै विक्री हुने कुरिलो यो क्षेत्रको अर्को मुख्य उत्पादन वनेको छ । यहाँका कृषकहरुले कुरिलो खेती मार्फत मनग्गे आम्दानी समेत गरेका छन् । सहकारीले विभिन्न संघसंस्थाहरु संगको सहयोगमा कुरिलो उत्पादन गर्न सदस्यहरुलाई हौसला र सहयोग गरेको छ । यहाँका यहाँ व्यवसायिक कुरिलो खेती र अकबरे खुर्सानी खेती समेत गरिएको छ । गत वर्ष मात्रै ३६ घरधुरीले २ सय रोपनी क्षेत्रफलमा खेति गरिएको थियो जसबाट यहाँका कृषकहरुले रु ६३ लाख रुपैया आम्दानी गरेका छन् । ‘म संग मेरो बगनासकाली, विकास र समृद्धिका लागि सहकारी’ भन्ने मूल नारा लिएर अगाडि बढेको सहकारीले सदस्यहरुलाई आत्मनिर्भर बनाउनमा चार वर्षेको अवधी ध्यान केन्द्रित गरेको छ ।