भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध त्यहाँका विपक्षीहरूले अविश्वासको प्रस्ताव ल्याएका छन् । २०१९ मा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेपछि मोदीविरुद्ध विपक्षीहरूले पहिलोपटक अविश्वासको प्रस्ताव लयाएका हुन् ।

विपक्षहरूको गठबन्धन इन्डियनका तर्फबाट अखिल भारतीय कांग्रेसका सांसद गौरब गोगोइले अविश्वास प्रस्ताव सभामुख ओम बिडलासमक्ष पेस गरेका हुन् । सभामुख बिडलाले सो प्रस्ताव स्वीकार गरिसकेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । विपक्षी गठबन्धनले ल्याएको सो अविश्वासको प्रस्तावमाथि आगामी मंगलबारदेखि छलफल हुने जनाइएको छ ।

भारतको मणिपुर राज्यमा फैलिएको हिंसालाई लिएर विपक्षीहरूले प्रधानमन्त्री मोदीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका हुन् । ५४५ सदस्यीय लोकसभामा सत्तारुढ गठबन्धन एनडीएको प्रचण्ड बहुमत रहेकाले विपक्षीको प्रस्ताव पारित हुने सम्भावना भने छैन । तर आगामी वर्ष भारतमा लोकसभा चुनाव हुँदैछ । त्यसैले विपक्षीहरूले यो प्रस्तावलाई पनि आगामी चुनावलाई ध्यानमा राखेर ल्याएका हुन् ।

मणिपुरमा महिलालाई नांगै बनाएर घुमाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि मोदीको आलोचना भइरहेको छ । मोदीले हिंसा नियन्त्रणका लागि कुनै पहल नगरेको विपक्षीहरूको आरोप छ ।

मणिपुरमा स्थानीय मैतेई समुदाय र कुकी समुदायबीच भड्किएको हिंसामा हालसम्म १६० जनाभन्दा धेरैको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय