पाल्पा, साउन ४

साउन ३ गते निस्दी गाउँपालिका वडा नं. ३, झिरूबासकी ४३ वर्षीय भीम कुमारी साेतीले आफ्नै बारीकाे रूखमा सलकाे पासाे लगाइ आत्महत्या गरिन् । ३ गते बुधबार नै रामपुर नगरपालिका वडा नं. १ बस्ने अन्दाजी ५५ वर्षीय खेम प्रसाद श्रेष्ठले आफ्नै घरकाे भूइतलामा प्लाष्टिककाे डाेरी लगाइ आत्महत्या गरे । पाल्पा प्रहरीले कुनै घटना हुनासाथ यहाँका सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूलाइ जानकारी दिन इमेलबाट जानकारी दिने गरेकाे छ । जसमा अधिकांश घटना आत्महत्याका हुने गरेका छन् ।

पाल्पामा आत्महत्या गर्नेको संख्या डरलाग्दो छ । १० वर्षमा यहाँ सात सय २७ जनाले आत्महत्या गरेर ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आर्थिक वर्ष ०७०/७१ मा पाल्पामा आत्महत्या गर्नेको संख्या ५४ थियो । ०७१/७२ मा ५५ जनाले आत्महत्या गरेका थिए । यसैगरी आव ०७२/७३ मा ७५ जनाले आत्महत्या गरेकाे प्रहरीको तथ्यांकमा उल्लेख छ ।  आव ०७३/७४ र ०७४/७५ मा आत्महत्या गर्नेको संख्या समान ६७–६७ रहेकाे छ । यस्तै, आव ०७५/७६ मा आत्महत्या गर्नेको संख्या बढेर ९० पुगेको थियाे । जुन १० वर्षको तथ्यांकमा सबैभन्दा बढी हो ।

यसैगरी आव ०७६/७७ मा ८३, आव ०७७/७८मा ७६, आव ०७८/७९ मा ७५ जनाले आत्महत्या गरेकाे प्रहरीको तथ्यांकमा उल्लेख छ । यस आर्थिक वर्षमा पनि आत्महत्या गर्नेको अनुपात घटेको छैन । जिल्ला प्रहरी कार्यालय पाल्पाको तथ्यांकअनुसार असार ३१ सम्म ८५ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गरेका सात सय २७ मध्ये ६ सय १९ जनाले झुन्डिएर प्राण त्याग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख एसपी हेरम्ब शर्मा कट्टेलका अनुसार आव ०७९/८० मा आत्महत्या न्यूनीकरणको अभियानस्वरुप सचेतनाका लागि ३५ वटा कार्यक्रम गरिएको छ । मानिसलाई समुदायमा भेला गरेर जीवनको महत्व बुझाउँदै प्रहरीले व्यावहारिक ज्ञान बाँड्ने गरेको एसपी कट्टेलले बताए ।

धेरै मानिसले स्वास्थ्यका कारण, एक्लोपनाको कारण, आवेशमा आएर र आर्थिक अभावले आत्महत्या गर्ने गरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालयले आफूहरूसँग आर्थिक स्रोतको अभाव हुने भएकाले स्थानीय सरकारसँग समन्वय गरेर समुदाय, विद्यालय, र समूहमा सचेतनाको काम गर्ने योजना रहेको बताए । स्थानीय तहले कुनै न कुनै उपायको खोजी गरी आत्महत्या न्यूनीकरणका विषयमा काम गर्नुपर्ने बताउँछन् ।

पाल्पामा दैनिक जस्ताे आत्महत्याका घटना बढिरहँदा यहाँका स्थानीय तहले बनाएका बजेटमा सचेतनाका यस्ता कार्यमा बजेट विनियाेजन गरेकाे भने भेटिँदैन । स्वास्थ्य कार्यालय पाल्पा तथा यहाँका अन्य सराेकारवालाहरूले यहि भयावह अवस्थाका विषयमा गम्भीर छलफल गरि सामुदायिक सचेतनाका कार्य गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय