
विष्णु प्रसाद घिमिरे । पाल्पा ।
चापपानी सामुदायिक सिकाइ केन्द्र बगनासकाली ९ चापपानीको नवनिर्मित भवन उद्घाटन तथा चौथो अधिवेशन सम्पन्न भएको छ । बगनासकाली गाउँपालिका पाल्पाका अध्यक्ष सरस्वती चिदीले भवन उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै अध्यक्ष चिदीले केन्द्र मार्फत परिचालित आयमुलक महिला समूहहरुले नेतृत्व विकाससँगै उद्यमशीलताको प्रवर्धन गर्दै आएको बताउनुभयो । उहाँले गाउँपालिकाले आगामी दिनमा यो सहित पालिका भित्र रहेका अन्य सिकाई केन्द्रहरुको थप व्यवस्थापन र परिचालनका लागि उपयुक्त बजेट सहित सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । यो केन्द्रमा चापपानी बराङ्दी र खानीगाउँका गरि ३८ वटा महिला समूह आवद्ध छन् । केन्द्र मार्फत मार्फत कृषि पशुपालन सहित होजियारी लगायत बिभिन्न उद्यमशील तालिम तथा उद्यमी प्रवर्धन कार्यक्रमहरु हुँदै आएका छन् ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले सामुदायिक सिकाई मार्फत परिचालित महिलाहरुले आफु मात्रै नभई समाजमा रहेका अन्य महिलाहरुलाई पनि उत्प्रेरित गर्दै कृषि तथा पशुपालनका क्षेत्रमा अगाडि बढाउनुपर्ने बताउनुभयो । भौतिक पुर्वाधार कार्यालय लुम्बिनी प्रदेशका बरिष्ठ लेखा अधिकृत लीला अर्यालले यो केन्द्रले महिलाहरुको सामुदायिक परिचालनका क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा बगनासकाली गाउँपालिका– ९ का वडाध्यक्ष ठानेश्वर तिमिल्सिना, वडा नं. ८ का अध्यक्ष मोतिलाल बस्याल, बगनासकाली गाउँपालिका शिक्षा शाखा प्रमुख गुनाराम खनाल, घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत देवीराम भण्डारी, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिना, सहभागी आयमूलक महिला समूहको तर्फबाट पेमा बस्याल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।



कार्यक्रममा संस्थाका आर्थिक प्रतिवेदन डोलराज अर्यालले प्रस्तुत गर्नुभएको थियो भने संस्थागत प्रतिवेदन सचिव भोजराज तिमिल्सिनाले गर्नुभएको थियो । कार्यक्रमकै अवसरमा वडा नं. ७ खानीगाउँबाट उत्कृष्ट लालीगुरास आयमूलक महिला समूह, वडा नं. ८ बराङ्दीबाट उत्कृष्ट साहारा आयमूलक महिला समूह र वडा नं. ९ चापपानीबाट उत्कृष्ट एकता आयमूलक महिला समूहलाई पुरस्कृत गरिएको थियो ।
ज्ञानराज तिमिल्सिनाको स्वागत र सचिव भोजराज तिमिल्सनाको सञ्चालन रहेको कार्यक्रम केन्द्रका अध्यक्ष कृष्णप्रसाद बस्यालको अध्यक्षतामा चलेको थियो । अधिवेशनबाट लीला अर्यालको अध्यक्षतामा केन्द्रको नयाँ कार्यसमिति चयन भएको छ ।