विष्णुप्रसाद घिमिरे
तानसेन नगरपालिकाले एतिहासिक सम्पदा अवलोकनबाट १० महिनामा ५० लाख राजश्व संकलन गरेको छ । गएको वर्ष १५ लाख रुपैया आर्जन गरेको राजश्व यो वर्ष ३ गुणा वढीले बढेको हो । यो अवधीमा तानसेनका विभिन्न पर्यटकीय स्थलहरुको २ लाख वढीले अवलोकन गरेका छन् ।
तानसेन नगरपालिकाले यहाँका पर्यटकीय स्थलहरुको सरसफाई, व्यवस्थापन र प्रचारप्रसारमा काम गरेको कारण अवलोकन गर्नेहरु संगै राजश्व समेत बढेको हो । गएको बैशाखमा निर्वाचित शन्तोषलाल श्रेष्ठ नेतृत्वको तानसेन नगरपालिकाले यहाँको पर्यटन विकासको खाका कोरेको छ । तानसेन नगरपालिकाका प्रवत्ता यादव सिं कार्कीका अनुसार, तानसेनमा रहेका रानीमहल, श्रीनगर, पाल्पा दरवार क्षेत्र, तानसेन वजार लगायतका पर्यटकीय क्षेत्रहरुको व्यवस्थापन र प्रचार प्रसारमा नगरपालिकाले काम गरेको छ । जसका कारण तानसेन घुम्न आउने पर्यटकहरुको संख्या बढेको छ । र यसबाट राजश्वमा बृद्धी भएको छ । तानसेन नगरपालिकाले आर्थिक वर्ष २०७९।८० मा ८ करोड आन्तरिक राजश्व संकलनको लक्ष्य पछयाउन पर्यटनलाई आधार बनाएको प्रवत्ता कार्की भनाई छ ।
तानसेन नगरपालिकाले पर्यटकीय क्षेत्रको सरसफाईमा विशेष ध्यान दिएको छ । यहाँका पर्यटकीय क्षेत्रहरु अहिले सफा र चिटिक्क देखिन्छन् । वजार क्षेत्रमा पर्यटकहरुको लागि विश्राम स्थल, सूचना वोर्ड, छाडा चौपायाको व्यवस्थापन, सडक मानिसहरुको व्यवस्थापन गरिएको सरसफाई शाखा प्रमुख शंकर भण्डारी बताउनुहुन्छ । पर्यटकिय स्थलमा रहेका छाडा चौपायालाई एकै ठाउँमा राखी पाल्ने गरिएको छ त्यस्तै सडक मानिसहरुलाई आश्रममा राखि हेरविचार गरिएको भण्डारी बताउनुहुन्छ ।
तानसेन नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधारमा काम गरेको छ । पुराना सम्पदाहरुको रंगरोगन र मर्मत भएका छन् । पाल्पा दरवार क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल भएको छ । तानसेन नगरपालिकाका प्रमुख शंतोषलाल श्रेष्ठका अनुसार यहाँका अनावश्यक ५७ वटा घरटहरा हटाइएको छ । पुरातत्व विभागले एतिहासिक मुलढोका पुनः निर्माणको लागि ३ करोड रुपैयाको डिपिआर तयार गरी काम सुरु गरेको छ । टुँडिखेलको स्तोरन्नती, पुराना मठ मन्दिरहरुको संरक्षण, श्रीनगरमा खानेपानी, विद्युत र सरसफाईमा ध्यान दिएको छ । श्रीनगरलाई फन पार्क बनाउन वृह्त्तर योजना अगाडी बढाएको छ । पाल्पा आसपास र तराईका जिल्लाहरुबाट श्रीनगरमा बनभोजका लागि पर्यटकहरु आउने गर्दछन् ।
तानसेन प्राचिन एतिहासिक शहर हो । नेपाल अंग्रेज युद्धको झल्को दिने रणउजेश्वरी भगवतीको मन्दिर, पृथ्वी नारायण शाह देखी नेपाल अंग्रेस युद्धमा प्रयोग गरिएका हतियारहरुको संग्रह सहितको पाल्पा दरवार संग्रालय यहाँका पर्यटक तान्ने आर्कषण हुन् । प्यागोडा शैलीको अमरनारायण मन्दिरले तानसेनको पहिचान बोकेको छ । नेपालकै ठूलो ढोका, नेपालकै पुरानो पुस्तकालय प्राचिन इतिहास तानसेन संग छ । चार धाम मध्येको एक रुरु धाम, माण्डव्य ऋषिको तपोभूमी देखी यहाँका कला र संस्कृतीले पर्यटकहरु तानेका छन् । पाल्पाली ढाका, करुवा, नेवारी कला र संस्कृती अध्ययन र अवलोकन गर्न पर्यटकहरु आउन थालेका छन् ।———

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय