सडकको स्तरोन्नतीसँगै रानीमहल पुग्ने पर्यटक बढ्दै

सडकको स्तरोन्नतीसँगै रानीमहल पुग्ने पर्यटक बढ्दै

मुक्तिप्रसाद न्यौपाने
पाल्पा, जेठ ३
नेपालको ताजमहलका रुपमा परिचित रानीमहलमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । तानसेन रानीमहल सडकको अवस्थामा सुधार तथा कालीगण्डकी करिडोरले रानीमहललाई जोडेसँगै पर्यटकहरुको संख्यामा वृद्धि भएको हो ।


तानसेनदेखी दुई घण्टाको पैदल दूरीमा रानीमहल पुग्न सकिन्छ । कालीगण्डकी नदीको किनारमा रानीमहल दरबार अवस्थित छ । जिल्ला सदरमुकाम तानसेनदेखी १३ किलोमिटरमा रानीमहल पर्दछ । अहिले तानसेनदेखी रानीमहल पुग्ने ६ किलोमिटर सडक पीच गरिएको छ । बाँकी सडकमा ग्राभेलको काम हुँदै छ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरले रानीमहललाई समेत छोएको छ । राम्दीदेखी अर्गलीसम्मको सडक यातायातसँग जोडिएको छ । यससँगै तानसेन नगरपालिका–१३ मा रहेको रानीमहलमा यातायातका साधन र पैदल समेत पर्यटकहरु पुग्नक्रममा वृद्धि भएको छ । कालीगण्डकी नदीमा समेत पक्की पुल निर्माणको कार्यले तिव्रता पाएको छ । स्याङ्गजाको कालीगण्डकी गाउँपालिका–३, सटुका र पाल्पाको वगनाशकाली गाउँपालिका–७, रानीघाटमा पक्की पुल निर्माण भैरहेको हो ।
रानीमहलमा विभिन्न पहुँचमार्गले जोडेसँगै सहज यात्राका साथ यहाँ पुग्ने पर्यटकहरुको संख्यामा वृद्धि भएको रानिमहल क्षेत्र संरक्षण समितीका अध्यक्ष देविप्रसाद भट्टराईले बताए । शनिबार चारवटा बाईकमा नवलपरासीबाट आएका युवाको समूहले आफुहरु सहजै रानीमहल क्षेत्रमा आउन सकेकोमा खुसी व्यक्त गर्दै भने सहजै रानीमहलको दर्शन पाईयो । रानी र राजाको कहानी रहेको रानीमहलमा राम्रो बाटो नहुँदा अहिलेसम्म पुग्न सकेका थिएनौं । आउन पाईयो यसैमा हामीलाई गर्व छ । उनीहरु तानसेनदेखी रानीमहल जोड्ने बाटो हुँदै यहाँ आईपुगेको बताए । बुटवलदेखी पाल्पा हुँदै पोखराको यात्रा तय गरेका रुपन्देही तिलोत्तमा नगरपालीकाका लक्ष्मी कोईराला र प्रकाश लम्सालको जोडिलाई रानिमहलसम्म पुग्ने धोको कालिगण्डकी करीडोरका कारण पुरा भयो । रानीमहलसम्म पुग्न यति सहज यात्रा होला भन्ने कल्पना पनि नगरेको उनीहरुले बताए । स्थानीय लालबहादुर खत्री भन्दछन–‘रानिमहल र यस क्षेत्रको विकासका लागी सडकले सहयोग पु¥याएकै कारण यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा वृद्धि भएको छ ।’ सडक सञ्जालमा रानीमहल जोडिएसँगै लुम्बिनीदेखी पोखरा पुग्ने आन्तरीक र बाह्य पर्यटकलाई रानिमहल भित्र्याउन प्रवशेद्धार खुलेको उनले बताए ।
डिभिजन सडक कार्यालयका सूचना अधिकारी पवित्रमणी आचार्यले रानीमहल जोड्ने सडक कार्यालयको प्राथमिकतामा रहेको कारण एक रुपैयाँ पनि भुक्तान हुन नसक्दा समेत कामले पूर्णता पाउने अवस्थामा पुगेको बताए । उनी भन्छन्, ‘विभिन्न निर्वाचनका कारण अहिलेसम्म रकम प्राप्त हुन सकेको छैन । सडक निर्माण भने अन्तिम चरणमा पुगेको छ । बर्खा लाग्नु अगाडी लगभग सबै काम पुरा हुन्छ ।’ आचार्यले तानसेन–रानीमहल जोड्ने सडकमा दुई तहको ठेक्का भएको बताए । पहिलो लगभग ११ करोड रुपैयाँको कामका लागि रसुवा एच बी ए कन्सट्रक्सनसँग काम अन्तिम चरणमा पुगेको छ । यस क्षेत्रमा १२ दशमलव ७ कुल लम्बाई रहेको छ । ६ किलोमिटर सडक पीच हुने हो । जसमा सिङगल कोट सकिसकेको छ । दोस्रो डेढ करोडको ठेक्कामा पहिरो हटाउने, ह्याम पाईप राख्ने, नाली बनाउने र ग्राभेल गर्ने काम पनि भैरहेको आचार्यले बताए । ‘अब बर्खामा पनि रानीमहल पुग्न सहज हुने विश्वास हामीले लिएका छौं । नाली सफा ग्राभेल, मोड कटिङ्ग लगायतका मुख्य काम सकिएको छ,’–आचार्यले भने ।
पछिल्लो समय रानीमहलमा पुगेर चलचित्र छायाङ्कन गर्ने क्रम पनि बढेको छ । म्युजिक भिडियो तथा अन्य डकुमेन्ट्रीहरुमा समेत रानीमहल जोडिन पुगेको छ । ड्यु क्यापिङ्ग रिसोर्टका सञ्चालक वसन्त कुँवरले रानीमहलमा पर्यटकको संख्यामा वृद्धि भएसँगै आफ्नो व्यवसाय समेत फस्टाउँदै गएको बताए । उनी भन्छन्, ‘रानीमहल आउने पर्यटकहरुलाई लक्षित गरेर सेवा प्रदान गर्दै आईरहेका छौं । बाहिरी जिल्लाबाट आउनेहरु धेरै छन् । तर कामले जुन गतिमा तिव्रता पाउनुपर्ने त्यसो हुन सकेन ।’ रानीमहलमा बस्दै आएको अस्थायी प्रहरी बिटले दैनिक एक सय जनासम्म आन्तरिक पर्यटकहरु रानीमहलमा आउने गरेको बताए । यहाँ विदेशीहरु मासिक ३० देखी ५० जनासम्म आउने गरेका छन्, प्रहरी अधिकारीले भने ।
रानीमहलले सिङ्गो पाल्पाको पर्यटनमा सहयोग पुग्दैछ । रानीमहल क्षेत्रको विकासका लागी बलियो ढोका खुलेको नाटा पाल्पाका अध्यक्ष प्रदीपप्रसाद उदयले बताए । ‘सदरमुकाम तानसेन आएका पर्यटकहरु रानीमहल नपुगी फर्कन दुःख मान्छन्, जिल्लाको मुख्य पर्यटनको हव रानीमहल हो,’–उदयले भने, ‘स्याङ्जा र पाल्पाको संगमस्थल धार्मीक स्थल राम्दिदेखी पनि २० किलोमिटकै दूरीमा रानीमहल पुग्न सकिने भएकोले पोखरादेखी रानीमहल पुगेर फर्कने पर्यटक समेत बढेका छन् ।’ रानीमहल पुग्ने पर्यटकको संख्या वृद्धि पनियस क्षेत्रमा कति पर्यटक भित्रिए भन्ने आधिकारी तथ्याङ्क तथा अभिलेख भने जिल्लाका कुनै निकायसँग पाईदैन ।
प्रेमको प्रतिकको स्वरुप धरोहरका रुपमा पुर्खाले सदाका लागी, सबैका लागी छोडेको चिनो संरक्षण गर्ने, यस क्षेत्र आसपासमा त्यहाँ पुग्ने पर्यटकको ईच्छा र स्वाद अनुसार खाना र बासको व्यवस्थातर्फ स्थानीय वासिन्दाले पहल गर्ने हो भने सडक यातायातले जोडिएको अर्थले सार्थकथा पाउने नेपाल नागरीक समाजका अध्यक्ष पुष्करराज रेग्मी बताउँछन् । सडक सञ्जालसँग जोडिनु, पुरातत्व विभागले दरवारको मर्मतमा ध्यान दिँदा यसको महत्व बढ्न थालेको छ । चट्टान नै चट्टानले निर्मित पहाडको काखमा उत्तरवाहिनी कालीगण्डकी नदीको किनारमा निर्मीत दरवारले झण्डै १ सय २५ बर्षको ईतिहास बोकेर प्रगाढ प्रेमको सिङगो ईतिहास बोकेर एक्लै ठडिएको भएपनी दरवारकै कारणले गर्दा दरवार नजिकैबाट नै पक्कि मोटर गुडने पुल निर्माण कार्य सुरु भएको छ । पक्कि पुलकै कारणले गर्दा पाल्पाको मात्र नभई स्याङ्जा जिल्लाको विकासमा समेत ठूलो सहयोग पुग्ने सटुवा स्याङ्जाका दिपक पाण्डेले बताए ।
सच्चा प्रेमको प्रतिक ठानिने रानिमहल १९५० सालमा पाल्पा गौडाका तैनाथवाला पश्चिम तर्फका प्रधान सेनापति खड्ग शमसेरले आफ्नी दिवंगत रानि तेजकुमारीको सदिक्षा र सम्झनामा निर्माण गरेका थिए । त्यहि कारणले गर्दा दरबार अवलोकन गर्न जानेहरु मध्ये अधिकांश युगल जोडीहरु रहने गरेकाछन् । प्रणय दिवस (भ्यालेन्टाईन डे) फ्रेबुअरी १४ का दिन यस क्षेत्रमा मेलानै लाग्ने गर्दछ । १९५० सालमा शिलान्यास गरि १९५४ सालमा निर्माण सम्पन्न भएको थियो । कला कौशलको बेजोड नमूनाले सिंगारेर ४ वर्षको अवधिमा महत्वपूर्ण फर्निचर, महँगा महँगा सजावटका सामाग्रीले भरिपूर्ण कोठामा एक्लै रात बिताउँदा खड्ग समशेर कहिलेकहिले आफ्नी दिवंगत रानिलाई सम्झँदै भावविह्वल हुँदै मध्यरातमा रुँदै चिच्याउँथे भन्ने पनि गरिन्छ ।
१९६० सालमा खड्ग समशेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने सड्यन्त्र ग¥यो भन्ने श्री ३ चन्द्र समशेरले थाहा पाए । चन्द्र शमसेरले पाल्पामा सेना पठाइ तैनाथि आफ्नो हातमा लिए । आफुमाथि खतराको घण्टि बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटि लिएर उनि भारत पलायन भए । त्यसै दिनदेखि प्रेमको प्रतिक ठानिएको दरबार आजसम्म एक्लो अवस्थामा रहेको थियो । सडक सञ्जालका कारण अब रानीमहल एक्लो छैन । खड्ग शमसेरले युयानी शैलीमा वेलायती इन्जीनियरको डिजाईन अनुसार रानीमहल बनाएका हुन् । दरवार क्षेत्रभित्र पानीपोखरी, वगैचा, कलश, आधुनिक स्टाईलको पार्क, फलामका खम्वा, नागनागिनीहरुले शिवलिङ्गमा जलसर्चन गरिरहेका दृष्य छन्् ।

प्रतिक्रिया दिनुहोस