धनगढी, २० फागुन– आज (आइतवार) प्रतिनिधिसभा (संघीय संसद)को पहिलो बैठक बस्यो । बैठकमा प्रतिनिधिसभा सदस्य (सांसदहरुले) सपथ लिए । संघीय संसदमा प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित गरी २७५ जना सांसद छन् । आइतवार सांसदको रुपमा सपथ लिन सबै सांसदहरु उपस्थित भएपनि कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरी भने त्यसबाट बञ्चित भए ।
टीकापुर घटनामा संलग्न रहेको अभियोगमा अहिले उनी पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा छन् । थुनामा भएका कारण उनले सपथ ग्रहण समारोहमा सहभागी हुन पाएनन् । व्यवस्थापिका संसद सचिवालयले रेशम चौधरी उपस्थित भए सपथ लिन सक्ने जनाए पनि चौधरीले भने निर्वाचन आयोगबाट सांसदमा निर्वाचित भएको प्रमाणपत्र समेत बुझ्न पाएका छैनन् ।
प्रदेश संसद चल्न नदिने चेतावनी
रेशम चौधरीलाई तत्कालै सांसदको शपथ लिने व्यवस्था नमिलाइए प्रदेश नम्बर ७ को संसद बैठक चल्न नदिने चेतावनी दिइएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) का प्रदेश सांसद कृष्ण चौधरीले प्रतिनिधि सभा सांसद रेशम चौधरीलाई शपथ ग्रहण नगराए फागुन २२ हुने प्रदेश नं. ७ को संसद चल्न नदिने चेतावनी दिएका छन् ।
आज बसेको संसद बैठकमा बिशेष समय मागेर बोल्दै उनले कैलाली क्षेत्र नम्बर १ बाट भारी मतले निर्वाचित सांसद चौधरीलाई प्रमाणपत्र र शपथ ग्रहण गराउने वातावरण मिलाउन अनुरोध गरे । थारु समुदायलाई राज्यले विभेद कायमै राखेको आरोप लगाउँदै उनले शपथ ग्रहणको वातावरण नमिलाए आगामी प्रदेश संसद अवरुद्ध गर्ने चेतावनी दिएका हुन् ।
आज भएको प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणमा पनि सहभागी हुने वातावरण नमिलाइएको भन्दै आक्रोश उनले कडा आक्रोश समेत व्यक्त गरे ।