लुम्बिनीका मुख्यमन्त्रीका दाबेदार उर्जा मन्त्री राना प्रदेशसभामा विजयी

लुम्बिनीका मुख्यमन्त्रीका दाबेदार उर्जा मन्त्री राना प्रदेशसभामा विजयी

पाल्पा, मंसिर ७
पाल्पाको निर्वाचन क्षेत्र नं.२ (१) प्रदेश सभामा सदस्यमा वीर बहादुर राना विजयी भएका छन् । संयुक्त गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता रानाले १६ हजार ३९ मत प्राप्त गरि विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार परशुराम भट्टराईले १३ हजार ९ सय ६४ मत प्राप्त गरे ।
प्रदेशसभामा मंगोल नेशनल अर्गनाइजेसनका लक्ष्मण गाहाले १ हजार ५ सय ९७, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु गैरेले १ हजार ५ सय २० मत प्राप्त गरेका छन् । यस्तै घर चिन्हमा ३ सय ५१, छातामा १ सय ६३ र मादल चिन्हमा ७७ मत खसेको छ ।
लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले मतगणना सुरु भएसँगैको अग्रता कायमै राख्दै २ हजार ७५ मतान्तर सहित विजयी भएका हुन् । उनी नेपाली कांग्रेस पाल्पाका पूर्व पार्टी सभापति समेत हुन् । रानालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री प्रमुख दाबेदारका रुपमा हेर्ने गरिएको छ ।
सबैको समान पहुँच र अधिकार स्थापित गर्न प्रदेश सभालाई सशक्त बनाउँदै विकासका क्रियाकलाप गर्ने विजयी राना बताउँछन् । काँग्रेस पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ हुँदै वडा तहबाट जिम्मेवारी निभाउँदै आएका राना यसअघि दुई कार्यकालसम्म पाल्पा जिल्लाको पार्टी सभापति भई काम गरेका थिए ।
नेपाली काँंग्रेसका युवा नेता तथा प्रखर वक्ताका रुपमा परिचित रानाले पार्टीलाई विधि, पद्धति, नीति नियम तथा अनुशासनको लाईनमा हिडाउने प्रयास गर्ने बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस