पाल्पा- २ मा पाण्डे र गैरे बीच कडा प्रतिस्पर्धा, स्वतन्त्र मतले परिणाम फरक पार्ला ?

पाल्पा- २ मा पाण्डे र गैरे बीच कडा प्रतिस्पर्धा, स्वतन्त्र मतले परिणाम फरक पार्ला ?

पाल्पा, मंसिर १

मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभामा एक-तिहाइ भन्दा धेरै स्वतन्त्र उम्मेदवारहरू प्रतिस्पर्धामा रहँदा त्यसले संसदको शक्ति संरचनामै असर पार्ने नदेखिए तापनि त्यो दलहरूका लागि धेरैतिर सकस बनिरहेको राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन्।  

दुवै तहका संसद्का लागि अघिल्लो आमनिर्वाचनमा भन्दा यसपटक उल्लेख्य रूपमा स्वतन्त्र उम्मेदवारहरू बढेका छन्। जसकाे असर पाल्पामा पनि पर्ने देखिएकाे छ । देशभर निर्वाचनकाे सरगर्मी बढेकाे समय पाल्पाको क्षेत्र नं २ मा पनि स्वतन्त्र उम्मेदवारहरूले प्राप्त गर्ने मतले दलहरूकाे जितलाइ असर पार्ने देखिएकाे छ ।

दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा क्षेत्र नं २ को निर्वाचन रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ । नेकपा (एमाले) मा रहेर सँगै राजनीतिक यात्रामा रहेका पूर्वसहकर्मी सोमप्रसाद पाण्डेय र ठाकुरप्रसाद गैरेबीचको चुनावी प्रतिस्पर्धालाइ जिल्लामा मात्र नभएर देशमै चर्चा बटुलेकाे छ ।पाण्डेय लोकतान्त्रिक–वाम गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार हुन् भने गैरेले एमालेबाट उम्मेदवारी दिएका छन् ।

गठबन्धनका उम्मेदवार पाण्डेयले विसं २०५१ देखि हालसम्म पाँच पटक उम्मेदवार भएकामा चार पटक निर्वाचित भई संसद्मा नेतृत्व गरिसकेका छन् । विसं २०६४ को संविधानसभा निर्वाचनमा भने उनी नेकपा माओवादीकी उम्मेदवार लीला सोमैसँग पराजित भएका थिए । तीन दशकसम्म राजनीतिमा अनवरतरूपमा लागेका गैरेले एमालेबाट पहिलो पटक आसन्न प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने अवसर पाएका छन् । गैरे नयाँ उम्मेदवार हुन् ।

अनुभव, आफ्नो कार्यशैली र योगदान बुझेर जनताले संसद्मा नेतृत्व गर्ने अवसर दिँदै अाएका जनताले यस पटक पनि मत दिएर विकासमा थप याेगदान दिने वातावरण थप्ने पाण्डे बताउँछन् । मतदाताले नयाँ र सक्षम व्यक्तिको नेतृत्व चाहेको र जनताको हरेक सुख दुःखमा आफू राम्रोसँग घुलमिल भएकाले यस पटक राम्रो मतका साथ विजयी हासिल गर्ने गैरे बताउँछन् ।

पाल्पा क्षेत्र नम्बर २ बाट गठबन्धनका पाण्डेय, एमालेका गैरेसहित जनसमाजवादी पार्टी नेपालका देवबहादुर हिस्की, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरे, राष्ट्रिय जनमुक्ति पार्टीका हुमबहादुर थापा मगर, नेपाल मजदुर किसान पार्टीका शिवसुन्दर भुख्वा, मङ्गोल नेसनल अर्गनाइजेसनका मनबहादुर दर्लामी, नेपाल आमा पार्टीका ताराबहादुर खत्री, जनता समाजवादी पार्टीका दुर्पता सोमै र स्वतन्त्रबाट उपेन्द्रराज गैरे र जीवलाल सुवेदी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

राजनीतिक दलहरूकाे नतिजालाइ तलमाथी पार्ने सक्ने भन्दै यतिबेला पाल्पाका स्वतन्त्र उम्मेदवारहरूकाे चर्चा समेत चुलिएकाे छ । स्वतन्त्र उम्मेदवारी दिने मनाेनयन पहिलेकाे उद्घाेषसँग कतिपय राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ताहरूले समेत स्वतन्त्र उम्मेदवारलाइ फकाउने अनेकन प्रलाेभनमा पार्ने प्रयास गरेकाे उम्मेदवार स्वयं बताएका छन्र । निर्वाचनकाे माैन अवधि सुरू हुने समयसम्मकाे प्रचारप्रसार र अाममतदाताकाे अवस्थालाइ नजरअन्दाज गर्दा पाल्पा २ मा कडा प्रतिस्पर्धा देखिएकाे छ । स्वतन्त्र उम्मेदवारहरूले प्राप्त गर्ने मतले दलहरूकाे अन्दाजलाइ फरक पार्न सक्ने अाँकलन समेत गरिएकाे छ ।

पाल्पा क्षेत्र नंं २ मा भएका छ वटा निर्वाचनमा नेपाली कांग्रेसले २०४८ र २०७० मा गरी दुई पटक, एमालेले २०५१, २०५६, २०६४ र २०७४ मा विजयी हासिल गरेको थियो । पाँचवटा स्थानीय तह रहेको पाल्पा क्षेत्र नंं २ मा २०७४ मा बगनासकाली, रैनादेवीछहरामा नेपाली कांग्रेस, तानसेन, रिब्दीकोट र तिनाउँमा एमालेले विजयी हासिल गरेको थियो भने स्थानीय निर्वाचन २०७९ मा गठबन्धनले तीनवटा र एमालेले दुईवटा पालिकामा जित हासिल गरेका छन् ।

पाल्पा क्षेत्र नंं २ मा ४४ वटा वडामा १६ वडामा एमाले र २८ वटा वडामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनमोर्चाको गठबन्धनले जित हासिल गरेको छ । वडाध्यक्षको मतको आधारमा नेकपा एमालेको ३० हजार पाँच सय ३६, नेपाली कांग्रेसले २९ हजार ३९, माओवादी केन्द्रले चार हजार तीन सय १३, एकीकृत समाजवादीले चार सय ३३ मत र राष्ट्रिय जनमोर्चाले आठ सय ८४ मत पाएको छ । पाल्पा क्षेत्र नंं २ मा एक लाख पाँच हजार दुई सय ९३ जना मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस