काे हुन्, पाल्पा क्षेत्र नं. १ गठबन्धनका उम्मेदवार ज्ञान बहादुर ?

काे हुन्, पाल्पा क्षेत्र नं. १ गठबन्धनका उम्मेदवार ज्ञान बहादुर ?

नेपाली कांग्रेस पाल्पाका उपसभापति ज्ञान बहादुर गाहा पाल्पा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको लागि गठबन्धनको साझा उम्मेद्वार हुनुहुन्छ । २०४४ सालमा कक्षा ९ मा अध्ययनको क्रम मै उद्वुद्ध मावि पूर्वखोला ३ रिङ्गनेरहमा नेपाली विद्यार्थी संघको इकाई सचिव भएर पञ्चायतको विरुद्धमा आवाज उठाएर राजनीतिमा हाम फालेका गाहा अहिले चुनावी मैदानमा हुनुहुन्छ ।

युवा अवस्था मै गाहा २०४६ सालमा तत्कालिन खालीवन गाउँ विकास समिति वडा नं. ९ को कांग्रेस वडा कार्यसमितिको सदस्य भएर प्रजातन्त्र पूर्न बहालीको लागि ०४६ को आन्दोलनमा पनि होमिनु भएको थियो । कांग्रेसको १० औं र ११ औं महाधिवेशनमा पाल्पा क्षेत्र नं. १ को क्षेत्रिय सभापति भएर संगठन निर्माण, जनता संगै विकासमा हाते मालो गर्नु भएको थियो । गाहा नेकपा माओवादीले चालेको १० वर्षे सशस्त्र जनयुद्धको समयमा अधिकांश नेताहरु विस्थापित भएर शहर पलायन हुँदै गर्दा गाहा गाउँमै रहेर संगठनको जिम्मेवारीमा रहनु भएको थियो ।

क्षेत्रिय समितिको जिम्मेवारी पछि १२ औं र १३ औं अधिवेशनमा कांग्रेस जिल्ला कार्यसमितिका सदस्य एवं पार्टीका महासमिति सदस्य बन्नु भएको थियो । गत वर्ष सम्पन्न १४ औं महाधिवेशनमा पाल्पाका कांग्रेसको उपसभापतिमा निर्वाचित भई संगठन विभाग सम्हाल्दै आउनु भएको छ । २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ को निर्वाचनमा पनि गाहाले पार्टीको लागि सक्रिय भुमिकामा रहनु भएको थियो । संगठनको पक्षमा लाग्दै गर्दा २०५१ सालमा गाहा रामपुरको एक कार्यक्रममा विपक्ष दलका कार्यकर्ताहरुको आक्रमण बाट सख्त घाईते हुनु भएको थियो ।

त्यस्तै २०६२/०६३ को जनआन्दोलनमा लोकतन्त्र ल्याउनका लागि निकै संघर्ष गर्नु भयो । लोकतन्त्रको पक्षमा आवाज उठाउँदै गर्दा त्यस क्रममा गाहा ५ दिन प्रहरीको हिरसतमा समेत पर्नु भएको थियो । राजनैतिक क्षेत्रमा मात्र नभई गाहा विकास र समाजको उत्थानको लागि निरन्तर लाग्दै आउनु भएको छ । युवाहरुलाई खेलकुदको माध्यम बाट अघि बढाउनु पर्छ भनेर गाहा २०५४ देखि २०५८ सम्म जिल्ला खेलकुद विकास समिति पाल्पाको सदस्य बन्नुभयो । जब्गादी लिफ्टीङ्ग खानेपानीको अध्यक्ष भएर काम सम्पन्न गर्नु भएको थियो । पूवी क्षेत्रमा सामुदायिक विद्युतिकरणका लागि पनि सक्रिय भुमिका खेल्नु भएको थियो । आदिबासी जनजाति समुदायको उत्थानका लागि आदीबासी जनजाति जिल्ला समन्वय समितिको उपाध्यक्ष रहेर २ काम गर्नुभयो ।

शिक्षा क्षेत्रलाई उत्थान गर्न गाहा विभिन्न विद्यालयको समितिका सक्रियता जनाउनुभयो । भानुभक्त माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा रहेर ३ पटक नेतृत्व गरी पूर्वाधार विकास र शैक्षिक उत्थानमा लाग्नुभयो । साथै गाहा शहिद बहुमुखी क्याम्पस सञ्चालक समितिको सदस्य समेत बन्नु भएको थियो । २०२९ सालमा तत्कालीन खालीवन गाविस वडा नं. ९ जब्गादीमा जन्मिनु भएका गाहा माता धनिसरा गाहा र पिता डिल बहादुर गाहाको ३ छोरा एक छोरी मध्ये कान्छो छोरा हुनुहुन्छ । लामो समय देखि समाज उत्थान तथा रुपान्तरण, जनताको सेवा र विकास निर्माणमा सक्रिय गाहालाई कांग्रेसले गबन्धनको साझा उम्मेद्वारको रुपमा जनता माझ उभ्याएको छ ।

निर्वाचन पश्चात आगामी पाँच वर्ष जनताको समस्या र आवश्यकता परिपूर्तिको लागि खटिने प्रतिवद्धताका साथ उहाँ निर्वाचनमा होमिनु भएको हो । क्षेत्र नं. १ पाल्पाका जनताको अवस्था परिवर्तन गर्ने लक्ष्यका साथ आएको गाहा बताउनुहुन्छ । विगत २८ वर्ष देखि लगातार नेकपा एमालेले जित्दै आए पनि जनताले अनुभव गर्ने गरी परिवर्तन हुन नसकेको भन्दै पाल्पा क्षेत्र नं. १ को विकास र परिवर्तनको लागि आफ्नो उम्मेद्वारी रहेको गाहाले बताउँदै आउनु भएको छ ।

हाल निर्वाचनको प्रचार प्रसारका क्रममा रहेका गाहाले जनताको आधारभूत आवश्यक परिपूर्ति गरी पूर्वाधार विकासलाई गति प्रदान गर्न अघि बढेको बताउनुहुन्छ । गाहाले भन्नुभयो, “पाल्पा क्षेत्र नं. १ मा जनताले २०५१ देखि लगातार एमालेका उम्मेद्वारलाई निर्वाचित बनाएर पठाए पनि ग्रामीण क्षेत्रका जनताको आधारभूत आवश्यकता अझै पुरा गर्न सकेन । अब कुरामा मात्र नभै काम गरेर क्षेत्रको परिवर्तनका लागी गठबन्धनको साझा उम्मेद्वार भएर आएको हुँ ।”–“समय सापेक्ष केही विकास भए पनि ग्रामीण भेगका जनताको पिडा अझै जहाँको तहाँ रहेको छ । ७०/८० वर्षका आमाहरुको घण्टौं लगाएर कुवा बाट पानी बोक्नु पर्ने बाध्यता छ । निस्दी लगाएत केही स्थान अझै पनि टुकीको भर पर्नु पर्ने अबस्था छ । बजार क्षेत्र संगै ग्रामीण बस्तीको अवस्था परिवर्तन गर्ने उद्घोषका साथ जनता माझ आएको हुँ ।”

प्रतिक्रिया दिनुहोस