कालीगण्डकी डाइभर्सन बिरुद्ध उम्मेदवारका योजना

कालीगण्डकी डाइभर्सन बिरुद्ध उम्मेदवारका योजना

सुशीला रेग्मी
रामपुर (पाल्पा), मङ्सीर १

आगामी मङ्सीरमा ४ मा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको चहलपहल बढ्दै जाँदा कालीगण्डकी नदीको चर्चा पनि उत्तिकै बढेको छ । निर्वाचनको संघारमा रहेका पाल्पाका विभिन्न राजनैतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले कालीगण्डकी डाइभर्सनका सन्दर्भमा आफ्ना चुनावी योजना जनतामाझ ल्याएका छन् ।
अहिले गाउँ वस्तीमा पुगेका उम्मेदवारले नदी डाइभर्सनको बिरोध जनाउँदै मतदातासंग चुनावी प्रतिबद्धता जनाइरहेको पाइन्छ । राम्दीबाट कालीगण्डकीको पानी तिनाउँमा लैजाने योजना रहेकाले सो प्रभावित क्षेत्र (पाल्पा जिल्लाको हकमा क्षेत्र नं १) बाट चुनावी मैदानमा निस्केका उम्मेदवारले डाइभर्सनको बिरोध गर्दै चुनावी नारा बनाएका छन् ।
कालीगण्डकी डाइभर्सन योजना विकासको रुपमा नभई विनाशको रुपमा लिएको नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार सन्दिप रानाले बताउनुभयो । नदीबाट करिव ८२ घनमिटर पानी डाइभर्सन गरेर लैजादै गर्दा राम्दीदेखि देवघाटसम्म पर्ने पाल्पा, स्याङ्गजा, तनहुँ, नवलपुर जिल्लाका तटियवासीलाई प्रत्यक्ष असर पर्ने भएकाले यसको बिरोध गरी नदीलाई आफ्नै गतिमा बहन दिने उहाँ बताउनुहुन्छ ।
“तटिय क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायका व्यक्तिको जिविकोपार्जन यहीँ नदीसंग जोडिएकाले यहाँका स्थानीयको जीवन जिउँने अधिकार सुनिश्चित गर्न मेरो शरीरमा एक थोपा रगत रहुन्जेल नदीलाई डाइभर्सन गर्न दिनेछैन” उहाँले भन्नुभयो,– “विस्तृत रुपमा जनतालाई फाइदा हुने कुरामा विकास हुनुपर्छ, सिमित क्षेत्रको विकासलाई हेरेर साँस्कृतिक सभ्यता खलबलिने गरी विकास हुनुभएन” ।
परियोजनाको बिरोध नभई कालीगण्डकी नदी सभ्यताको संरक्षणका लागि डाइभर्सन गरेर विनाशको स्थिती सिर्जना गर्न नहुने उम्मेदवार रानाको भनाई छ । डाइभर्सन हुने देखि तल्लो क्षेत्रका नागरिकको जीवन जिउँने अधिकारको संरक्षणको लागि चुनावी योजना नै जनतामाझ ल्याएको अन्र्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका उम्मेदवार रानाले बताउनुभयो ।
डाइभर्सनले मानव समुदायमा मात्र नभई पशुपंक्षी, बोटविरुवा, वातावरण, जलिय जीवनमा असर पुग्ने भएकाले यसको बिरोधका स्वरहरु कालीगण्डकीवासीका स्थानीयले उठाउँदै आएका छन् । नदीमा पानी बग्दै गर्दा आसपासको सम्पूर्ण क्षेत्रमा सबैलाई पोषित गरिरहेको हुन्छ । त्यसैबाट जीवनशैलीको निर्माण भई एउटा संस्कृतीको विकास र सभ्यताको निर्माण हुदै गर्दा सुनौलो भविष्यको निर्माण हुने भएकाले नदी डाइभर्सनको पक्षमा चुनावी मुद्धा बनाएर यसमा कुनैपनि राजनैतिक दल, व्यक्तिले राजनीति गर्न नहुने नेता राना बताउनुहुन्छ ।
पाल्पा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधित्व गर्नुभएका कांग्रेसका ज्ञानबहादुर गाहाले नदीलाई हिन्दु धर्मालम्वीहरुले पवित्र तीर्थस्थल मानेर स्नान गर्ने, पूजाआजा गर्ने थुप्रै घाटहरु रहेकाले नदी डाइभर्सन भएमा धार्मिक अस्तित्व नै खलबलिने बताउनुहुन्छ । तटिय क्षेत्रमा परापूर्वकाल देखि नै बोटे, कुमाल, माझी समुदायको बसोबास रहेको हुदा नदी डाइभर्सनले तिनिहरुमा प्रत्यक्ष असर पर्ने भएकाले यसलाई रोक्न संसदमा पहल गर्ने उहाँको चुनावी प्रतिबद्धता छ ।
क्षेत्र नं १ का नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारायणप्रसाद आचार्यले कालीगण्डकी नदी हाम्रो सभ्यता र पहिचानको रुपमा रहेकाले जनताको भावना विपरित काम नगर्ने बताउनुभएको छ ।
“नदी डाइभर्सनका विषयमा हामी संवेदनशील छौँ तर सामाजिक सञ्जालमा डाइभर्सनका विषयमा व्यक्तिगत रुपमा आ–आफ्नै विचार व्यक्त भइरहेका छन्, नदीको पानीलाई भरपुर सदुपयोग गरेर पानीजहाज चलाउने योजना रहेको छ” उम्मेदवार आचार्यले भन्नुभयो ।
सोही क्षेत्रकै प्रतिनिधि सभा सदस्य स्वतन्त्र उम्मेदवार विपिन कंडेलले कालीगण्डकी डाइभर्सन परियोजना बिरुद्ध बलियो उपस्थिती रहने चुनावी योजना जनतामाझ ल्याउनुभएको छ । स्थानीयले घर घरमा मत माग्न पुगेका उम्मेदवारलाई डाइभर्सनका सन्दर्भमा आफ्ना जिज्ञासा अभिव्यक्त गरिरहेका छन् । क्षेत्र नं १ ‘१’ मा प्रदेश सभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका श्यामकान्त खनालले कालीगण्डकीको तटमा बस्ने स्थानीयहरु यही नदीलाई नै देखेर अन्यत्र बसाइ नगएर यहीँ आश्रय लिएर बसिरहेको बताउनुहुन्छ ।
“स्थानीयको भावना नबुझिकन केन्द्रबाट डाइभर्सनको योजना ल्याइएको छ, सो योजना कुनैपनि हालतमा लागू हुन दिनेछैनौ, यसको घोर बिरोध गर्दै कांग्रेसले चुनावी प्रतिबद्धता पनि गरेको छ” उहाँले भन्नुभयो–“देशको योजना भन्दा पनि धार्मिक महत्व ठूलो हुने भएकाले विकासको नाममा धार्मिक अस्तित्व नै हरण गरेर नेताले नदीमाथि राजनीति खेल्नु भएन” ।
कालीगण्डकी नदीको विषयमा प्रभावित क्षेत्रमा पर्ने सबैको चिन्तन मनन् रहेको र यस नदीलाई आयआर्जनसंग जोड्ने गरी धार्मिक तथा पर्यटन विकासमा जोड दिने बताउनुहुन्छ, क्षेत्र नं १ ‘१’ नेकपा एमाले प्रदेश सभा सदस्य उम्मेदवार राजुप्रसाद श्रेष्ठ ।
“कालीगण्डकीमा पानीजहाज चलाउन नेकपा एमालेको सरकारले योजना ल्याएर सबस्टेशनको सर्भे समेत गरिसकेको छ, पाल्पा खण्डमा रामपुरको केलादीमा सबस्टेशनका लागि ठाउँ उपयुक्त देखिएको छ, एमालेको सरकार बनेपछि सो योजना अगाडी बढ्ने र पानीजहाज सञ्चालन गरेर नदीबाट धेरै लाभ लिन सकिन्छ” ।
कालीगण्डकी तिनाउँ डाइभर्सन परियोजनाको काम अगाडी बढेदेखि नै प्रभावित क्षेत्रका स्थानीयले बिरोध जनाइरहेका छन् । स्थानीयले सो योजना शुरु हुनै नदिने भन्दै सर्वत्र बिरोधका कार्यक्रम गरिरहेका छन् । यसअघि नै बुटवलमा परियोजनाको कार्यालय स्थापना गरिएको छ । डाइभर्सनका बिरोधमा तल्लो तटियवासी, स्थानीय सरकार, सरोकारवालाहरु संगठित हुदै बिरोधका विषयमा छलफल, अन्र्तक्रिया कार्यक्रमहरु पनि भइरहेका छन् । नदीलाई आफ्नै गतिमा बहन दिने र धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गरी आयआर्जनसंग जोड्ने स्थानीय सरकारको योजना छ ।
राम्दी देखि करिव तीन किलोमिटर दक्षिणी भागमा नौ मिटरको डायोमिटर बनाएर करिव २७ किलोमिटरको सुरुङमार्ग निर्माण गरी तिनाउँ नदीमा कालीगण्डकीको पानी खसाल्ने योजना छ । तिनाउँमा ७७ मेगावाटको विजुली निकाल्ने, त्यसपश्चात् बेलबास लैजाने र बेसाबासमा ६९ मेगावाट क्षमताको बिजुली निकाल्ने, कपिलवस्तु, नवलपरासी र रुपन्देहीका करिव ४० हजार हेक्टर जमिनमा सिंचाई गर्ने नाममा कालीगण्डकीलाई रुपान्तरण गर्न खोजिएको छ ।

प्रतिक्रिया दिनुहोस