उम्मेदवार गैरे कांग्रेसमा प्रवेश, गठबन्धनका पाण्डेलाइ समर्थन

उम्मेदवार गैरे कांग्रेसमा प्रवेश, गठबन्धनका पाण्डेलाइ समर्थन

पाल्पा, कार्तिक २८

आसन्न मसिंर ४ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पाल्पा क्षेत्र नम्वर २ बाट उम्मेदवार दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)का जिल्ला अध्यक्ष खडानन्द गैरे नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि मत माग्दै घरलैलो अभियानमा सक्रिय रहँदै आएका गैरे आइतबार काँग्रेस प्रवेश गरेका हुन् ।

लामो समय राप्रपाको राजनीतिमा सक्रिय हुँदै आएका उनले एक विज्ञप्ती जारी गर्दै राप्रपा पार्टी परित्याग गरेर काँग्रेसमा प्रवेश गरेको घोषणा गरेका छन् । नेपाली काँग्रेसको आदर्श र सिद्धान्तलाई आत्मसाथ गर्दै नेपाली काँग्रेसमा प्रवेश गरेको उनले बताए । ‘राप्रपा सदाका लागि परित्याग गर्दै आजैको मितिदेखि मेरो उम्मेदवारी निष्क्रिय रहेको र काँग्रेससँगको सहकार्यमा आगामी निर्वाचनमा उम्मेदवार बनेका सत्ता गठबन्धन दलका उम्मेदवारलाई मेरो पूर्ण समर्थन र सहयोग रहने छ’ विज्ञप्तीमा भनिएको छ । निर्वाचनको संघारमा राप्रपासहित अन्य पार्टी परित्याग गरी काँग्रेस प्रवेश गर्ने क्रमले आगामी निर्वाचनमा गठबन्धनलाई फाइदा पुग्नेछ ।

गैरेलाई नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले काँग्रेसको सदस्यता हस्तान्तरण गरेका छन् । उनले पार्टीमा नेता गैरेलाई स्वागत गर्दै पार्टीमा उचित स्थान दिने बताए ।

प्रतिक्रिया दिनुहोस