मतदाता शिक्षा प्रभावकारी बनाउँदैः सत्ता गठबन्धन पाल्पा

मतदाता शिक्षा प्रभावकारी बनाउँदैः सत्ता गठबन्धन पाल्पा

पाल्पा क्षेत्र नं १ मा गठबन्धनको घर दैलो

गठबन्धनका साझा उम्मेद्वारहरूलाइ विजयी बनाउन सत्ता गठबन्धनमा अावद्द दलहरूले पाल्पामा मतदाता शिक्षा दिन घरघरमा पुग्न थालेका छन् । अशिक्षित, अल्पसंख्यक तथा अनिर्णयमा रहेका मतदाताहरूसँग मत दिने तरिका सहितकाे मतदाता शिक्षा दिन घरमै पुगेका हुन् ।

नेपाली कांग्रेस पाल्पाका उपसभापति एवं पाल्पा क्षेत्र नं. १ का गठबन्धनका साझा उम्मेद्वार ज्ञान बहादुर गाहा सहितको टोलीले रम्भा गाउँपालिकाका विभिन्न वडामा घरदैलो सहित ठाउँ–ठाउँमा चुनावी सभा गरेको छ । प्रचार प्रसार संगै फक्सिङ्गकोटमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार गाहाले परिवर्तनसंगै पाल्पाको क्षेत्र नं. १ को समग्र विकासको लागि गठबन्धनलाई जिताउन सबै मतदताहरुलाई आग्रह गरेका छन् । उनले विगत २८ वर्ष देखि लगातार नेकपा एमालेले जित्दै आए पनि जनताले अनुभव गर्ने गरी परिवर्तन हुन नसकेको भन्दै जनताले चाहे अनुसारको विकासको लागि अब परिवर्तनको खाँचो रहेको बताए । गाहाले कालीगण्डकी हामी सबैको सम्पदा रहेको भन्दै डाईभर्सन रोक्न र नदीको संरक्षणका लागि आफु प्रतिवद्ध भएर लाख्ने समेत बताए । गाहाले क्षेत्रका अन्य पूर्वाधारहरु संगै हुँगी पन्टार ताहुँ सडकको स्तरोन्नती गर्ने, प्रत्येक पालिकाको केन्द्रसम्म पुग्ने पक्की बाटो निर्माण गर्ने, कालीगण्डकी करिडोर सँगको पहुँच मार्ग निर्माण गर्ने घोषणा गरे । गाहाले खानेपानीको अभाव भएका स्थानमा लिफ्टिीङ्ग मार्फत पानीको प्रवन्ध मिलाउने, कृषिको अधुनिकिकरण र युवालाई स्वरोजगार बनाउन पहल गर्नेसमेत बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका समानुपातिक उम्मेद्वार सन्दिप रानाले यहाँ रहेका रिमिघा लेक लगाएत पर्यटकिय स्थलको प्रवद्र्धन तथा मौलिक संस्कृतिको जगेर्ना गरी पर्यटन प्रवद्र्धनमा जोड दिने बताए । उनले जनतालाई आर्थिक रुपमा सक्षम बनाउन होमस्टे तथा व्यवसायिक कृषिको लागि उपयुक्त नीति तथा कार्यक्रम ल्याउने समेत प्रतिवद्धता व्यक्त गरे । पाल्पा क्षेत्र नं. १ का प्रदेश २ का उम्मेदवार शंकर खनालले युवालाई गाउँमै बस्ने वातावरण तयार गर्ने, कृषिको आधुनिकिकरण गर्ने, व्यावसायिक पशुपालन संगै वनलाई उत्पादनसंग जोड्न एग्रो फरेस्ट्री कार्यक्रम सञ्चालन गर्ने घोषणा बताए । कार्यक्रममा नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटी सदस्य दुर्गा प्रसाद अधिकारीले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धनले जित्नु आवश्यक रहेको औल्याए । अधिकारीले निर्वाचनमा मत बदर हुन नदिन मतदाता शिक्षाका लागि सक्रिय भएर लाग्न समेत सबैलाई आग्रह गरे । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि दान बहादुर पछाईले गठबन्धनको आवश्यकताको बारेमा प्रकाश पारेका थिए । यता प्रतिनिधि सभा क्षेत्र नं. १ प्रदेश १ का उम्मेद्वार श्यामकान्त खनालले रामपुर नगरपालिकाका विभिन्न वडा र टोलहरुमा घरदैलो गरेका छन् । जनताको घरदैलोमा पुगेर खनालले विकसित गाउँ, समृद्ध शहर निर्माणको लागि आफु निर्वाचनमा होमिएको बताएका छन् । उनले अब परिवर्तनका लागि सोच्ने समय आएको बताउँदै युवाहरुलाई गाउँमै स्वरोजगार बनाउन र गाउँको विकासको लागि योजनाहरु अघि बढाउने बताए ।

पाल्पा क्षेत्र नं २ का वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले तानसेन नगरपालिका –१० तेल्घामा रहेको गुफाचौरलाई धार्मिक तथा पर्यटकीयस्थल बनाउने बताएका छन् । उनीहरुले विहीबार तेल्घामा युवा भेला तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै गुफाचौर आफैमा धार्मिक तथा पर्यटकीयस्थल भएकाले निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले त्यसको गुुरु योजना बनाएर धार्मिक तथा पर्यटकीयस्थल बनाउने बताएका हुन् ।

पाल्पा क्षेत्र नं. २ प्रतिनिधि सभा गठबन्धनका साझा उम्मेदवार तथा नेकपा एकिकृत समाजवादीका पोलिटव्यूरो सदस्य सोम प्रसाद पाण्डेयले गुफाचौर धार्मिक र पर्यटकीय हिसावले अत्यन्त ऐतिहासिक र महत्व बोकेको क्षेत्र भएकाले यसको विकास र विस्तारमा आफुुले ध्यान दिने बताए । पूर्व उद्योग मन्त्री समेत रहेका पाण्डेयले तानसेन–गुफाचौर सडकको पिच गर्ने कामलाई निर्वाचनपछि गरिने समेत प्रतिवद्धता व्यक्त गरेका छन् । उनले समाज र राष्ट्रको समृद्धि र विकास गठबन्धनले मात्र गर्न सक्ने भन्दै त्यसका लागि मसिंर ४ को निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह समेत गरे ।

प्रदेश सभा क्षेत्र नं २ (१) का उम्मेदवार, नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले पनि गुुफाचौरलाई धार्मिक र पर्यटनसँग जोड्ने गरी आफुले केही योजनाहरु बनाएको बताए । रानाले निर्वाचनपछि प्रदेशमा बन्ने गठबन्धन सरकारले ऐतिहासिक गुफाचौरलाई पर्यटकीय र धार्मिक गन्तव्यको रुपमा विकास गर्ने समेत बताए । उनले आफुु निर्वाचित भएपछि बाँसटारी, सुनडाँडा गुफाचौर बाटोको स्तरन्नोति गरिने, बाँसटारी,गणसाल, सेतीपोखरी, तानसेन सडक समेत पिच गर्ने प्रतिवद्धता व्यक्त गरे । रानाले आफुु प्रदेश सांसद् र मन्त्रि भइसकेपछि यहाँका सिचाई, कृषि, विद्युत, खानेपानी लगायतका क्षेत्रमा थुप्रै काम गरिसकेको र केही क्षेत्रमा योजनाहरु सञ्चालनमै रहेकाले ति योजनाहरु पुरा गर्ने गरी आफु पुनः प्रदेश सदस्यमा उम्मेदवारी दिएको बताए ।

प्रदेश सभा पाल्पा (२) २ का उम्मेद्वार तुलाराम घर्ती मगरले विहिबार भुवनपोखरी , रैनादेवी छहरा लगायतका क्षेत्रमा घरदैलोसँगै आयोजित सभालाई सम्बाधेन गर्दै रैनादेवी र भुवपोखरी क्षेत्रलाई पर्यटकीय गतव्यको रुपमा विकास गर्ने अठोट गरेका छन् । उनले मतदाताहरुसँग यहाँ थुप्रै हेर्न र घुम्न लायक स्थानहरु रहेकाले त्यसको विकास र विस्तार गरी पर्यटनको केन्द्र बनाउने दिशामा आफुु लाग्ने उद्घोष गरे । घर्तीले यस क्षेत्रको पर्यटन र कृषिको विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन समेत मतदाताहरुलाई आग्रह गरे ।
तानसेनको तेल्घामा भएको कार्यक्रममा गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेसका सभापति हिमालदत्त श्रेष्ठ , काँग्रेस नेता माधव नेपाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल किशोर घिमिरे, एकिकृत समाजवादीका जिल्ला सचिव मोहन गैरे, एकिकृत समाजवादीका समानुपातिक उम्मेदवार अशोक कुमार शाही लगायतले आफूहरुले प्रतिवद्धता गरेका अनुसारका काम गर्न यसपाली गठबन्धनका उम्मेदवारहरुलाई मत दिन आग्रह गरे । उनीहरुले एमालेका उम्मेदवारलाई २०७४ सालमा मत दिएर पटक–पटक संसद विघटन गरेर जनमत खेर गएको भन्दै फेरी पनि मत खेर नजाला भनेर भन्न नसकिने भएकाले सबै मतदाताहरु सचेत रहन समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस