जनताकाे आधारभुत समस्यामा प्राथमिकताः उम्मेदवार राजुप्रसाद श्रेष्ठ

जनताकाे आधारभुत समस्यामा प्राथमिकताः उम्मेदवार राजुप्रसाद श्रेष्ठ

सुशीला रेग्मी
रामपुर (पाल्पा), कात्तिक २१

निर्वाचनको मिति नजिकिदै गर्दा दल तथा स्वतन्त्र उम्मेदवारहरु मतदाता भेटघाटमा गाउँ गाउँमा पुगेका छन् । उम्मेदवारले आफूले निर्वाचन जितेर अबको पाँच वर्षमा आफ्नो क्षेत्रमा गर्ने विकास निर्माणका खाका लिएर चुनावी मैदानमा निस्किएका छन् । नेकपा एमालेबाट पाल्पा क्षेत्र नं १ (क) का प्रदेश सभा सदस्यका उम्मेदवार बन्नुभएका राजुप्रसाद श्रेष्ठले आफ्नो क्षेत्रमा घरदैलो कार्यक्रम गरिरहनुभएको छ । मतदातासंग भेटघाट गर्ने, मत माग्ने, आफ्नो योजना सुनाउँदै गाउँ वस्तीमा चुनावी प्रचारात्मक अभियानमा व्यस्त हुनुहुन्छ ।
रामपुर स्थित विभिन्न संघ संस्थामा नेतृत्व गर्नुभएका श्रेष्ठले पूर्वी पाल्पा विकासमा पछाडी परेकाले यहाँको समस्यालाई समाधान गर्ने र नागरिकको जीवनस्तर माथि उकास्ने खालका कार्यक्रमलाई पहिलो प्राथमिकता दिने बताउनुहुन्छ । सडक, शिक्षा, प्रत्येका घरमा एक घर एक एक धारा जडान गरी शुद्ध खानेपानी पु¥याउने, आधारभुत स्वास्थ्य सेवालाई अनिवार्य पालना गर्ने, युवा स्वरोगारमुलक कार्यक्रम गरी स्वदेशमै रोजगारको सिर्जना गर्ने, कृषिलाई आधुनिकीकरण गरी व्यावसायीकरण गर्ने उहाँको चुनावी योजना छन् । पवित्र कालीगण्डकी नदीमा पानीजहाज चलाउने नेकपा एमालेको सरकारले ल्याएको योजना अनुरुप सबस्टेशन राख्न सर्भे भइसकेको हुदा त्यसलाई पूरा गर्ने सङ्कल्प ल्याउनुभएको छ ।
“पानीजहाज संचालन गरेर यस क्षेत्रका स्थानीयले प्रशस्त लाभ लिने हुदा निर्वाचन पश्चात् एमालेको सरकार बन्ने हुुदा लगत्तै सबस्टेशन निर्माणको प्रक्रिया अगाडी बढ्नेछ”उहाँले भन्नुभयो,–“सामाजिक क्षेत्रमा निरन्तर यस क्षेत्रमा समय बिताएको छु, यहाँको समस्या के हो यसबारे राम्रो जानकारी छ, त्यसलाई नागरिकले प्रत्याभुत गर्ने गरी समस्याको समाधान गर्ने मेरो पहिलो काम हुनेछ” ।
विसं २०४७ मा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएका उहाँ समाज रुपान्तरणमा निरन्तर लागिरहने र पार्टीका विभिन्न पदमा रहेर योगदान गर्नुभएका श्रेष्ठ कम्युनिष्ट आन्दोलनको पक्षमा लागिरहनुभएको छ । विद्यार्थी राजनीतिबाट राजनैतिक यात्रा शुरु गर्नुभएका श्रेष्ठ विसं २०३६ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा पूर्वी पाल्पाको रामतुलसी माविमा सचिव रहेर राजनीतिमा सक्रिय रुपमा निस्कनुभयो । भूमिगतकालमा रामपुर गाउँ कमिटिमा आबद्ध भएर विद्यार्थी राजनीतिबाट पार्टी नेतृत्वमा आउनुभएका श्रेष्ठ ०४६ सालको आन्दोलनको नेतृत्व गर्दै त्यसपश्चात दुई कार्यकाल इलाका कमिटि सचिवको जिम्मेवारी सम्हाल्नुभयो । क्षेत्रीय कमिटि सदस्य हुदै जिल्ला कमिटि दुई कार्यकाल सदस्यको जिम्मेवारी निर्वाह गर्नुभएका श्रेष्ठ हाल लुम्बिनी प्रदेश कमिटि सदस्य भएर पार्टीमा योगदान गर्दै आउनुभएको छ ।
विसं २०५४ को स्थानीय निकायको निर्वाचनमा तत्कालिन रामपुर गाविस वडा नं ४ को वडाध्यक्षमा निर्वाचित भई काम गरेको अनुभव छ । संघीयता पश्चात् ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट रामपुर नगरपालिकाको प्रमुख पदमा पराजित भएपनि निरन्तर रामपुरको विकासमा उहाँ खटेर काम गरिरहनुभएको छ । जनताका समस्या सुल्झाउन हरेक वस्ती वस्तीमा पुग्ने गर्नुहुन्छ ।
विभिन्न सामाजिक संस्थामा काम गर्नुभएका श्रेष्ठ बिद्युत् सुबिधा नभएको रामपुरमा आजभन्दा करिव दुई दशक अघि विद्युत विस्तार उपभोक्ता समितिका संस्थापक अध्यक्ष भएर यस क्षेत्रमा बिद्युत् बाल्ने कार्यमा उहाँको महत्वपूर्ण योगदान छ । रामपुर वचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष रही हालसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको छ भने रामपुर अंग्रेजी आवासिय माविका संस्थापक अध्यक्ष, रामपुर साना शहरी खानेपानी तथा सरसफाई परियोजनाको सचिव हुदै हाल अध्यक्ष पदमा रहेर काम गर्नुभएको छ । शहीद बहुमुखी क्याम्पस, रामतुलसी माविको संचालक समिति सदस्य, रामपुर अक्षयकोषका संस्थापक अध्यक्ष, नेवा समाज रामपुर, रोटरी क्लब रामपुरको संस्थापक अध्यक्ष भएर काम गर्नुभएका श्रेष्ठसंग सामाजिक तथा राजनैतिक क्षेत्रको राम्रो अनुभव छ ।
स्वर्गीय पिता लोकप्रसाद श्रेष्ठ र माता शेषकुमारी श्रेष्ठका कान्छा सुपुत्र श्रेष्ठ हुनुुहुन्छ । विसं २०४१ सालमा नेपाल सरकारको स्वास्थ्य क्षेत्रमा काम गर्ने अवसर पाएपनि गाउँ समाजको विकास गर्न जागीरमा नलागेर निस्वार्थ सामाजिक सेवामा नै जीवन बिताउनुभयो । समाजको विकासमा अहोरात्र खट्नुहुने श्रेष्ठ नेकपा एमालेको तर्फबाट निर्वाचनमा उम्मेदवार भएपनि निर्वाचन जितेपछि सबै दल, कार्यकर्ता, नागरिकको पक्षमा रहेर उनीहरुका सुझाव, सल्लाह बमोजिम काम गर्ने उहाँको अठोट छ ।

प्रतिक्रिया दिनुहोस