पाल्पामा नमुना मतदान

पाल्पामा नमुना मतदान

पाल्पामा नमुना मतदान गरिएको छ । मत कसरी दिने भन्ने जानकारीको अभावमा बदर हुने मतको सङ्ख्या घटाउन तानसेन १४ स्थित अर्गलीमा नमुना मतदान कार्यक्रम गरिएको हो ।

मतदाता शिक्षाको अभावमा ‘बदर’हुन सक्ने मतको सङ्ख्या न्युनीकरण गर्ने उद्देश्यले नमुना मतदान कार्यक्रमबाट मतदातालाई मत कसरी खसाल्ने, कसरी सही मत खसाल्न सकिन्छ भन्ने जानकारी दिइएको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । नमुना मतदानमा ३५ पुरुष तथा २४ जना महिला मददाता सहभागी भएका थिए ।

यस्तै नमुना मतदानबाट निर्वाचनमा सहभागी हुँदा मतदाताले अपनाउनुपर्ने आचारसंहिता, मतदान स्थलमा प्रवेश गर्ने तरिका, बाहिर निस्कने तरिका, मतपत्रको सङ्ख्याका बारेमा समेत जानकारी दिइएको जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले जानकारी दिनुभयो । नमुना मतदान जिल्लाको अन्य स्थानमा समेत सञ्चालन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

पहिलो चरणको नमूना मतदानमा जेष्ठ नागरिक, महिला अशक्त व्यक्तिको सहभागिता रहेको थियो । जिल्लाका मतदाताको अवस्था हेरेर अन्य स्थानमा पनि नमुना मतदान कार्यक्रम हुनेछ । नमुना मतदान कार्यक्रम गरेपछि मतदाता शिक्षा समेत प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पाँच प्रतिशत बढी मत बदर भएको थियो ।
यस पटक स्थानीय तहमा भन्दा बदर मत कम हुने अपेक्षा गरिएको छ । निर्वाचन आयोगले भने पाल्पाका ८१ वटै वडामा स्वास्थ्य स्वयम्सेविकालाई मतदाता शिक्षाका लागि खटाइसकेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस