‘गठबन्धनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्छ’

‘गठबन्धनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्छ’

पाल्पा, कार्तिक १७

पाल्पाका वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले निर्वाचनपछि गठबन्धन नेतृत्वमा बन्ने सरकारले भ्रष्टाचार नियन्त्रण गरी सुुशासन कायम गर्ने बताएका छन् । मतदाताहरुको घर घरमा पुुगेर उनीहरुले गठबन्धन दलले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न अत्यन्त गम्भीर रहेको र यसमा कुनै किसिमको शङ्का नगर्न आग्रह गरेका हुन् ।
पाल्पा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवं नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेयले मुलुकमा सुशासन कायम गरी समृद्ध नेपाल निर्माणका लागि गठबन्धन दललाई विजयी गराउन आग्रह गरे । घरदैलो पछिको कोण सभालाई विहीबार सम्बोधन गर्दै उनले समृद्धि, सुुशासन कायम गर्नु गठबन्धनको प्राथमिकता रहेको बताए । मुलुकमा भ्रष्टचारको अन्त्य र सुुशासनका लागि पुन काँग्रेस र कम्युनिष्ट मिल्नुपर्ने अवस्था आएको भन्दै गठबन्धनको त्यसैको उपज रहेको धारणा व्यक्त गरे । केपी ओलीलाई जनताले दुई तिहाई मत दिएपनि त्यसलाई ओलीले संविधान मास्न र अस्थिरताका लागि प्रयोग गरेको पाण्डेयको दावी छ ।
यस्तै प्रदेश सभा क्षेत्र नं. २ (१) का उम्मेदवार नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीर बहादुर रानाले लोकतन्त्रलाई सुदृढीकरण गर्न, संविधानको रक्षा गर्न र भ्रष्टाचार नियन्त्रणका लागि आगामी निर्वाचनमा गठबन्धन दलले जित्नुपर्ने आवश्यकता औँल्याएका छन् । प्रदेश सभा क्षेत्र नं. २ (१)का विभिन्न क्षेत्रमा घरदैलोपछि गरिएका कोण सभामा बोल्दै उनले मुलुकमा विकास र समृद्धिको यात्रा पूरा गर्न गठबन्धनका उम्मेदवारले जित्नुको विकल्प नरहेको बताए ।
प्रदेश सभा क्षेत्र नं. २ (२) का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता तुलाराम (बसन्त) घर्तीले रोजगारी सिर्जनाका लागि उद्योगको स्थापना, प्राविधिक शिक्षाका लागि गठबन्धनको जित आवश्यक रहेको धारणा बताए । उनले पनि विभिन्न क्षेत्रमा पुुगी मतदाताहरुलाई भेटी यस्तो प्रतिवद्धता जनाएका छन् ।
पाल्पा क्षेत्र नं .१ मा गठबन्धनका साझा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका उपसभापति ज्ञानबहादुर गाहाले आफुु विजयी भएसँगै जनताको चाहना अनुसार भौतिक र मानवीय विकासमा काम गर्ने बताए । उनले पनि क्षेत्र १ का विभिन्न टोलवस्तीमा पुुगेर मतदाताहरुलाई भौतिक र मानवीय विकासलाई सँगसँगै हिँडाएर पूर्वी पाल्पालाई अब्बल बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस्तै क्षेत्र नं.१ को प्रदेशसभा १ (क) का उम्मेदवार श्यामकान्त खनाल, १ (ख)का शंकर खनालले पनि जनताका हरेक समस्यासँग आफू अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने बताएका छन् । उनीहरुले मतदाता भेटघाट कार्यक्रममा यस क्षेत्रका जनताका समस्या समाधान गर्न नै आफू उम्मेदवार बनेका बताए ।

प्रतिक्रिया दिनुहोस