गाउँलेलाई मनकामना दर्शन गराउने माईलाको योजना अधुरै

गाउँलेलाई मनकामना दर्शन गराउने माईलाको योजना अधुरै

पाल्पा, कार्तिक १३
शनिबार दिनभर तारा विक (माईला) आफ्ना आफन्त र साथीभाईसँग मनकामना मन्दिर दर्शन गर्न जाने योजना बनाउँछन् । रातको ११ बजे मनकामना दर्शन गर्न ५० जनाको समूह पाल्पाबाट अगाडी बढेको थियो । तर तारा र उनका आफन्त साथीहरुको योजना पुरा हुन पाएन ।
पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट तिर्थयात्री लिएर हिँडेको बस नवरपुरको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भयो । लु ६ ख ७५८० नम्बरको बस कालीगण्डकी करिडोर अन्तर्गत नवलपुरको बुलिङटार गाउँपालिका–२, मथारमा बिहान ३ बजे दुर्घटना भएको थियो । बस दुर्घटनामा परि रम्भा गाउँपालिका वडा नं. १ हुँगी बस्ने अन्दाजी ४१ वर्षिय तारा वि.क उनकी आमा अन्दाजी ६२ वर्षिय धन कुमारी वि.क., तारा कै भान्जा अन्दाजी १७ वर्षिय विनय वि.क., सोही स्थानका अन्दाजी ५८ वर्षिय देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका ९ बेलचौर बस्ने अन्दाजी ४५ वर्षिय फुलमायाँ माझीको मृत्यु भएको ईलाका प्रहरी डेढगाउँले जनाएको छ ।

मनकामना दर्शनको योजना बनाएका तारा र उनका आफन्तको घरमा अहिले रुवाबास चलेको छ । झण्डै ८ वर्ष वैदेशिक रोजगारमा बसेका घर फर्कीएका तारा विगत २ वर्षदेखी गाउँमै सिकर्मी काम गर्दै आएका थिए । गाउँले र आफन्तजनसँगै मनकामना दर्शन गरेर पुण्य कमाउने माईला (तारा) को योजना अधुरै भएको छ । गाउँलेले २ हजार ५ सय रुपैयाँमा आउने जाने भाडा सहित दुई वटा बस व्यवस्थापन माईला आफँै गरेका थिए । बस दुर्घटनामा परि माईलाको परिवारका श्रीमति माया, छोरा अभिनाश र छोरी अस्मिता सँगै आँफैसँग काम गर्ने, भान्जाभान्जी र नातीनातिना समेत घाईते अवस्थामा छन् ।
बस दुर्घटनामा परि २ पुरुष र ३ जना महिलाको घटनास्थलमै मृत्यु भएको हो । बस दुर्घटनामा घाईते हुनेहरुमा रम्भा गाउँपालिका १ बस्ने ४ वर्षिय अंकित सुनार, १० वर्षिय कृष्ण केवट, १८ वर्षिय प्रविन सुनार, २० वर्षिय राम वि.क., २१ वर्षिय रिता वि.क, २५ वर्षिय कासीराम वि.क., १ वर्षिय आईसा वि.क., १६ वर्षिय अविनास वि.क., १७ वर्षिय विशाल वि.क., ७ वर्षिय पुष्पा वि.क., ४७ वर्षिय मेघनाथ वि.क., स्याङ्जा गल्याङ ९ का २५ वर्षिय दिल माया राना, सोही स्थानका ३ वर्षिय रविन राना, भैरहवा भिम अस्पतालमा कार्यरत ३२ वर्षिय सुमित्रा वि.क. छन् ।
यस्तै रम्भा १ भाले ढुङ्गाका १५ वर्षिय रिमा वि.क., रम्भा १ की ३२ वर्षिय सनु सुनार, रम्भा १ का ३८ वर्षिय प्रेम बहादुर सुनार, २० वर्षिय आशिष सुनार, २० वर्षिय विजय वि.क., ३६ वर्षिय मायाँ वि.क., स्याङ्जा गल्याङ ८ का ३५ वर्षिय मनोज कुमार वि.क., सोही स्थानका ३० वर्षिय उमा कुमारी वि.क., गल्याङ ९ का ३० वर्षिय सरिता माझी, सोही स्थानका ३१ वर्षिय रामु राना, पाल्पा रम्भा १ का १२ वर्षिय अस्मिता सुनार, ४७ वर्षिय ओम बहादुर वि.क., ४५ वर्षिय सेती वि.क. र ४८ वर्षिय शिव कुमारी वि.क. रहेको छन् ।


चालक रामपुर ३ गण्डकी ढिकका दिल कुमार श्रेष्ठ, सहचालक रामपुर ५ बेझाँडका साजन श्रेष्ठ पनि घाईते भएका छन् । घाईतेहरुको अहिले नारायणी सामुदायिक अस्पताल नारायणघाटमा उपचार भैरहेको छ । मृतकहरुको पाल्पाको रामपुर अस्पतालमा पोष्टमार्टम गरि गाउँमा ल्याइएको छ । उनीहरुको सोमबार अन्त्येष्टी गरिने परिवारजनले बताएका छन् ।
बस सडक बाट झण्डै सय मिटर तल खसेको थियो । घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (सुस्ता पूर्व) का प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस