गाउँमा छैन चुनावी उत्साह, मतदाता सामु पुगेनन् उम्मेदवार

गाउँमा छैन चुनावी उत्साह, मतदाता सामु पुगेनन् उम्मेदवार

पाल्पा, कार्तिक १२
आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा मतदातामा उत्साह देखिएको छैन । विगतको स्थानीय चुनावमा जस्तो मतदातामा चुनावको रौनक नदेखिएपछि गाउँहरु सुनसान बनेका छन् । उम्मेदवार गाउँ नपुग्दा मतदाता शिक्षा समेत पुग्न सकेकाे छैन ।

पाल्पाको रामपुर नगरपालिका वडा नं. १० का युवा कृष्ण पाठकलाई चुनाव किन र के का लागि भैरहेको होला भन्ने लागेको धेरै भयो । उनी भन्छन्, ‘हामीलाई यो चुनाव आएर कुनै चासो र चिन्ता केही पनि परेको छैन । न त यहाँका समस्या समाधान हुने हुन् । न त युवालाई सम्बोधन गर्ने कार्यक्रम नै आउने आशा छ ।’ अन्तिम समयमा आएर चुनाव लक्षित होहल्ला गर्ने र गराउनेहरु देखी पाठक दिक्क भएका छन् । ‘युवालाई प्रयोग गरेर बेवास्ता गरिन्छ । यो पटकको चुनाव के का लागि हो भन्ने पनि जानकारी छैन, कृष्ण भन्छन्, उम्मेदवारहरु को हुन् भन्ने पनि थाहा छैन । कोही भोट माग्न आएका पनि छैनन् । टिभिले मंसिरमा दुईटा निर्वाचन भनेकोमात्र सुनिएको छ ।’

गाउँमा शुद्ध खानेपानीको चरम अभाव छ । खेतीपातीका लागि सिंचाईको समस्या छ । ग्रामीण सडकहरुमा बाह्रैमास गाडी गुड्नै नसक्ने अवस्थामा छन् । जनताको जीवनस्तर उकास्ने उद्यमशीलताको अभाव छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन आउन अब मात्र २२ दिन बाँकी छ । गाउँगाउँमा पुगेर उम्मेदवारले मतदाता शिक्षा नदिँदा मतदाताहरू कति मत दिने हाे, कसकसलाइ दिने भन्नेमा अन्याैल देखिएका छन् ।

पाल्पाको रम्भा गाउँपालिका वडा नं. १ का पूर्व जनप्रतिनिधि समेत रहेका चेतकान्त भट्टराई समेत यस पटकको चुनावका विषयमा धेरै जानकारी नपाएको बताए । उनले पहिलेका चुनावमा उम्मेदवार र आसेपासे कार्यकर्ताहरुले गाउँमा रौनकता ल्याउने गरेको भएता पनि अहिले चुनाव आएको भन्ने नै नलागेको उनले बताए । हामीलाई त केही थाहा छैन, साँच्चै पाल्पा २ मा कसले टिकट पायो उनले नागरिकलाई प्रश्न राखे । उनी भन्छन्, पहिलेका नेताहरु गाउँ डुल्थे, गाउँका समस्या बुझ्थे र नागरिकहरुमा विश्वास हुन्थ्यो । अहिले सबै पैसामा टिकट पनि बिक्छ र भोट पनि । सोही स्थानका रामचन्द्र सापकोटाले पनि पहिलेको तुलनामा गाउँमा चुनावी उत्साह नआएकोमा अचम्मित भएका छन् । उनी भन्छन्, अब गाउँमा चुनावका लागि भन्दा पनि खेतीपाती स्याहार्ने समय आएको छ । जनतालाई झुक्याउने खेलभन्दा पनि विकासको मार्ग खोल्ने गरि नेतृत्वले सोच्नुपर्ने समय आएको छ ।

पार्टीका केही नेता र कार्यकर्ताहरु चुनावी माहोलसहित नगर गाउँमा देखिएपछि आम मतदाताहरुमा भने उत्साह देखिएको छैन। नगर र गाउँमा पार्टीका नेता÷कार्यकर्ताहरु चुनावी प्रचारमा होमीनुपर्नेमा यति खेर शान्त रहेको छ । गाउँहरु सुनसान छन् ।
केही उम्मेदवारको घर र आफन्तहरुमा मात्र भिड र चुनावी रणनितिमा बनाउन एकाध नेता र कार्यकर्ताहरु जम्मा हुने बाहेक खासै उत्साह छैन । अग्रपंक्तिमा खटिने युवाहरु पनि कम मात्रामा देखिन थालेका छन्। अघिल्लो निर्वाचनमा जनप्रतिनिधिहरुले गरेको अधिकांश बाचा पूरा नगरेका कारण पनि मतदातामा उत्साह नदेखिएको हो ।

निर्वाचित जनप्रतिनिधिहरुले विकासको सपना बाँडेर कामै नगरेकाले यसपाली चुनावमा लाग्नै मन छाडेको पाल्पा क्षेत्र नं. २ का नारायण घिमिरेले बताए । सपना मात्र बाँड्ने गरेका कारण जनप्रतिनिधिले बनाएको आफ्नो विकास एजेण्डा (घोषणा पत्र) जनताले विश्वास नै गर्न छाडेका छन् । विगतमा निर्वाचित प्राय जनप्रतिनिधिहरुले आफन्त र आसेपासेहरु मोटाउने खालको कामहरु गरेका जनताहरु निराश छन् ।
विगतमा नयाँ संरचनाका कारण चासो, चर्चा र उत्साह धेरै भएको तर अहिले चुनावी माहोल तात्न बाँकी नै रहेको स्थानीय बाबुराम न्यौपानेले बताए । उनी भन्छन्, ‘अघिल्लो चुनावमा भएको प्रतिबद्धता अनुसार काम हुन नसक्दा पनि यो पटक सर्वसाधारण उत्साहित छैनन् ।’

प्रतिक्रिया दिनुहोस