पहिराले रामपुर नहर बन्द हुँदा धान उत्पादन घट्ने

पहिराले रामपुर नहर बन्द हुँदा धान उत्पादन घट्ने

सुशीला रेग्मी
रामपुर (पाल्पा), कात्तिक
पाल्पा जिल्लाकै सबैभन्दा ठूलो सिंचाई आयोजनाका रुपमा सञ्चालनमा रहेको रामपुर नहर पहिराले बन्द भएको छ । गत असोजको अन्ततिर परेको अबिरल वर्षाले नहरका विभिन्न ठाउँ ठाउँमा क्षति पु¥याउँदा बन्द हुन पुगेको हो । नहर बन्द भएपछि धानबालीमा असर परेको किसानको गुनासो छ ।
रामपुर फाँट सिँचाइ आयोजना जल उपभोक्ता समितिबाट सञ्चालन हुँदै आएको यस नहर पहिराले बन्द हुँदा धानबालीमा सिंचाईको समस्या निम्तिएको छ । पसाउन लागेका, कोही पसाउँदै गरेको अवस्थामा रहेको धानबालीलाई प्रयाप्त सिंचाई दिन नपाउँदा उत्पादनमा ठूलो असर पर्ने रामपुर ३ मटेरी बस्ने विष्णु गौतम बताउनुहुन्छ ।
“नहरमा पानी बन्द भएको करिव दश दिन भइसक्यो, धानलाई मुख्य सिंचाई दिनुपर्ने समयमा सिंचाई गर्न नपाउँदा वर्ष दिन खाने खेतीको उब्जनी नै घट्दा हामी किसान मारमा परेका छौँ” उहाँले भन्नुभयो ।
धान रोप्ने समय, गोडमेल गर्ने, पसाउने समयमा वर्षेनी नहरमा पहिराले क्षति पुगेकै हुन्छ । यसले गर्दा किसानले बाली लगाएर ढुक्कसंग उत्पादन लिन पाइन्छ या पाइदैन सधै अन्यौलमै खेती गर्न बाध्य छन् ।
हेडबक्स नजिकै सोलीघोप्टे र जामुनेमा करिव २५÷२५ मिटर, कमिरेको दुई स्थानमा १५÷१५ मिटर, रजघराको कामीगाउँ देखि तल २५ मिटर पहिरो खस्दा नहरमा पानी बन्द भएको उपभोक्ता समितिका अध्यक्ष हिरण्यराज रेग्मीले बताउनुभयो ।
“पहिरो पन्छाउने काम भइरहेको छ, ठाउँ ठाउँमा नहर देखि माथिका भागबाट ठूला ठूला ढुंगा सहित पहिरो खसेकाले काम गर्न समय धेरै लागेको हो” उहाँले भन्नुभयो– “अबको दुई तीन दिन भित्रमा काम सम्पन्न गरेर पानी सुचारु गर्नेछौँ” ।
अध्यक्ष रेग्मीका अनुसार हाल विभिन्न ठाउँमा गरी दैनिक ३८ जना कामदार परिचालन गरेर पहिरो पन्छाउँने काम भइरहेको छ । सानो वजेटले काम गर्न उपभोक्ता समितिलाई कठिनाई परेको छ ।
“नहरलाई व्यवस्थित बनाउन वजेट अभाव छ, पूरानो संरचना मर्मत सम्भार गर्नुपर्ने अवस्थामा छन्, पुनः निर्माणमार्फत काम गर्नुपर्ने देखिएको छ, सानो वजेटले काम गर्न गाह«ो छ, यसको लागि माथिल्लो निकायमा वजेट माग गरिरहेका छौँ” उहाँले भन्नुभयो ।
गतवर्ष लुम्बिनी प्रदेश सरकारमार्फत रु ५० लाख वजेट प्राप्त भई विभिन्न ठाउँमा मर्मत तथा सम्भारको काम भएको र यसवर्ष केन्द्रबाट रु ८० लाख वजेट परेको उहाँले जानकारी दिनुभयो ।
निस्दीखोलाको पानीलाई सोलीघोप्टे नजिकै बाँध बाँधेर विसं २०४६ मा रामपुरमा झण्डै २२ किमी परबाट सिंचाइका लागि पानी ल्याइएको हो । पूर्वराजा स्वर्गीय बिरेन्द्र विर विक्रम शाहदेवबाट २०४६ फागुन १० गते नहरको विधिवत रुपमा उद्घाटन गरिएको थियो ।
नहरमा पहिरो गएपछि इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवानभक्त अर्याल, इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी सहायक निरिक्षक मोहन खत्री क्षेत्री र नहरका उपभोक्ता समितिका अध्यक्ष हिरण्यराज रेग्मी, पत्रकार सहितको टोलीले मंगलवार स्थलगत निरिक्षण गरेको छ ।
धानबालीमा आवश्यक सिंचाई दिनुपर्ने समयमा नहरमा पानी बन्द हुदा किसान मारमा परेकाले जतिसक्दो चाँडो काम सम्पन्न गरेर पानी सुचारु गर्न उपभोक्ता समितिलाई इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवानभक्त अर्यालले निर्देशन दिनुभएको छ ।
“माथिबाट खसेको पहिराले क्षति पु¥याएको रहेछ, पूराना संरचना ठाउँ ठाउँमा स्तरोन्नती गर्नुपर्ने देखिएको छ, यस नहरबाट सिंचित क्षेत्र ठूलो भएकाले नहरलाई व्यवस्थित रुपमा मर्मत सम्भार गर्नुपर्नेछ” प्रमुख अर्यालले भन्नुभयो ।
साविक रामपुर, दर्छा र खालिवन गाउँ विकास समितिका तल्लो क्षेत्रमा रहेका जमीनलाई सिंचाई गर्नका लागि ठूलो लगानीमा नहर निर्माण गरिएको हो । यहाँ रामपुर नहर सञ्चालनमा ल्याएपछि बाँझिएका जमीन सदुपयोगमा आएका छन् । यस नहरसंग चार हजार ९०० घरधुरीका उपभोक्ता आबद्ध छन् ।
एक हजार २०० हेक्टर कुल क्षेत्रफल रहेपनि हाल ७७० हेक्टर जमिनबाट सिंचाई सुबिधा उपभोग गरेबापत प्रति रोपनी रु १२० का दरले सेवा शुल्क उपभोक्ता समितिले उठाउँदै आएको छ । नहरबाट सिञ्चित क्षेत्रफल घट्दो र मालपोत कार्यालयबाट लगत कट्टा हुने क्रम बढ्दो छ । नहरको रेखदेखका लागि वर्षायाममा छ जना र हिउँदमा तीन जना हेरालु राखिएको छ । मूल नहरबाट पाँच शाखा र ४२ उपशाखा रहेको छ ।

प्रतिक्रिया दिनुहोस