रामपुर नगरपालिका भित्रका अवैध संरचना हटाइदै

रामपुर नगरपालिका भित्रका अवैध संरचना हटाइदै

सुशीला रेग्मी
रामपुर (पाल्पा), असोज ४

सार्वजनिक जग्गा मिचेर बनाइएका अबैध संरचना रामपुर नगरपालिकाले हटाउने भएको छ । नगरपालिका भित्रका दशवटै वडामा सरकारी तथा सार्वजनिक जग्गामा बनेका विभिन्न संरचना हटाउने र कब्जा गरेका जग्गाको संरक्षण गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।
अबैध रुपमा सार्वजनिक जग्गामा निर्माण भएका विभिन्न संरचना हटाउन नगरबासीलाई अनुरोध समेत गर्दै नियम र कानुनको पालना गरेर काम गर्ने नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।
“रामपुर नगरपालिकालाई सफा, सुन्दर र स्वच्छ नगरपालिका बनाउने सङ्कल्प लिएका छौँ, नियम र कानुन भन्दा बाहिर जाने छैनौ” उहाँले भन्नुभयो, “व्यक्ति आफै सचेत भएर नियम विपरित बनाइएका संरचना हटाउन सहयोग गर्न हाम्रो आग्रह छ, सार्वजनिक र सरकारी जग्गाको संरक्षण गर्ने दायित्व नगर सरकारको हो” ।
यस कार्यमा कसैले अटेर गरे कानुनी प्रक्रिया अनुुसार हटाइने रामपुर नगरपालिकाले जनाएको छ । नगरपालिका भित्र सरकारी तथा सार्वजनिक क्षेत्र मिचेर विभिन्न संरचना बनेका छन् । यस विषयमा नागरिकले सरकारी जग्गा हडप्नेलाई कानुनी कारबाहीमा ल्याउनुपर्ने आवाज उठाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस