जनआन्दोलनका अगुवा कांग्रेस नेता घिमिरेको निधन

जनआन्दोलनका अगुवा कांग्रेस नेता घिमिरेको निधन

सुशीला रेग्मी

रामपुर (पाल्पा), ३१ भदौ

जिउँदो सहीदका नामले परिचित नेपाली कांग्रेस पाल्पाका नेता विजयराज घिमिरेको निधन भएको छ । लामो समयदेखि आन्द्राको क्यान्सर रोगबाट पीडित ५४ वर्षीय घिमिरेको उपचारका क्रममा बिहिवार साँझ साढे ८ वजे काठमाण्डौँ स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।
दुई हप्ता अघि स्वास्थ्यमा थप समस्या आएपछि उहाँलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । विसं २०५६ मा पहिलो पटक प्रतिनिधिसभामा उम्मेदवार बन्नुभएका घिमिरे ०७४ को निर्वाचनमा उम्मेदवार हुनुहुन्थ्यो ।
विसं ०२५ मा पाल्पाको रामपुर नगरपालिकामा जन्मनुभएका भएका घिमिरे विद्यार्थी जीवन देखि नै आफ्नो राजनीतिक यात्रा शुरु गर्नुभएको हो । ०३६ बाट राजनीतिमा सक्रिय भएर निरन्तर लाग्नुभएका घिमिरे ०३७ मा नेविसंघ रामतुल्सी माध्यमिक विद्यालय रामपुर कमिटिमा सचिव, काठमाडौंस्थित अमृत साइन्स क्याम्पसको स्ववियू सदस्य पदमा निर्वाचित हुनुभएको थियो । यस्तै ०४४ मा कांग्रेस पाल्पाको जिल्ला सदस्य, ०४६ मा नेविसंघको जिल्ला सचिवको जिम्मेवारी लिएर काम गर्नुभएको थियो ।
उहाँ ०४६ मा भएको जनआन्दोलनको पाल्पाको पूर्वी क्षेत्रको नेतृत्व गर्ने साहसी र इमान्दार नेताका रुपमा चिनिनुहुन्छ । पहिलो जनआन्दोलन ०४६ को पहिलो दिन फागुन ७ गते पाल्पाको रामपुरमा जनप्रदर्शनको नेतृत्व गर्ने क्रममा उहाँलाई हानेको गोली लागेर दाजु सहीद सूर्यप्रसाद घिमिरेको निधन भएको थियो । त्यसकारण पनि उहाँलाई ०४६ साल देखि यता जिउँदो सहीद भनेर चिनिन्छ । त्यतिबेला २१ बर्षको उमेरमा आन्दोलनको नेतृत्व गर्नु भएका घिमिरले त्यसपछि पनि लगातार राजनीतिमै सक्रिय रहनु भएको थियो
घिमिरेले ०४८÷०४९ मा कांग्रेसको जिल्ला सचिव, नेविसंघको जिल्ला सचिव र त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको स्ववियू सचिव भएर काम गर्नुभएको हो । वरिष्ट चार्टर्ड एकाउण्टेन समेत रहनु भएका घिमिरेले वीमा समितिमा समेत रहेर काम गर्नु भएको थियो ।
उहाँमा ०७४ को निर्वाचनपछि आन्द्रामा क्यान्सर देखिएपछि नियमित उपचार गराउँदै आउनुभएको थियो । पछिल्लो समय फोक्सोमा समेत समस्या देखिएपछि काठमाण्डौँ तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै आउनुभएको थियो ।
राजनीतिमा स्वच्छ छबि बनाउनुभएका घिमिरेको निधनले पार्टीमा ठूलो क्षति पुगेको नेपाली कांग्रेस पाल्पा सभापति हिमालदत्त श्रेष्ठले बताउनुभयो । उहाँको निधनले कांग्रेस पाल्पालाई मात्र नभै सिङ्गो पाल्पालीलाई स्तब्ध बनाएको छ ।
पार्थिक शरीरलाई शुक्रवार दिउँसो १ वजे पशुपति स्थित आर्यघाटमा अन्त्येष्टी गरिने नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य समितिका सदस्य कल्प पौडेलले बताउनुभयो । घिमिरेका आमा, श्रीमती सहित दुई छोरा र एक छोरी हुनुहुन्छ । अन्त्येष्टि अघि आर्यघाटमै शोक सभाको आयोजना गरिने र पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका शिर्ष नेताहरुले समेत श्रद्धान्जली दिने कार्यक्रम रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस