देश परिवर्तन गर्न मेरो उम्मेदवारीः स्वतन्त्र उम्मेदवार विपिन कंडेल

देश परिवर्तन गर्न मेरो उम्मेदवारीः स्वतन्त्र उम्मेदवार विपिन कंडेल

सुशीला रेग्मी
रामपुर (पाल्पा), ३० भदौ
पाल्पा क्षेत्र नं १ का स्वतन्त्र पदका प्रतिनिधि सभाका उम्मेदवार इन्जिनियर विपिन कंडेलले देश परिवर्तनका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । आफ्नो उम्मेदवारीका सन्दर्भमा पाल्पाको रामपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कुनैपनि राजनैतिक दल नराम्रो छैन तर दलका केही व्यक्तिले गर्ने कार्यशैलीले देशमा राजनैतिक दलप्रती वितृष्णा रहेकाले देशको विकास र परिवर्तनको लागि स्वतन्त्र रुपमा आफुले उम्मेदवारी दिने बताउनुभएको छ ।
“युवाहरु खाडी मुलुकमा जाने क्रम बढेकाले गाउमा युवा कम हुदै गएको अवस्था छ, त्यसकारण सक्षम र दुरदर्शि युवाबाट देशको नेतृत्व आवश्यक रहेको छ” उहाँले भन्नुभयो, “कार्यदक्षतामा आधारित सरकारको नेतृत्व, विज्ञबाट राज्य सञ्चालन, नागरिकलाई आर्थिक रुपमा सम्पन्न बनाउन वित्तीय साक्षरता सहितका राष्ट्रिय तहका एजेन्डा लिएर जनतामाझ निस्केको छु” ।
स्थानीय स्तरका मुद्दा अन्तर्गत आफुले निर्वाचन जिते पश्चात् संसदमा पाल्पा क्षेत्र नं १ को पहिचान गराउने गरी काम गर्ने, पर्यटकीय शहरका रुपमा रहेको पोखरासंग जोडिने सडक स्तरोन्नति, यहाँ ऐतिहासिक तथा धार्मिक सम्पदा प्रशस्त रहेकाले त्यसको विकास, विभिन्न जातजातिको संस्कृति संरक्षण गर्ने, पर्यटकीय सम्भावना बोकेका स्थलको विकास गर्ने उहाँका चुनावी योजना छन् ।
क्षेत्र नं १ पाल्पाका केही क्षेत्रमा अझैपनि केन्द्रिय प्रसारण लाईनको बिद्युत् नपुगेको अवस्था रहेको हुदा अध्याँरो गाउँलाई झिलिमिली बनाउन सबै गाउँ वस्तीमा बिद्युत्को पहुँच पु¥याउने, शिक्षा, स्वास्थ्य क्षेत्रमा विकास गर्ने प्रतिबद्धता सहित चुनावी मैदानमा निस्केको कंडेल बताउनुहुन्छ । शालिग्राम पाइने एकमात्रै कालीगण्डकी नदी यस क्षेत्रको सभ्यता रहेको हुदा डाइभर्सनको विरुद्ध आफूले काम गर्ने उहाँको भनाई छ ।
पत्रकार भेटघाट कार्यक्रममा स्याङ्जा क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवार बन्नुभएका सागर ढकालले गाउँ र देशको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उहाँले कालीगण्डकीको सभ्यता बचाउने, कालीनदी वारिपारिको रहनसहन सबै जोड्न र यहाँका मुद्दालाई राष्ट्रिय स्तरमा लैजान आफु उम्मेदवारी दिने ढकालले बताउनुभयो ।
को हुन् त इन्जिनियर विपिन कंडेल
रामपुर नगरपालिका ५, मा जन्मनुभएका कंडेल एक युवा व्यवसायी तथा इन्जिनियर हुनुुहन्छ । आठ कक्षासम्म रामपुरमा अध्ययन गर्नुभएका उहाँ उच्च शिक्षा (कक्षा १२) सम्म पाल्पा सदरमुकाम तानसेनमा लिनुभएको हो । माथिल्लो तहको शिक्षाका लागि पुल्चोक ईन्जिनियरिङ क्याम्पसबाट मेकानिकल ईन्जिनियरिङमा स्नातक र ईनर्जी सिस्टम प्लालिङ्ग एण्ड म्यानेजमेण्टमा स्नातकोत्तर तह गर्नुभएका कंडेलको लामो समय जलविद्युत तथा उर्जा विकासमा काम गरेको अनुभव छ । इन्जिनियर कंडेल ठेट्नो मकै घर नामक रेस्टुरेन्ट, आर्कसिड ईन्जिनियरिङ, आवास रियल इस्टेट, सिकिन्छ एकेडेमी लगायतका कम्पनीका संचालक र व्यवस्थापक भई काम गरिरहनुभएको छ । कुनै देशको विकास तथा समृद्धिको पहिलो आधार आर्थिक स्वतन्त्रता भएको र वित्तिय साक्षरता व्यक्तिको शिक्षासंग अनिवार्य जोडिनुपर्छ भन्ने अभियानका अभियान्ता इन्जिनियर कंडेल सेयर बजार र वित्तिय बजारको शिक्षक र बिश्लेसक समेत हुनुहुन्छ । कार्यक्रममा यश क्षेत्रमा कृयाशिल पत्रकारको सहभागीता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस