रामघाटमा ज्येष्ठ नागरिक सभाहल बन्दै

रामघाटमा ज्येष्ठ नागरिक सभाहल बन्दै

सुशीला रेग्मी
रामपुर (पाल्पा), भदौ २८
धार्मिक तथा पर्यटकीय नगरी रामपुर नगरपालिका ५ स्थित रामघाटमा बन्ने ज्येष्ठ नागरिक सभाहलको शिलन्यास गरिएको छ । लक्ष्मीनारायण गुठी संचालक समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीको अध्यक्षतामा एक कार्यक्रम गरी नयाँ बन्ने सभाहलको शिलन्यास गरिएको हो । सभाहलको शिलन्यास गर्दै नगर प्रमुख रमणबहादुर थापाले धर्मिक तथा ––पर्यटकीय क्षेत्रको रुपमा विकास हुदै गरेको रामघाटमा ज्येष्ठ नागरिक सभाहल आवश्यक रहेको बताउनुभयो । भवन निर्माण सकिएपछि दैनिक भजनकृतन, प्रवचन गर्नलाई सहज हुने बताउनुहुदै नगर प्रमुख थापाले ज्येष्ठ नागरिकलाई घरदेखि रामघाटसम्म आवतजावतका निम्ति यातायातको व्यवस्थापन गर्ने बताउनुहुन्छ ।
कार्यक्रममा रामपुर ४ का वडाध्यक्ष रामबहादुर राना, ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सचिवालय सदस्य कमलराज भट्टराई, नेपाली कांग्रेसका रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, नेकपा एमाले नगर कमिटी अध्यक्ष विष्णुप्रसाद रेग्मी, कोइलटारी आमा समुहका तुलसी ओस्ती लगायतले बोल्नुभएको हो ।
लक्ष्मीनारायण गुठी संचालक समितिका सदस्य कृतिनाथ श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सचिव मिनराज रेग्मीले गर्नुभएको हो । सदस्य श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा सभाहल निर्माणमा रु ५० हजार रकम सहयोग गर्नुभएको छ । यहाँ बन्न लागेको ज्येष्ठ नागरिक सभाहल धार्मिक तथा विभिन्न कार्यक्रमका निम्ति प्रयोग गरिनेछ । संघीय सरकारको रु २५ लाख सहयोगमा निर्माण हुने भवन आउँदो कात्तिक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ । करिव तीन सय मानिस अट्ने क्षमताको सभाहल बन्नेछ ।

प्रतिक्रिया दिनुहोस