तानसेनका जनप्रतिनिधिहरूले लिए सुशासन र कानून निर्माण सम्बन्धी जानकारी

तानसेनका जनप्रतिनिधिहरूले लिए सुशासन र कानून निर्माण सम्बन्धी जानकारी

पाल्पा, भदाै २५

तानसेन नगरपालिकाका पदाधिकारीहरुले सुशासन र कानून निर्माण सम्बन्धी अन्तरक्र्रिया गरेका छन् । नेपाल कानून समाज र द एशिया फाउण्डेशनको आयोजनामा तीन दिनसम्म स्थानीय तहमा कानून निर्माणको प्रक्रियाको अभ्यास सक्षमता अभिवृद्धि गर्ने कार्य गरेका हुन् ।

कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले स्थानीय तहमा निर्माण गरिने कानून स्थानीय आवश्यकता र औचित्यताका आधारमा गरिने बताउनुभयो । नगर प्रमुख श्रेष्ठ भन्नुहुन्छ, कानून निर्माण गर्न नयाँ निर्वाचित जनप्रतिनिधिहरुले धेरै सिक्नु आवश्यक हुन्छ । स्थानीय जनताको भावना र मर्म अनुसारका कानून निर्माण गरि जनतालाई सहजीकरण गर्ने कार्य जनप्रतिनिधीहरुको हो ।
तानसेन नगरपालिका उपप्रमुख प्रतिक्षा सिंजालीले स्थानीय सरकारले धेरै कानूनहरु निर्माण गरिरहेको तर त्यसलाई नियमित अध्यावधिक तथा जनतालाई सूसुचित गर्ने कार्यमा कमीकमजोरीहरु रहेको बताउनुभयो । नगर प्रवक्ता यादवसिंह कार्कीले तानसेन नगरपालिका आँफैमा ऐतिहासिक पहाडी नगर भएकोले अन्य स्थानीय तहभन्दा फरक मापदण्ड अनुसारका कानूनहरु निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा तानसेन नगरपालिकाको सुशासन, कानून निर्माण, आयव्यय, उपलब्धी, चुनौती र अवसरहरु सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले जानकारी गराउनुभएको थियो । तीन दिनसम्म नगरपालिकाको बजेट, राजस्व, वित्तीय व्यवस्था तथा आर्थिक कार्य प्रणाली, नेपालको संघीय संरचनाः अवधारणा, अभ्यास र कानून निर्माण गर्ने सक्षमता, विधायन तर्जुमा अभ्यास पूर्व कानून सचिव माधव पौडेल र अधिवक्ता अनिल खनालले सहजीकरण गर्नुभएको थियो ।

पूर्व कानून सचिव पौडेलले धेरै स्थानीय तहहरुले अन्य स्थानहरुको कपी गरेर कानून, ऐन, नीति, कार्यविधि तथा कार्यक्रमहरु बनाउँदा वास्तविक आवश्यकतासँग मेल खान नसकेको भन्दै अभ्यासबाट विधायनको संरचना निर्माण गर्न सकिने बताउनुभएको थियो । भदौ २३ गते देखी सुरु भएको कार्यक्रम भदौ २५ गतेसम्म चलेको द एशिया फाउण्डेशनका लुम्बिनी संयोजक चुरामणी पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस