प्रदेश सुशासन केन्द्रद्धारा जनप्रतिनिधिलाई तालिम

प्रदेश सुशासन केन्द्रद्धारा जनप्रतिनिधिलाई तालिम

–सुशीला रेग्मी
रामपुर (पाल्पा), २२ भदौ

पाल्पाका पाँच पालिकाका जनप्रतिनिधिहरुका लागि आयोजित तीन दिने तालिम रामपुरमा सकिएको छ । लुम्बिनी प्रदेश सुशासन केन्द्र बाँकेको आयोजनामा स्थानीय सरकार सञ्चालन ऐन बमोजिम जनप्रतिनिधिहरुको भुमिका, काम कर्तव्य तथा जिम्मेवारी सम्बन्धी तीन दिने आवासिय तालिम सञ्चालन गरिएको हो ।
रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पुर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका र माथागढी गाउँपालिकाका वडाध्यक्षलाई लक्षित गरी तालिम आयोजना गरिएको हो । तीन दिन सम्म रामपुरमा चलेको तालिमको सहजिकरण स्वतन्त्र विज्ञ हरगोविन्द पाण्डेय, बाबुराम भट्टराईले गर्नुभएको थियो । सहजकर्ता द्धय पाण्डेय र भट्टराईले स्थानीय सरकार सञ्चालन ऐनले प्रदान गरेको संविधानप्रदत्त अधिकार, जनप्रतिनिधिको काम, कर्तव्य, अधिकार तथा जिम्मेवारीको बारेमा जानकारी दिदै स्थानीय सरकार सञ्चालन र सेवा प्रवाहको क्रममा देखिएका समस्या समाधानको उपायका बारेमा सहजिकरण गर्नुभएको हो ।
रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रदेश सुशासन केन्द्रका अधिकृत कृष्ण बिष्टले गर्नुभएको हो । समापनका अवसरमा रामपुर नगरपालिका वडा नं ६ का वडाध्यक्ष दिवाकर देवकोटाले समयअनुसार चलनचल्तीमा आएका प्रबिधिलाई अपनाउदै वडा तथा पालिकामा प्रबिधिमैत्री सेवा दिने बताउनुभयो । उहाँले ऐन कानुन, नियम र कार्यविधिलाई अनुशरण गर्दै पारदर्शी तरिकाले नागरिकको सेवामा तल्लिन रहने प्रतिबद्धता जनाउनुभएको छ । निस्दी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष मेखबहादुर सुनारीले पालिकामा भए गरेका कामबारे जानकारी गराउदै शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि लगायतका क्षेत्रमा पालिकाले जोड दिएको बताउनुभयो ।
तालिममा पाँच पालिकाका ३६ जना वडाध्यक्षको सहभागीता रहेको थियो । पाल्पाको दश पालिकामध्ये पाँच पालिकाका लागि रामपुरमा तालिम चलाइएको हो । यस्तै तानसेन, रैनादेवीछहरा, तिनाउँ, रिब्दिकोट, बगनासकालीकाका ४५ जना वडाध्यक्षका लागि गत भदौ १७, १८ र १९ गते पाल्पाको सदरमुकाम तानसेनमा तालिम सञ्चालन गरिएको पूर्वाधार विकास विज्ञ इन्जिनियर सञ्जु थापा श्रेष्ठले बताउनुभयो । लुम्बिनी प्रदेशको १२ जिल्लामध्ये पाल्पा र गुल्मीमा सम्पन्न भइसकेको छ भने अब अन्य जिल्लामा तालिम सञ्चालन गर्ने तयारी रहेको प्रदेश सुशासन केन्द्रका अधिकृत कृष्ण बिष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस