पुस्तक बितरणमा कसैलाई काखा र पाखा गरिदैनः कार्यालय प्रमुख श्रेष्ठ

पुस्तक बितरणमा कसैलाई काखा र पाखा गरिदैनः कार्यालय प्रमुख श्रेष्ठ

बिष्णु खनाल
पाल्पा,भदौं १५
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशीक कार्यालय बुटवलका नव आगन्तुक कार्यालय प्रमुख रामबिनय श्रेष्ठले पुस्तक बितरणमा कसैलाई काखा र पाखा नगरिने बताउनुभएको छ । नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ पाल्पाले बुधबार पाल्पाको सदरमुकाम तानसेनमा नव आगन्तुक कार्यालय प्रमुख श्रेष्ठलाई गरेको स्वागत कार्यक्रममा कार्यालय प्रमुख श्रेष्ठले उक्त धारणा राख्नुभएको हो ।
कार्यालय प्रमुख श्रेष्ठले ब्यबसायी र जनक शिक्षा सामग्री केन्द्र लिमिटेड बीचको सम्बन्ध नङ्ग र मासुको जस्तो रहेको बताउनुभयो । उहाँले आफु कार्यालयमा हाजिर भएको एक साता मात्र भएकाले कार्यालयमा भए गरेका बेथितीहरुलाई हटाउने प्रयास गर्ने बताउनुभयो । उहाँले ब्यबसायीहरु संग समन्वय गरेर मात्र अगाडी बढ्ने धारणा राख्नुभयो । कुनै पनि कर्मचारीले बदमासी गरेमा कार्यालय प्रमुखलाई जानकारी गराउन समेत उहाँले ब्यबसायीहरुलाई आग्रह गर्नुभयो ।


कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघका केन्द्रिय सदस्य कमलराज तिमिल्सेनाले पाठ्यपुस्तकको समस्या राष्ट्रिय समस्या भएको धारणा राख्नुभयो । उहाँले पहिलेको कार्यालय प्रमुखबाट ब्यबसायीले समस्या झेल्नु परेको बताउनुभयो ।
नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ पाल्पाका अध्यक्ष किशोर भट्टराईले अहिले बल्ल जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र पुस्तक ब्यबसायी एउटै परिवार भएको आभास भएको बताउनुभयो । अध्यक्ष भट्टराईले नयाँ कार्यालय प्रमुखबाट पाल्पाका ब्यबसायीले सहज रुपमा पुस्तक पाउने बिश्वास ब्यक्त गर्नुभयो ।
नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ पाल्पाका प्रेस सल्लाहाकार मुक्ति न्यौपानेले पुस्तक ब्यबसायीले कमिसन पाउने काम भन्दा सेवाको भावनाले काम गरेको बताउनुभयो । बजारमा ब्यबसायीले बढी नाफाको पछि लाग्दा पुस्तक समयमा नपुगेको छाप बसेको भएपनि यथार्तमा त्यसो नभएको बताउनुभयो ।
नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ पाल्पाका कोषाध्यक्ष रामप्रसाद पन्थीले कार्यालय प्रमुख श्रेष्ठलाई समयमै पुरा सेट पुस्तक उपलब्ध गराउन अनुरोध गर्नुभयो ।
कार्यक्रम नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ पाल्पाका अध्यक्ष किशोर भट्टराइको अध्यक्षता सह सचिब बिष्णु खनालको स्वागत तथा सचिब तारा बहादुर सुनारीको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस