तानसेन नगर सरकारको १०० दिने कार्यप्रगति सार्वजनिक (पुरा विवरण सहित)

तानसेन नगर सरकारको १०० दिने कार्यप्रगति सार्वजनिक (पुरा विवरण सहित)

तानसेन नगरसरकारको १०० दिनको कार्य प्रगति विवरण सार्वजनिक गरिएको छ । पत्रकार भेटघाट गर्दै तानसेन नगरपालिका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले १५ बुदे कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।
तानसेन नगरपालिका प्रम्ख सन्तोषलाल श्रेष्ठले घाटा बजेट निर्माणलाई निरुत्साहित गर्दै राजस्व संकलनलाई प्राथमिकता दिएर व्यवस्थापकीय कार्यक्रमहरुलाई १०० दिनमा प्राथमिकता दिएको बताउनुभयो । उहाँले यस अवधिमा तानसेन नगरपालिकाको १ नगरसभा र ९ वटा नगरकार्यपालिकाको बैठक सम्पन्न भएको बताउनुभयो । यस्तै खर्च व्यवस्थापनमा मितव्ययिता अपनाईएको, विभिन्न ४१ वटा समिति तथा उपसमितिहरु गठन गरि कार्यसम्पादन अगाडी बढाइएको, ‘ग’ वर्गको अपाङ्गता कार्ड भएका व्यक्तिहरुलाई मासिक रु ५००।– भत्ता उपलब्ध गराउने, न्युनतम २० युनिटसम्म विद्युत खपत गर्ने तानसेन नगरबासीको शुल्क नगरपालिकाबाट भुक्तानी गरिदिने जस्ता कार्य गरेको बताउनुभयो । यस्तै समुदायस्तरबाट सञ्चालित लघु प्रकृतिका लिफ्ट खानेपानी आयोजनामा खपत हुने विद्युत महशुलमा २५ प्रतिशत अनुदान दिने, समुदायमा पछाडि परेका जाति वर्ग, अल्पसंख्यक र दलित समुदायको र ६० वर्ष नाघेका अविवाहित र एकल जीवनयापन गरेका पुरुषहरुलाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बीमा शुल्क नगरपालिकाबाट भुक्तानी गर्ने कार्य गरेको बताउनुभयो ।
एक सय दिनको कार्यप्रगति विवरणमा नियमित कार्यक्रमहरु छोरी शिक्षा कार्यक्रम, बीमा कार्यक्रमहरुलाई निरन्तरता दिइएको, वर्षौदेखि वास्ता नगरिएको नदी तथा खोलाजन्य निर्माण सामाग्रीको राजश्व संकलनमा चासो लिइ गत आ.व.मा नै ४२ लाख ९५, हजार ८ सय ८ रुपैयाँ राजश्व संकलन गरेको बताउनुभयो । सोही अवसरमा तानसेनका प्रवक्ता यादवसिंह कार्कीले यस आवको दोस्रो बैठकले गरेका निर्णयहरु समेत सार्वजनिक गर्नुभएको थियो ।
पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले जनप्रतिनिधिहरुलाई आफ्नो धरातल सम्झेर भोली तानसेनलाई कहाँ पु¥याउँने भन्ने भिजन सहित अगाडी बढ्न सुझाव व्यक्त गर्नुभयो । उहाँले न्यूनतम सुधारका लागि प्रशासनिक व्यवस्थापन तथा नगरको खानेपानी व्यवस्थाका लागि ध्यान दिनुपर्ने रानाले बताउनुभयो । यस्तै किरण कौशलले तानसेनको भविष्यको मोडल पहिचान गरि बजारमा भएको मूल्य वृद्धि रोक्न बजार अनुगमनलाई ध्यान दिनुपर्ने सुझाव राख्नुभयो । पत्रकार कृष्ण कार्कीले सार्वजनिक सम्पत्तिको सुरक्षामाध्यान दिन र पर्यटकीय गन्तव्यहरुलाई व्यवस्थापन गर्नुपर्ने बताउँदा देव पचभैयाले राजस्व संकलनमुखी भन्दा पनि परिणाममुखी कामहरु गरेर देखाउनुपर्ने समय आएको बताउनुभयो ।
पत्रकार कृष्ण पोखरेलले साँस्कृतिक शहर तानसेनलाई विकास गर्न घोषणा पत्रमा गरिएका प्रतिवद्धता पुरा गर्न र शहर सौन्दर्यकरणमा ध्यान दिन आग्रह गर्नुभयो । यस्तै पत्रकार यज्ञमूर्ती तिमिल्सिनाले नगर सरकार गैरसरकारी संस्थामुखी बन्न नहुने बताउँदै छाडा मानिसहरुको व्यवस्थापन गर्न सुझाव व्यक्त गर्नुभयो ।

तानसेन नगर सरकारको १०० दिने कार्य प्रगति विवरण, हेर्नुहाेस्…
आदरणीय नगरवासी आमा, बुवा, दाजुभाई तथा दिदिबहिनीहरु,
गत वैशाख ३०, गते सम्पन्न स्थानीय तहको निर्वाचनमा म र हाम्रो समूहलाई विजयी बनाई तानसेन नगरपालिकाको जिम्मेवारी प्रदान गर्नु भएकोमा सम्पूर्ण नगरवासी आमा बुवा, दाजुभाई तथा दिदिबहिनीहरुमा धन्यवादका साथ कृतज्ञता ज्ञापन गर्दछौं । हाम्रो समूहले तानसेन नगरपालिकामा कार्यभार सम्हालेको आज १०० औं दिन पुरा भएको छ । यसै सन्दर्भमा हामी तानसेन नगरपालिकाको प्रमुख लगायत अन्य पदमा रहँदा निरन्तर नगरको विकास र नगरवासीको हकहीत र सुविधाहरुका बारेमा चिन्तनशील भएको र सोहीअनुरुप कार्य गरेको यहाँहरु समक्ष अनुरोध गर्न चाहन्छु । नगरपालिकामा प्रवेश गरिसकेपछि आजका दिनसम्म १०० दिन पुरा गर्दा केहि उल्लेखनिय कार्यहरु गरि सकेको र केही आगामी समयमा पुरा गर्नेगरी योजनावद्घ रुपमा अगाडी बढेको कुरा अवगत गराउन चाहन्छु । हामी शासक नभै सेवकको रुपमा चिनाउने प्रयत्न गरिरहेका छौं । नगरपालिकाबाट सम्पादन हुने दैनिक कार्यहरु तत्काल अगाडी बढिरहेको नै छन् तर कार्यदक्षता तथा कार्यकुशलता ल्याउन र सेवालाई थप प्रभावकारी बनाउन सुशासनकोे प्रत्याभुति दिन भरपुर इमान्दार प्रयास गरिरहेका छौं । हामी नगरपालिकामा प्रवेश गर्दा आ.व. ०७८÷०७९ को अन्तिम महिना थियो । गत वर्ष बनाएको वार्षिक वजेट विनियोजनमा आम्दानी र खर्चको अनुपात हेर्दा गत आ.व.बाट करिब रु १३,७४,००,०००÷– दायित्वको जिम्मेवारी यस आर्थिक वर्षमा सारिएको छ । सिमित स्रोत र साधनका बीच पनि हामीले अधिकतम मितव्ययिता कायम गरि यस वर्ष सन्तुलित बजेट पेश गरिएको छ । राजश्व संकलनका दरमा वृद्घि नगरि दायरा फराकिलो बनाउने नीति अनुसार बजेटको व्यवस्था गरिएको छ । यहाँहरुको सेवा गर्ने जिम्मेवारी पाएको सयौं दिनसम्ममा भएका केहि प्रमुख प्रगतिहरुको संक्षिप्त पेश गर्न चाहन्छु ।
१) यस अवधिमा तानसेन नगरपालिकाको १ नगरसभा र ९ वटा नगरकार्यपालिकाको बैठक सम्पन्न भएको छ ।
२) स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिमका नगरपालिकाहरुमा रहने गरी निर्माण हुनुपर्ने आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, विपद व्यवस्थापन, विद्यायन सार्वजनिक सेवा तथा क्षमता विकास र लेखा समितिहरु गठन गरि सो समितिको संयोजक वडा अध्यक्षहरुलाई नै दिइएको छ, जसले गर्दा नगरपालिकाको कार्य सञ्चालनमा समितिहरुको सक्रियतामा वृद्धि हुनुका साथै खर्चमा पनि मितव्ययिता आएको छ । वडा अध्यक्ष नै समितिको संयोजक हुँदा अतिरिक्त पारिश्रमिक दिनु नपर्ने हुँदा प्रशासनिक खर्चमा बचत भएको महसुस गरिएको छ ।
३) यस अवधिमा नगरपालिकाको कार्य सम्पादन गर्नका लागि विभिन्न ऐन, विनियम र कार्यविधिमा उल्लेख भए अनुसार सल्लाहकार समिति, न्यायिक समिति, नगर शिक्षा समिति लगायत ४१ वटा समिति तथा उपसमितिहरु गठन गरि कार्यसम्पादन अगाडी बढाइएको छ ।
४) २०७९ असार ५ गते तानसेन नगरपालिकाको एघारौं नगरसभाले आ.व.०७९÷०८० को नीति तथा कार्यक्रम र असार १० गते बजेट पेश गरी रु १,३९,१८,९३,०५४÷– रकम बराबरको बजेट अनुमोदन गरिएको थियोे ।
५) यस आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा तानसेन नगरको विकास कार्यलाई अगाडी बढाउने र केहि थप सामाजिक सुरक्षाका कार्यक्रमहरु अगाडी सारिएको छ । जसअन्तर्गतः
क. ‘ग’ वर्गको अपाङ्गता कार्ड भएका व्यक्तिहरुलाई मासिक रु ५००।– भत्ता उपलब्ध गराउने ।
ख. न्युनतम २० युनिटसम्म विद्युत खपत गर्ने तानसेन नगरबासीको शुल्क नगरपालिकाबाट भुक्तानी गरिदिने ।
ग. समुदायस्तरबाट सञ्चालित लघु प्रकृतिका लिफ्ट खानेपानी आयोजनामा खपत हुने विद्युत महशुलमा २५ प्रतिशत अनुदान दिने ।
घ. समुदायमा पछाडि परेका जाति वर्ग, अल्पसंख्यक र दलित समुदायको र ६० वर्ष नाघेका अविवाहित र एकल जीवनयापन गरेका पुरुषहरुलाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बीमा शुल्क नगरपालिकाबाट भुक्तानी गर्ने ।
ङ. गत आ.व.को नियमित कार्यक्रमहरु छोरी शिक्षा कार्यक्रम, बीमा कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ ।
च. बजेटको बाँडफाँड गर्दा पहिले गरेको अभ्यास भन्दा फरक तरिका अपनाई नगर विकास वडाको विकासबाट मात्र सम्भव छ भन्ने मान्यतालाई आत्मसाथ गरी भूगोल र जनसंख्याको आधारमा प्रत्येक वडालाई समानुपातिक हिसावले बजेटको बाँडफाँड गरिएको छ । जसले गर्दा प्रत्येक वडाहरुले न्युनतम ९० लाख देखि अधिकतम रु एक करोड दश लाखसम्म वार्षिक बजेट प्राप्त गरेका छन् । यो हामीले गरेको नौलो अभ्यास हो जसले गर्दा नगरवासीहरुको स्रोत र साधनमा सहज पहुँच पुग्न सक्ने विश्वास लिएका छौं ।
छ. तानसेन नगरपालिका, हेफर इन्टरनेशनल, ग्ल्म्ए र स्थानीय संस्था रेडाको सहभागितामा विभिन्न खालका कृषि तथा पशुपालन सम्बन्धी कार्यहरु सम्पन्न भएको । जस अन्तर्गत नगरभित्र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले एकल वा समुह बनाई १०० बाख्रा, २५ पाडा, ३० बंगुरपालक कृषकहरुलाई प्रति कृषक अधिकतम रु २ लाखसम्म अनुदान सम्झौताको व्यवस्था गरिएको छ ।
ज. दूग्ध उत्पादनमा वृद्घि र उत्पादित भएको दूधको बजारीकरण गर्नका लागि किसानलई प्रोत्साहन स्वरुप प्रतिलिटर रु २।–दूधमा अनुदान दिने व्यवस्था कार्यान्वयनमा लगिएको ।
६) तानसेन लगायत लुम्बिनी र गण्डकी प्रदेश अन्तर्गतका १५ वटा पालिकहरुको आर्थिक, सामाजिक स्तर अभिवृद्घि गर्न ल्याइएको ‘सिद्घार्थ आर्थिक करिडोर’ को योजना अन्तर्गत हालै २०७९ श्रावण २० गते देखि २२ गतेसम्म पोखरामा तानसेन नगरपालिकाको संयोजकत्व र इपिआईको सहयोगमा सिद्घार्थ आर्थिक करिडोरका उद्वेश्यहरुको कार्यान्वयनका सन्दर्भमा ६ बुँदे घोषण पत्र जारी गरि कार्यक्रम सम्पन्न भएको थियो ।
७) आ.व. ०७९÷०८० मा भौतिक पूर्वाधार अन्तर्गत निर्माण कार्य गर्नुपर्ने विविध समपुरक कार्यक्रम अन्तर्गत निम्न योजनाहरुको बोलपत्र आह्वान गरिसकिएको छ । जसअनुसार श्री अमरनारायण मन्दिरको जिर्णोद्घार, वडा नं. ६ को जैसीचौपारी–कारागार सडक स्तरोन्नती, तानसेन नगरपालिकाको मूलभवनको मिनिहल तथा चमेना गृह निर्माण र वडा नंं. १२ को बौघागुम्हा–छेर्लुङ्ग जाने पक्की बाटो निर्माण कार्य रहेको छ ।
८) निकट भविष्यमा भौतिक पूर्वाधार अन्तर्गत निर्माण गर्नुपर्ने समपुरक र शशर्त तर्फ निम्न योजनाहरुको बोलपत्र आह्वान गर्ने प्रक्रियामा रहेको छ । जसअनुसार वडा नं. १२ को बौघापोखराथोक–जोर्ते सडक स्तरोन्नती, वडा नंं. १ को पलधारा–धु्रवघाट सडक स्तरोन्नती, वडा नं. ९ स्थित दमकडा मा.वि. को भवन निर्माण र वडा नंं ५ मा आधुनिक बसपार्कको पहिलो चरणको निर्माण कार्य रहेको छ ।
९) तानसेन नगरपालिकाको विकास कार्यलाई अगाडी बढाउन आवश्यक स्रोत र साधन जुटाउनका लागि राजश्वमा वृद्घि गर्नुपर्ने चुनौती रहेको छ । त्यसका लागि वर्षौदेखि वास्ता नगरिएको नदी तथा खोलाजन्य निर्माण सामाग्रीको राजश्व संकलनमा चासो लिइ गत आ.व.मा नै रु. ४२,९५,८०८÷– राजश्व उठाएका छौं । साथै आगामी दिनमा यसलाई व्यवस्थित गर्न र चुहावट नहुनका लागि ठेक्का प्रक्रियामा लगिने छ।
१०) तानसेन श्रीनगर पर्यटकीय क्षेत्रको विकासका लागि र त्यसबाट बढि राजश्व संकलन गर्न, विगतमा भएका राजश्व चुहावटलाई रोक्न, विगतमा ठेक्का दिएका पक्षहरुसँग रहेको बाँकी राजश्व रु १०,३६,०४५÷– रकम जम्मा गर्ने ताकेता गरिएको र सो ताकेता नमानेको हुँदा नियमानुसार सो सबै फाइल तथा अन्य कागजातहरु जिल्ला प्रशासन कार्यालय पाल्पामा आवश्यक कारवाहीका लागि लेखि पठाइएको छ । चालु आ.व.मा श्रीनगर डाँडा, रानीमहल लगायतका पर्यटकीय क्षेत्रहरुमा आउने पर्यटकहरुको सेवा सुविधा स्थलको व्यवस्थापन र राजश्व संकलन नगरपालिका आफैले प्रत्यक्ष रुपमा गरिआएको छ । प्रतिफलको रुपमा हाल आ.व.को पहिलो महिना भित्रै श्रीनगरबाट रु १,७५,८७५÷– र रानीमहलबाट रु १,४८,९४०÷– राजश्व संकलन भएको जानकारी गराउँछु ।
११) तानसेन नगरपालिकाको सेवा प्रवाहलाई जनमुखी बनाउन प्रत्येक वडामा एक जना प्राविधिक, एक जना प्रशासनिक र अरु थप २ जना सहायक स्तरका कर्मचारीहरु रहने गरी पुर्नसंरचना गरिएको छ । साथै १४ वटा वडाहरुलाई पहुँचका आधारमा विभाजन गरी योजना कार्यहरु सम्बन्धी सबै कार्यहरु गर्न दुईवटा केन्द्रहरु कायम गरिएको छ । उक्त केन्द्रमा इन्जिनियर रहने व्यवस्था मिलाइएको छ । यसले गर्दा साना–तिना भौतिक निर्माण कार्यका लागि नगरपालिका कार्यालयमा धाउनु पर्ने बाध्यताबाट नगरबासीहरु मुक्त हुने विश्वास लिएका छौं ।
१२) तानसेनमा रहेका छाडा पशुहरुको उद्घार गरी तिनीहरुलाई तानसेन नगरपालिका १४ कुसेनीमा रहेको रुरु गौ सेवा आश्रममा लगि व्यवस्थापन गरिएको छ ।
१३) तानसेनमा जनसंख्याको चाप वृद्घि गर्न र बसाइसराइ रोक्नका लागि घर निर्माण सम्पन्न र बाटोको मापदण्ड सम्बन्धीत नीतिहरुमा हेरफेर गरी थोरै क्षेत्रफल भएका जग्गाधनीहरुले पनि निर्माण कार्य गर्न पाउने गरी निर्णय प्रक्रिया अगाडी बडाइएको र नियम विपरित घर निर्माण कार्य गरेको भए निर्धारित शुल्क र जरिवाना असुल उपर गरि कानुनले नबाज्ने अवस्थामा अभिलेखिकरण गर्ने व्यवस्था मिलाईएको छ ।
१४) २०७९ जेठ २० गते वडा नं. ११ को वडा कार्यालय शिलन्यास गरिएको छ र वडा नं. १ को वडा कार्यालयको निर्माण कार्य नियमानुसार अगाडी बढाइएको छ ।
१५) विगतमा नगरपालिकासँग साझेदारीको रुपमा विभिन्न क्षेत्र र विषयमा कार्य गर्दै आएका US AID, UK AID, The Asia Foundation, Caritas Nepal, Redcross Society, Heifer International, UNDP, REDA जस्ता अन्तराष्ट्रिय तथा स्थानीय संस्थाहरुसंगको कार्यक्रमलाई निरन्तरता दिइएको छ भने Citynet, TPO, लसान नगरपालिका चीन र लुम्बिनी गार्डेन फाउन्डेशन स्पेन जस्ता संस्था तथा पालिकाहरुसँग भगिनी सम्बन्धलाई निरन्तरता दिइएको छ ।
अन्तमा, अत्यन्त छोटो समय अवधिमा पनि हामिलाई सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधिहरु पालिकाका कर्मचारीहरु, सम्पूर्ण नगरवासीहरु र सञ्चारकर्मीहरुलाई धन्यवाद व्यक्त गर्दछु । आशा छ, आगामी दिनहरुमा पनि सम्पूर्ण सरोकारवाला र नगरवासीहरुबाट आवश्यकिय सहयोग गर्नुहुने छ भन्ने अपेक्षा गरेको छु । धन्यवाद ।
इति सम्वत् २०७९ भाद्र ११ गते रोज ७ शुभम्
सन्तोषलाल श्रेष्ठ
नगर प्रमुख
तानसेन नगरपालिका, पाल्पा

प्रतिक्रिया दिनुहोस