२ सय ४ औं भगवती जात्रा सम्पन्न, नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झना

२ सय ४ औं भगवती जात्रा सम्पन्न, नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झना

पाल्पा, भदौ ५
नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा भगवती रथयात्रा गरिएको छ । ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन सफल भएको खुसियालीमा पाल्पा जिल्ला सदरमुकाम तानसेनमा भगवती रथयात्रा निकालिएको हाे ।
रथयात्रा विगत दुई वर्षदेखी कोरोना महामारीका कारण प्रभावित भएको थियो । तानसेनको बीच भागमा रहेको भगवती मन्दिर परिषरबाट भगवतीको प्रतिमूर्तीलाई तीन पटक मन्दिर परिक्रमा गराई सिन्दूरजात्रा गरिएको हो । वि.सं. १८७१ मा नेपाली सेनाले अंग्रेजलाई हराएको थियो ।
श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजन किर्तन गरेर भाद्र कृष्ण नवमीको दिन जात्रा गरिएको हो ।

नेपाल एकीकरणको समयमा युद्धमा विजयी भए मन्दिर बनाएर सिन्दूरजात्रा गर्ने भाकल कर्णेल उजीरसिंह थापाले गरेका थिए । सोही भाकल अनुसार जीतगढीको युद्धमा विजयी भएको र जात्रा निकाल्ने प्रचलन सुरु भएको थियो । पाँच वटा नाकाबाट नेपाल माथि भएको आक्रमणमा चार स्थानमा नेपालले हार बेहोर्नु परेपनि जितगढीको लडाईंमा अग्रेजफौजलाई नेपाली फौजले हराएको थियो । भगवती रथलाई सिन्दूर, अबिर र केशरी सहित अन्य वैदिक पुजापाठ गर्दै शहर परिक्रमा गराईएको थियो । जात्रालाई धार्मिक आस्थासँगै वीरताको संदेश दिने राष्ट्रिय पर्वको रुपमा लिँदै आईएको छ ।
वि.सं. १८७६ देखि भगवति जात्रा मनाउन सुरु गरिएको भगवती गुठीका अध्यक्ष राजेश्वर उदयले बताए । उनी भन्छन्, ‘युद्धमा जानुभन्दा अगाडी सेनाले युद्धमा विजयी भई सिन्दूर जात्रा सञ्चालन गर्नेछु, आफू बराबरको अग्लो स्तम्भ निर्माण गर्नेछु भनि भाकल गरेका थिए । सोही जात्रालाई विरताको सन्देश दिन जात्रा गर्ने प्रचलन रहेको हो ।’

शनिबार दिउँसोसाइतमा भगवतीको रथ उठाई नेपाली सेनाले सलामी दिएर निकालिएको हो । रथलाई तानसेनका सबै चोकहरुमा पु¥याई हर्ष बढाईका साथ पून मन्दिरमा ल्याएर सकिने प्रचलन रहेको छ ।
रणउजिरेश्वरी भगवतीको जात्रा पश्चिम नेपालकै सबैभन्दा ठूलो जात्रा हो । जात्रामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा विभिन्न संघसंस्था र सर्वसाधारणले पहिचान झल्किने झाँकी ¥याली प्रदर्शन गरेका थिए । लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रि वीर बहादुर रानाले नेपालले अंग्रेजलाई हराएको विरताको प्रतिकका रुपमा जात्रा मनाईएको बताए । मन्त्री रानाले ऐतिहासिक जात्रा विजयउत्सवका रुपमा रहेकोले नेपालको राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय गौरवको इतिहास बोकेको बताए ।

श्री रणउजिरेश्वरी भगवती माईको रथजात्रालाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने स्थानीयको माग छ । कुमाउ–गडवाल (नाहान), मकवानपुर गढी, कोशी–टिस्टा र बुटवल जीतगढीमा अंग्रेज र हिन्दुस्तानी फौजसँग लडाई भएको थियो । पाल्पामा २ सय ४ वर्षदेखी निरन्तर रुपमा भगवती खट्यात्रा निकालिएको हो ।

प्रतिक्रिया दिनुहोस