रसायनको प्रयोगले केरा उत्पादनमा समस्या

रसायनको प्रयोगले केरा उत्पादनमा समस्या

सुशीला रेग्मी
रामपुर (पाल्पा), भदौ ३
रामपुर नगरपालिका ६ प्याक्लुक बस्ने बृहस्पति अर्यालले तीनवर्ष अघि केरा खेती सुरु गर्नुभयो । पहिलो वर्ष र दोस्रो वर्षमा केराको उत्पादन राम्रै लिनुभयो । तेस्रो वर्षमा भने केराको उत्पादन कम भएपछि चिन्तित हुनुहुन्छ ।
करिव नौ रोपनीमा व्यावसाय थालनी गर्नुभएका अर्यालले हाल क्षेत्रफल घटाएर चार रोपनीमा मात्रै सिमित बनाउनुभएको छ । मेहनत र परिश्रम खर्चेर गरेको खेती पछिल्लो वर्ष त्यती राम्रो उत्पादन नभएपछि केरा लगाउँदै आएको जग्गामा अहिले अर्यालले धान खेती लगाउनुभएको छ ।
उहाँ भन्नुहुन्छ, “विषादी र रासायनिक मलको प्रयोगले सुरुका वर्षमा केराले असाध्यै राम्रो उत्पादन दियो, हामीले धेरै उत्पादन लिन रासायनिक मल, विषादी राख्यौँ, अहिले माटो सबै बिगारेको छ, बिना विषादी उत्पादन गर्न खोजेको राम्रो भएन, केरा लगाएको आधा जग्गामा यो वर्ष धान लगाउन बाध्य भए” ।
पहिलो वर्षमा करिव पाँच लाख, दोस्रो वर्षमा तीन लाख आम्दानी गर्नुभएको छ । यसवर्ष केराबाट रु ५० हजार पनि मुस्किलले आम्दानी हुने उहाँको अनुमान छ । स्थानीय मालभोग केरा भएकाले बजार तथा गाउँमा माग बढ्दो छ । यहाँको बजारमा मालभोग प्रति दर्जन रु ८० देखि १२० मुल्य पर्छ । स्थानीय मालभोग केरा ग्राहक र बजारका व्यापारीले खोजी खोजी खरिद गर्छन् । बिक्रिका लागि झण्झट छैन । तर रासायनिक मल र विषादीको प्रयोग वर्षेनी बढाउनुपर्ने अवस्था आएपछि विषादीरहित उत्पादन गर्न माटोको समस्या रहेको उहाँ बताउनुहुन्छ ।
“रासायनिक मल र विषादीले खेतबारीको माटो सबै बिगारेको छ, हरेक वर्ष मल र विषादीको मात्रा थप्दै जानुपर्ने अवस्था छ, स्वास्थ्यलाई असर हुने भएपछि स्वस्थबाली उत्पादन गर्न खोजेको विषादीबिना फल नै राम्रो लाग्दैन” अर्यालले भन्नुभयो ।
असार, साउनमा करिव एक हप्ताको अन्तरालमा बोटमा विषादी छर्कनु पर्दछ । यसले माटोको उर्वराशक्ति नाश बनायो भने मानव स्वास्थ्यमा पनि नराम्रो असर पारेको व्यवसायी बताउँछन् ।
रामपुर ६ सातबिसेपर्क बस्ने ५५ वर्षीय गिरीराज पाण्डेयले आजभन्दा तीनवर्ष अघि गाउँका छिमेकीले केरा लगाएको देखेपछि उहाँपनि यस व्यवसायमा आकर्षित हुनुभयो । सुरुका वर्षमा लटरम्म फलेका केरा देख्दा व्यावसायमा हौसिनुभयो । रासायनिक मल र विषादी प्रयोग गरेपछि सोँचेभन्दा बढी उत्पादन केराले दियो । पछिल्ला वर्षमा भने क्रमश ः उत्पादन घट्दै जादा यसवर्ष मकै खेती लगाउनुभएको छ । दुई रोपनी जग्गामा एक लाख भन्दा बढी केराको आम्दानीले उहाँले व्यावसाय बढाउने सोँच राखेपनि अहिले आएर भने बारीभरी भएका बोट नै मासेर मकै लगाउन बाध्य हुनुभएको छ ।
“धेरै रेखदेख गर्नुपर्ने, रासायनिक मल र विषादीको मात्रा तलमाथी भएमा उत्पादनमा समस्या, बारीको माटो नै उत्पादन दिन नसक्ने अवस्था भयो, विषादी छर्केको केरा खादा म आफै गतवर्ष बिरामी परे, अहिले बोट जति सबै मासेर मकै लगाउन थाले” उहाँले भन्नुभयो ।
ज्येष्ठ नागरिक लोकनाथ खनालले उत्पादन गर्न झण्झट र विषादी धेरै प्रयोग गर्नुपर्ने भएपछि उहाँलेपनि केरा खेती हटाउनुभएको छ । पुराना केरा व्यवसायीले उत्पादनको क्षेत्रफल घटाउँदै गएका छन् भने केही बोट नै मासेर विभिन्न बालीनाली लगाउन सुरु गरेका छन् ।
यहाँका केही युवाले भने केराबाट राम्रो कमाई गर्ने सोँच बनाएर व्यावसाय सुरु गरेका छन् । विजय गैरेले गतवर्ष देखि दुई रोपनीमा केरा सुरु गर्नुभएको छ भने करिव छ रोपनीमा बिस्तार गर्ने सोँच बनाउनुभएको छ । उहाँले एक हप्ताको अन्तरालमा यस समयमा विषादी छर्कनुपर्ने बताउनुहुन्छ ।
उत्पादन राम्रो भएमा धान, मकैको तुलनामा केराबाट दोब्बर बढी आम्दानी लिन सकिन्छ । धेरै उत्पादन लिन अन्धाधुन्धा तरिकाले रासायनिक मल र विषादीको प्रयोग बढाउँदै जादा खेतबारीको उर्वराशक्तिमा नै ठूलो ह«ास निम्तिएको छ ।
रामपुर बुल्टार बस्ने अस्मिता खनालले गतवर्ष देखि दुई रोपनीमा केरा व्यावसाय थालनी गर्नुभएको छ । पहिलो वर्षमा रु ६० हजार बराबरको कमाई गर्नुभएकी खनालले यस पटक भने करिव एक लाख आम्दानी हुने अपेक्षा लिनुभएको छ । जिनाइन जातको व्यावसाय गर्नुभएकी खनालले बजारमा झट्ट केरा नबिक्दा कहिलेकाँही समस्या हुने गरेको गुनासो गर्नुहुन्छ । उहाँको मकै लगाउने बारी अहिले केरा खेतीले हरियालीमय बनेको छ ।
उत्पादन बढाउने नाममा जथाभावी विषादीको प्रयोग हुनु अहिलेको कृषि क्षेत्रमा प्रमुख चुनौती रहेको छ । बाली संरक्षण गर्न भन्दै अत्यधिक मात्रामा विषादीको प्रयोगले मानव स्वास्थ्य लगायत अन्य भू तथा जलीय प्राणीहरुमा नकारात्मक असर परेको छ । माटोको उर्वराशक्तिमा ह«ास आउँदै गएको छ ।
खाद्य स्वच्छतामा जनचेतनाको कमी हुनु र रासायनिक विषादीको प्रयोग बढ्दै जानुले नेपाली कृषि बजारमा आउने कृषि उपजमा रसायनको मात्रा हदभन्दा बढी भइरहेको तथ्यमा देखिन्छ । बजार मागअनुरुपको आपूर्ति गर्नु बजार प्रणालीको नियम नै हो । विषादी प्रयोग नगरिएका तरकारी र खाद्यवस्तुमा किरा लाग्ने र राम्रो नहुने हुदा उपभोक्ताले किन्न रुचाउँदैनन् । त्यसकारण त्यस्ता उपभोग्य वस्तु बजारले उत्पादन र बिक्री गर्न चाहँदैन ।
उपभोक्ताको रोजाइले पनि विषादी प्रयोगलाई प्रोत्साहन गरिरहेको छ । किसान आफैले नै रासायनिक मल र विषादीको प्रयोग नगरी उत्पादन नै नहुने ठान्दछन्, अन्धाधुन्ध तरिकाले विषादी प्रयोग गरिरहेको पाइन्छ । वातावरणमा लामो समयसम्म विषादीको अवशेष रहने हुदा वातावरण प्रदूषण बढेको छ भने विषादीको प्रयोगले शत्रुजीवसँगै लाभदायी मित्रजीवहरु पनि मर्ने हँुदा अलौकिक वातावरणीय सन्तुलन बिग्रिरहेको छ । सोही कारण वातावरणअनुकूल बाली संरक्षण प्रविधि र प्राङ्गारिक कृषि आजको आवश्यकता बनिरहेको छ ।
अन्य मुलुकको तुलनामा अहिले नेपालमा रासायनिक विषादीको प्रयोग कम भएपनि यसको प्रयोगको मात्रा हरेक वर्ष बढीरहेको छ । प्रयोग गर्न सस्तो, छिटो र सजिलो भएको हुनाले बाली संरक्षणमा किसानले रासायनिक विधि नै छनोट गरेको पाइन्छ । तर रासायनिक विषादीको जथाभावी प्रयोगले पर्ने असरबाट भने धेरै किसानहरु अनभिज्ञ छन् । रोगनाशक, ढुसीनाशक, कीरानाशक, मुसानाशक, सुलसुलेनाशक जस्ता विभिन्न विषादीहरु बाली संरक्षणको लागि प्रयोग गरिन्छ ।
खतरनाक विषादी हाम्रो मानव शरीरमा प्रवेश गरेपछि अरु तरलजस्तो नाश भएर जाँदैन । विषादी जुन तरिकाले जहाँ प्रयोग गरेपनि यसको अवशेष लामो समयसम्म रहिरहने हुँदा, यसले वातावरण प्रदूषित गर्नुका साथै वातावरणमा भएका अन्य जैविक तत्वहरुलाई नकारात्मक असर गर्छ । माटोमा भएका प्राङ्गारिक पदार्थ कुहाउने जीवहरुको विनाश हुनाले माटोको उर्वराशक्तिमा ह«ास आएको छ । जसकारण बालीमा रासायनिक मलको मात्रा पहिलेभन्दा दोब्बर–तेब्बर प्रयोग गर्नुपर्ने बाध्यताबाट किसानहरु पीडित छन् । –––

प्रतिक्रिया दिनुहोस