पाल्पामा बाख्रापालनमा महिलाको आकर्षण बढ्दै

पाल्पामा बाख्रापालनमा महिलाको आकर्षण बढ्दै

सुशीला रेग्मी
रामपुर (पाल्पा), २३ साउन
रामपुर नगरपालिका ९ लाम्दीखोला बस्ने मालती भुषालले परिवारको आर्थिक अवस्था उकास्न बाख्रापालनलाई जोड दिदै हुनुहुन्छ । सधै दुई चार पैसाका लागि अरुको निर्भर रहदै आउनुभएकी उहाँलाई आफ्नो खर्च आफै धान्न हेफर प्रोजेक्ट नेपालले बाख्रा उपहार दिएपछि उत्साह थपिएको छ ।
ग्रामीण भेगका महिलाको जीविकोपार्जन गर्न हेफरले बाख्रापालनलाई प्रोत्साहन गर्दै उपहार स्वरुप दिएको बाख्रालाई राम्रोसंग पालनपोषण गरी आम्दानी बढाउने भुषालले लक्ष्य लिनुभएको छ ।
उहाँ भन्नुहुन्छ, “अरुको भरमा रहदा महिलालाई दुःख छ, घरको काममा मात्रै सिमित बस्दा सधै अरुसंगै दुई चार पैसाका लागि हात थाप्नुपर्ने अवस्था रह्यो, बाख्रा खरिद पनि गर्नु परेन, बाख्रापालन गरियो भने त आफ्नो खर्च हामी आफै धान्न सक्छौँ” ।
उहाँले पालनपोषण गरेर ठूलो बनाएर उत्पादन बढाउँने र त्यसलाई बिक्रि गरी आत्मनिर्भर बन्ने बताउनुहुन्छ । बाख्रापालन गरेर आयआर्जन बढाएर अन्य महिलालाई पनि प्रोत्साहित गर्दै व्यावसायीक रुपमा पहिचान दिन सक्ने गरी काम गर्ने उहाँको अठोट छ ।
कोपिला खाँण ठकुरीले हेफरले उपहार दिएको एक सहित घरमा हाल सातवटा बाख्रापालन गरिरहनुभएको छ । महिलालाई आर्थिक क्षेत्रमा अब्बल बनाउन उपहारको रुपमा दिएको बाख्राबाट धेरै बाख्रा उत्पादन गरेर आफू र परिवारको घरायसी खर्च धान्ने सोँच राख्नुभएको छ ।
अरुको भरमा रहदा घरपरिवार र समाजमा महिला अपहेलित हुन परेको छ । आर्थिक अवस्था बलियो नहुदा भने कतिपय परिवारमा झै–झगडा हुने गरेको छ । कमाई नहुदा महिला हेपिनु पर्ने अवस्था छ । मेहनत गरेर पालनपोषण गरियो भने बाख्रापालनबाट मनग्य आम्दानी गर्न सकिने कविता गाहा बताउनुहुन्छ ।
उहाँको घरमा यसभन्दा अघि ६ वटा बाख्रा पाल्दै आएकोमा हेफरले व्यावसाय बृद्धि गर्न एकवटा बाख्रा दिएको छ । बिस्तारै बाख्रा उत्पादन बृद्धि गरी ठूलो संख्यामा व्यावसाय गरेर यसैबाट मनग्य कमाई गर्ने गाहा बताउनुहुन्छ ।
“गाउँघरमा प्रशस्त घाँसपात र चरनको सुबिधा छ, व्यावसाय गर्छु भन्नेका लागि घर–घरमा बाख्रा उपहार स्वरुप पाइएकै छ, बाख्रा खरिदमा लगानी गर्न नपर्ने, सित्तैमा पाएपछि गाउँका महिलामा बाख्रापालनमा उत्साह र आकर्षण बढेको छ” उहाँले भन्नुभयो ।
विभिन्न आधारशिलाको बारेमा महिलालाई आयआर्जनमा बृद्धि गर्न रामपुर नगरपालिकाभित्र मुल समुह र उपहार समुह गरी ३६ वटा समुहको लक्ष्य रहेपनि हाल १० मुल समुह र २१ उपहार समुह गरी जम्मा ३१ वटा समुहमा आबद्ध महिलामाझ कार्यक्रम सञ्चालन गरिरहेको रामपुर कृषि तथा पशु उद्यमशिलता परियोजनाका संयोजक सन्जु परियारले बताउनुभयो । नगरभित्र आबद्ध रहेका समुहमा महिलालाई वडाको सिफारिस आधारमा बाख्रा उपहारस्वरुप दिइएको छ ।
पाल्पाका दश पालिकामध्ये हाल आठ पालिकामा साझेदारीमा कार्यक्रम अगाडी बढेको छ । रामपुर नगरपालिकामा गत असार देखि नै चलिरहेको छ । गएको असारमा मात्रै यहाँ १२८ वटा बाख्रा र ६ वटा वीउ बोका वितरण गरियो भने हालसालै ३६१ वटा बाख्रा र १० वटा वीउ बोका वितरण गरिएको छ । साझेदारी कार्यक्रम अन्तर्गत ७५ प्रतिशत रामपुर नगरपालिकाको र २५ प्रतिशत प्रशासनिक र कर्मचारीको खर्चसहित केही बचेको रकम कार्यक्रममा लगाउने प्रावधान अनुसार कार्यक्रम चलिरहेको छ ।
समुहमा आबद्ध महिलाको मागको आधारमा बाख्रा वितरण गर्ने, उमेर पुगिसकेपछि र त्यसबाट उत्पादन भएपछि उपहारको रुपमा आफूजस्तै आबद्ध रहेको अर्को समुहका सदस्यलाई उपहारका रुपमा दिने गरी बाख्रा प्रदान गरिएको हेफर प्रोजेक्ट नेपाल पाल्पाका कार्यक्रम अधिकृत शोभाखर न्यौपाने बताउनुहुन्छ ।
“लिने मात्रै होइन कि हामीले उत्पादन गरेका बाख्रा अरुलाई पनि दिन सक्षम छौँ भन्ने संस्कार सिकाउन र बाख्रापालनमा प्रोत्साहन दिनका लागि यो कार्यक्रम सञ्चालन गरिरहेका हौँ, बाख्रापालनबाट महिलाको आयस्तर उकास्न ठूलो टेवा पुग्नेछ” उहाँले भन्नुभयो ।
हेफरले २३ वर्ष काम गरेको इतिहासमा बाख्रा उपहार कार्यक्रम प्रभावकारी बनेको र यस कार्यक्रममा महिलाको उत्साजनक सहभागीता रहेको न्यौपाने बताउनुहुन्छ । महिलालाई सशक्तिकरण गर्न र महिला परनिर्भरता हटाउनका लागि हेफरले नेपालमा बाख्रापालनबाट कार्यक्रम सुरुवात गरेको हो ।
बाहिरी देशबाट बाख्राको आयात बढी हुने भएकाले अहिले बाख्राको बजार राम्रो रहेको हुदा नेपालमै बाख्रा उत्पादन बढाएर आर्थिक समृद्धि बृद्धि गर्न यो कार्यक्रम ल्याइएको हो । विदेशबाट करिव वार्षिक ६ अर्बभन्दा बढीको खसीबोका आयात हुने गरेको छ । यसलाई प्रतिस्थापन मात्रै गर्न सकियो भनेपनि राष्ट्रिय आयमा सहयोग पु¥याउन सक्ने भएकाले यसको बजार मुल्य बढ्दै जाँदा बाख्रापालनबाट राम्रो आयस्रोत लिन सकिन्छ भन्ने उद्धेश्यले यस कार्यक्रमलाई जोड दिइएको छ ।
हेफरले बाख्रापालनका अलवा बंगुर, कुखुरा, तरकारी खेतीलाई पनि संग संगै जोडेको छ । अब दुध उत्पादनलाई जोड दिदै कार्यक्रम अगाडी बढाउने योजना छ । स्थानीयको ईच्छा र माग अनुसार नै कार्यक्रम गर्ने हेफरले जनाएको छ ।
कृषि र पशुपालन व्यवसायलाई प्रोत्साहित गरेर आर्थिक क्रान्ति गर्ने गरी यो कार्यक्रम गरिएको साझेदारी संस्था पछौटेपन उन्मुलन समाज (बेस) नेपालका कार्यकारी निर्देशक शालिराम पाण्डेयले बताउनुभयो । यस कार्यक्रम अन्तर्गत बाख्रापालनका लागि आवश्यक पर्ने खोर व्यवस्थापन, दाना व्यवस्थापन, तालिम गोष्ठी जस्ता कुरामा महिला समुहलाई सचेतनामुलक कार्यक्रम गरिदै आएको पाण्डेय बताउनुहुन्छ ।
हेफरले यसभन्दा अगाडी सञ्चालन गरेको पाल्पाका विभिन्न स्थानमा बाख्रापालन कार्यक्रमबाट महिलाहरुले राम्रो आयआर्जन गर्न सफल भएका छन् । निस्दीको गल्धा बहपुर, रम्भाको फोक्सिङ्गकोट लगायतका गाउँका महिलाहरु व्यावसायीक रुपमा बाख्रापालन गरेर आर्थिक क्षेत्रमा अब्बल बन्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस